स्थानीय तहका शैक्षिक संस्थामा व्याप्त बेरुजु

फाइल तस्वीर

काठमाडौं। देशभरका १३१ स्थानीय तहका शैक्षिक संस्थामा व्याप्त बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

आफ्नो ६१औँ वार्षिक प्रतिवेदनमा महालेखाले देशभरका विभिन्न स्थानीय तहहरूले पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षकको तलबमा बढी रकम निकासा गर्ने गरेको खुलेको हो।

महालेखाका अनुसार देशका १३१ स्थानीय तहले शिक्षकको तलबमा ३ करोड ९७ लाख ६ हजार रुपैयाँ बढी निकासा गरेका छन्।

स्थानीय तहले कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भएअनुसार शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालय शिक्षक किताबखानाबाट तलबी प्रतिवेदन पारित गराई तलब भुक्तानी गर्नुपर्ने व्यवस्था छ।

स्थानीय तहले शिक्षकहरूको तलबी प्रतिवेदन पारित नगरेको, बढी ग्रेड भुक्तानी गरेको, दोहोरो निकासा दिएको देखिएको छ।

यसबाहेक, दरबन्दीभन्दा बढी शिक्षकहरूको तलब भत्ता निकासा गरेको समेत महालेखाले उल्लेख गरेको छ।

यसबाट स्थानीय तहहरूमा समेत केन्द्रीय र प्रदेश सरकारमा जस्तै बेरुजु र अपचलन व्याप्त रहेको देखाउँछ।

यसबाहेक यो वर्ष १२९ वटा स्थानीय तहले शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएभन्दा पाठ्यपुस्तकमा ३ करोड ३९ लाख ८३ हजार रुपैयाँ बढी निकासा दिएका छन्।

यस्तै १०१ स्थानीय तहले छात्रवृत्तिमा २ करोड ४७ लाख ६२ हजारसमेत गरी कूल ५ करोड ८७ लाख ४५ हजार बढी निकासा दिएको खुलेको छ।