क्यानडासँगकाे पहिलो अभ्यास खेलमै नेपाल पराजित

काठमाडौं । टी–२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले हारेको छ।

जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात्र बनाउन सक्यो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए। उनले ३० बलको सामना गर्दै २ चौका र २ छक्का हिर्काए।

त्यस्तै, अनिल साहले १६ बलमा २४ रनको योगदान दिए। उनले २ चौका र १ छक्का हिर्काए। आसिफ शेखले २२ बलमा २२ रन जोडे।

कुशल भुर्तेलले १६ बलमा १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

क्यानडाका लागि डिलन हेलिगरले घातक बलिङ गर्दै ४ विकेट लिए। साद बिन जाफर र जेरेमी गोर्डनले २–२ विकेट हात पारे। कलिम साना र परगत सिंहले १–१ विकेट लिए।

यसअघि डालासको ग्रान्ड प्रेरी रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।

क्यानडाका लागि निकोलस किर्तनले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ५२ रन बनाए । यस क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरे ।

रवीन्द्रपाल सिंहले खेलको अन्त्यतिर विस्फोट ब्याटिङ गर्दै ४१ रन बनाए । उनले मात्र १७ बलमा १ चौका र ४ छक्का हिर्काए।

ओपनर नवनित धालिवालले २७ बलमा ३२ रनको योगदान दिए। उनले ४ चौका हिर्काए। डिलन हेलिगर र परगत सिंहले १३–१३ रन जोडे।

नेपालका लागि अविनाश बोहराले २ विकेट लिए। त्यस्तै, करन केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले १–१ विकेट हात पारे।