सशस्त्र प्रहरी बलले लियो ठुलो मात्रामा अवैध काजु र किसमिससहित ट्रक नियन्त्रणमा

काठमाडौं। भन्सार छलेर नेपाल भित्र्याएको अवैध किसमिससहितको ट्रक सशस्त्र प्रहरी बल धनुषाले नियन्त्रणमा लिएको छ। प्रहरीले ५५ लाख ५० हजार मूल्य बराबरको किसमिससहितका सामान र ओसारपसारमा प्रयोग भएको सवारीसाधन बरामद गरेको हो।

हिजो साँझ धनुषाको जनकपुर उपमहानगरपालिका–१ स्थित सिता चोक एरियामा विशेष सूचना पाए लगतै सशस्त्र प्रहरी बल नेपाल नं ८ गण हेक्वा धनुषा मातहत,सुरक्षा वेश जनकपुरबाट सहायक प्रहरी नियन्त्रक उमेश कुमार कार्कीको कमान्डमा खटिगएको ७ जनाको मोबाइल गस्ती टोली र जनकपुर भन्सार कार्यालयबाट अधिकृत रविन लाल दासको कमान्डमा ५ जनाको संयुक्त टोलीले उक्त मात्रामा काजु तथा किसमिस बरामद गरेको हो।

मधेस प्रदेश ०४-००१ख ०१७१ नम्बरको ट्रकमा राखेर भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको तेईस लाख छब्बीस हजार मूल्य बराबरको काजु २ हजार १०० केजी, किसमिस ५४० केजी र ट्रक बत्तिस लाख चौबिस हजार गरी जम्मा पचपन्न लाख पचास हजार बराबरको काजु किसमिस र ट्रक नियन्त्रणमा लिई जनकपुर भन्सार कार्यालय धनुषामा भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ८ गण हेक्वा धनुषाका एसपी दर्शन गिरीले जानकारी दिए।