न्युरोडबासीको दोहोरो चरित्रः सवारीसाधन पार्किङ गरिँदा केही नहुने, फुटपाथ बनाउन खोज्दा सडकमा उत्रिने !

मुलुकभरका जनता काठमाडौं उपत्यकामा थुप्रिएका छन्। काठमाडौं, ललितपुर र भक्तपुर यी तीन जिल्लामा मानिसको चाप थेगिनसक्नु छ । पैसा हुने वा सक्ने फ्ल्याट लिएर बसेका छन् भने नसक्नेहरु कोठामा सीमित छन्। उपत्यकाबासी भने यहाँको घर बेचेर विदेशी पलायन हुने वा यहाँको सम्पत्ति बेचेर अमेरिका, अस्ट्रेलिया लैजाने क्रम बढिरहेको छ।

देशभरका जनता शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न सेवासुविधाको खोजीमा उपत्यका आउने भएकोले यहाँ घरजग्गाको मूल्य आकाशिएको हो । कोठा, सटर र फ्ल्याटको भाडा पनि हवात्तै बढेको हो । बाहिरी जिल्ला वा विदेशबाट आएका पर्यटकहरु प्रायजसो न्युरोड, असन, विशालबजार, ठमेल, इन्द्रचोक, भोटाहिटीलगायत स्थान पुग्छन् ।

त्यहाँ फुटपाथ छैन । बीच सडकबाट हिँड्नुपर्ने बाध्यता छ । गाउँबाट आएका अधिंकाश मानिस अशिक्षित हुन्छन् । गाउँमा कहिल्यै सवारीसाधन नदेखेका उनीहरुलाई गाडीको ठक्करबाट ज्यानै समेत जान सक्छ भनेर समेत थाहा हुँदैन । अनि फुटपाथ नहुँदा बीच बाटोमा हिँड्दा कतिपयले ज्यानै गुमाउँछन् ।

यहाँका घरधनीहरु एउटै सटरको मासिक १८ लाखसम्म भाडा असुल्छन् । अन्य ठाउँमा पाँच सय पर्ने सामान त्यहाँका व्यापारीहरु पाँच हजारमा बेच्छन् । उनीहरुले सामानमा समेत भाडा जोड्छन् । यता, १८ लाख भाडा असुल्ने घरधनी राज्यलाई कर तिर्दैनन् । वडा, नगरपालिकामा घरबहाल कर तिर्दैनन् । घरधनीहरु राज्यलाई ठग्छन् अनि व्यापारी आम सर्वसाधारण ।

त्यसैले, अब सर्वसाधारण जनता न्युरोड, असन, ठमेल, इन्द्रचोकलगायत ठाउँमा जानुहुन्न । यी ठाउँलाई सर्वसाधारण आफैंले बहिष्कार गर्नुपर्छ। फुटपाथ नै नभएको ठाउँमा ज्यानै जोखिममा राखेर जानुहुँदैन । यहाँ खाली सटर समेत ६० लाखसम्म बिक्री हुने गरेको छ । मुलुककै सबैभन्दा महँगो ठाउँ न्युरोड हो ।

सरकारले न्युरोडमा जग्गाको मूल्य आनाको ६६ लाख ५० हजार तोकेको छ । यद्यपि, यहाँ जग्गा आनाकै १३–१४ करोडमा किनबेच हुने गरेको छ । नामसारी गर्ने समयमा भने त्यँही साढे ६६ लाखको मात्र राजस्व तिरिन्छ । जनता र राज्यलाई ठगेर सुकिलामुकिला भएका छन्, यी ठाउँका मान्छेहरु ।

अहिले न्युरोडमा काठमाडौं महानगरपालिकाले फुटपाथ बनाउने तयारी गरेको छ । आम नागरिकको सुरक्षाका लागि महानगरले फुटपाथ बनाउन लागेको हो । न्युरोडमा फुटपाथ नहुँदा बीच बाटोबाट हिँड्दा कतिपय पैदलयात्रुको सवारीसाधनको ठक्करबाट ज्यान गएको पनि घटना छन् । फुटपाथ नहुँदा ज्यान गुमाएका ती मानिसहरुको जिम्मा कसले लिन्छ ?

के न्युरोडका स्थानीयले यसको जिम्मा लिन्छन् ? त्यहाँका घरधनीहरु आफ्नो फाइदाका लागि फुटपाथ बनाउन नदिने अनि सर्वसाधारणले ज्यान गुमाउनुपर्ने ! न्युरोडका घरधनी र व्यापारीहरुले आफ्नो स्वार्थका लागि जनता मारिरहेका छन् । त्यसैले, अब देशभरका जनताको आँखा खोलिनुपर्छ । न्युरोड, असन, इन्द्रचोक घुम्न वा सामान किनमेल गर्न जानुहुन्न ।

ज्यान गुमाउने वा ठगिने यस्तो ठाउँमा आम नागरिक जानुहुँदैन । कानूनमा सडकको दायाँबाया अनिवार्य फुटपाथ बनाउनुपर्ने व्यवस्था छ । तर, यहाँ आफ्नो फाइदाका लागि कानून नमान्ने अनि जनता ठग्ने वा उनीहरुलाई मार्ने काम भइरहेको छ । राज्यलाई कर पनि तिर्दैनन् । अब सर्वसाधारण आफैंले न्युरोडलाई बहिष्कार गर्नुपर्छ ।

फुटपाथ समेत बनाउन नदिने न्युरोडबासीलाई जनताले बहिष्कार गर्नैपर्छ । अनि मात्र उनीहरुमा चेत आउँछ । पजनताको ज्यान जोखिममा पारेर व्यापार व्यवसाय गरेर भव्य कमाउने अनि फुटपाथ बनाउन खोज्दा आन्दोलन गर्ने ! के हो उचित हो ? जब राज्य ऐन, कानून कार्यान्वयन गर्न खोज्छ, तब ठग्न वा लुट नपाइने त्रासमा मानिसहरु सडकमा उत्रिन्छन् ।

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले न्युरोडमा फुटपाथ बनाउन लागेर जनताको ज्यान बचाउन खोजेको हो । देशभरका जनता बालेनले राम्रो काम गरेको बताउँछन् । विदेशीहरु समेत बालेनको तारिफ गर्छन् । बजारमा जताततै बालेनको हाईहाई छ । केही महिनाअघि काठमाडौं महानगरले न्युरोडमा पार्किङ हटायो ।

त्यसअघि जथाभावी पार्किङका कारण ट्राफिक जाम अस्तव्यस्त हुनुका साथै त्यहाँ आउजाउ गर्ने मानिसलाई समेत असहज हुँदै आइरहेको थियो । सीमित व्यापारी वा व्यक्तिले त्यहाँ पार्किङबापतको मोटो रकम असुल्दै आएका थिए । महानगरले पार्किङ हटाउँदा पनि विरोध चर्किएको थियो ।

यद्यपि, महानगर आफ्नो निर्णयमा अडिग रह्यो, पछि हटेन । अहिले पार्किङबापत मोटो रकम असुल्ने त्यहाँका केही सीमित व्यक्ति तथा व्यापारीहरुको ठगीधन्दा पनि अन्त्य भएको छ।

अर्कोतर्फ, अहिले महानगर न्युरोडमा फुटपाथ बनाउन लागिरहेको छ । फुटपाथ बनेसँगै आफ्नो घरको केही जग्गा पनि जाने अनि सवारीसाधन पनि बाटोमा पार्किङ गर्न नपाइने भएपछि न्युरोडका घरधनीहरु सडकमा उत्रिएका हुन्।

यस पटक पनि महानगर पछि हट्नुहुन्न। न्युरोडमा फुटपाथ बनाएरै छोड्नुपर्छ। यदि घरधनीहरुले जबरजस्ती गरेमा जनताले नै न्युरोडलाई बहिष्कार गर्नुपर्छ। न्युरोडमा एउटै कोठाको २० हजारसम्म तिरेर मानिसहरु बसेका छन्। एक फ्ल्याटको तीन लाख र एउटा सटरको १८ लाखसम्म तिरेका छन्। यहाँ सबै बाहिरी जिल्लाका मानिसहरुको बसोबास छ।

आफन्त भेट्न आउँदा फुटपाथ नहुँदा बीच सडकबाट हिँड्दा सवारीसाधनको ठक्करबाट कतिपयले ज्यान गुमाउने गरेका छन् । घरधनीहरु फाइदा लिने अनि सर्वसाधारणले ज्यान गुमाउनुपर्ने ! कहिलेसम्म न्युरोडमा यो चलिरहनेछ ? त्यसैले, अब बाहिरी जिल्लाका मानिसहरुले यो क्षेत्रमा कोठा, सटर वा फ्ल्याट भाडामा लिनुहुन्न ।

यो ठाउँमा बस्नु भनेको ज्यान जोखिममा पार्नु हो । अब जनताको आँखा खुल्नुपर्छ । घरधनीको फाइदाका लागि आफ्नो ज्यानै जोखिममा पार्नुहुन्न । सरकार जनताको अभिभावक हो । जनताको सुरक्षा गर्नु सरकारको दायित्व पनि हो । अहिले उपत्यका बाहिरका धेरै जिल्लामा फुटपाथ बनेको पाइन्छ ।

फुटपाथ भएपछि बीच सडकबाट हिँड्नुपर्दैन । फुटपाथबाटै मानिसहरु हिँड्छन् । अभिभावक, शिक्षक, ट्राफिक वा राज्यका सम्बन्धित निकायहरु पनि फुटपाथबाटै हिँड्नुपर्ने भन्छन् । तर, न्युरोडका बासिन्दाहरु भने आफ्नो फाइदाका लागि फुटपाथ बनाउन दिइरहेका छैनन् । जनताको ज्यान नै किन नजाओस् तर उनीहरु फुटपाथ बनाउन दिन तयार छैन ।

उनीहरुको फाइदाको लागि सर्वसाधारण जनताले आफ्नो ज्यान गुमाउनुपर्ने ! न्युरोड र देशभरको माटो एउटै हो । तर, अहिले पनि कुनै जिल्लामा रोपनीको एक हजारमा जग्गा बिक्री हुँदैन । न्युरोडमा भने जग्गाको मूल्य आनाकै करोड छ । यो मूल्य कसले बढाइएको हो त ? देशभरका जनताले होइन र । यदि न्युरोडमा कोही जाँदै गएनन् भने त्यहाँको अवस्था के हुने छ ? फुटपाथ बनाउन नदिने ठाउँमा जनताहरु जानुहुन्न ।

राज्यले पनि उपत्यकामा मात्र विकास गरिदियो । न्युरोड, असन, इन्द्रचोकमा सानो खाल्टो पर्दा पनि पिच गरिहाल्ने तर दुर्गम वा अन्य जिल्लामा दशकसम्म पनि बाटो नपुर्याउने ! न्युरोडमा खाली ठाउँ छैन । केही गरी भूकम्प आएमा ठुलो जनधनको क्षति हुनेछ । त्यसकारण यस्तो ठाउँमा कोठा, फ्रल्याट लिएर बस्नुहुन्न ।

घुमफिर गर्न पनि यस्तो ठाउँ जानुहुन्न। अब जनता सचेत हुनुपर्छ। नागरिक र नागरिकको ज्यान सबैभन्दा ठुलो र महत्त्वपूर्ण हो। त्यसैले, अब महानगरपालिका झुक्नु हुँदैन। न्युरोडमा फुटपाथ बनाउनैपर्छ। नभए न्युरोडमा घुमफिर गर्नमा रोक लगाउनुपर्छ। न्युरोड जानमा प्रतिबन्ध लगाउनुपर्छ। अहिले बाटो काट्न जेब्रोक्रस छ। आकाशे पुल छ।

यति गर्दा पनि दैनिक ११ जनाभन्दा बढीले सवारीसाधनको ठक्करबाट ज्यान गुमाउने गरेका छन्। न्युरोडका स्थानीयले फुटपाथ बनाउन नदिने हो भने महानगरपालिका, ट्राफिक महाशाखा र गृह मन्त्रालयले यो ठाउँमा सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्छ। अहिले न्युरोडका घरधनीहरुलाई सवारीसाधन पनि त्यहाँ चलाउनुपरेको छ अनि फुटपाथ बनाउन चाँहि नदिने ! यो कहिलेसम्म ?

अब महनगरपालिका आफ्नो निर्णयबाट पछि हट्नुपर्छ। न्युरोडमा फुटपाथ बनाएरै छोड्नुपर्छ। बालेनको पक्षमा देशभरका जनता छन्। त्यसैले, अब न्युरोडका स्थानीयले अति नै गरेमा देशभरका जनता बालेनको पक्षमा उभिनेछ। उनीहरु आफैं न्युरोड बहिष्कार गर्ने छन्। त्यसकारण न्युरोडबासीले पनि बेलैमै सोचौं।