बालेन र सरकार बीचको द्वन्द्व उत्कर्षमा: बालेनको अझै कडा बन्ने संकेत,अब सरकारले के गर्छ त ?

फाइल तस्वीर

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाह निर्वाचित भएपछि चर्चित र लोकप्रिय छन्। काम गर्ने फरक शैली र नेताहरुमाथि कडा टिप्पणीले गर्ने गरेका बालेनले राजनीतिमा आफ्नो परिचय स्थापित गराइसकेका छन्।

नागरिक सेवालाई बढी जोड दिन खोज्ने बालेनले भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्यजस्ता क्षेत्रमा उल्लेख्य विकासको मोडेल प्रस्तुत गरिरहेका छन्।

सार्वजनिक शैक्षिक संस्थाहरुमा राजनीति निषेधको अवधारणादेखि गरिब,विपन्न र असहायका लागि बालेनले काठमाडौका विभिन्न अस्पतालमा निशुल्क स्वास्थ उपचारको व्यवस्था मिलाइसकेका छन्।

युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले महानगरले ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ नामक कार्यक्रम ल्याएर २ हजार ८१ जनालाई विभिन्न क्षेत्रका सीप सिकाइ रहेका छन्।

तर बालेनले आफ्ना योजना तथा अवधारणाहरु कार्यान्वयनमा ल्याउँदा विभिन्न राजनीति अवरोधहरु झेल्नु परेको छ। केही समयअघि न्यूरोडमा पार्किङ हटाउँदा होस् वा धरहराको पार्किङ खुला गर्दा उनले राजनीतिक दलहरुको आलोचना र विरोध खेपे।

त्यस्तै सुकुम्बासी बस्ती हटाउने विषयमा पनि मेयर बालेनले दलहरुको आलोचना खेपेका थिए । यो विषयमा दलहरुले अझै बालेनमाथि विभिन्न टिका टिप्पणी गर्दै आइरहेका छन्।

स्वतन्त्रबाट निर्वाचित मेयर बालेन शाह पूर्वाधार विकास अभियानका क्रममा हाल न्यूरोडको फुटपाथ विस्तार तथा स्तरोन्नति गर्ने योजनामा छन्। यसका लागि बालेनले रेखाङ्कनसँगै सडक भत्काउने काम समेत अघि बढाइरहेका छन्।

यसको मुख्य उदेश्य सर्वसाधारणको आवगमनमा सहज होस भन्ने नै हो। तर यो कार्यबाट पनि मेयर बालेनसँग सडक विभाग र स्थानीय चरम असन्तुष्ट छन्। न्यूरोड क्षेत्रमा अहिले ११ मिटर लम्बाइको कालोपत्रे सडक तथा त्यसको दुवैतर्फ २ दशमलव ४ र २ दशमलव ६ मिटरको फुटपाथ छ।

यही फुटपाथलाई थप साढे एक मिटर बढाएर स्तरोन्नति गर्ने बालेनको चाहना छ। महानगरको योजना अनुसारको काम भएको अवस्थामा मुख्य सडक खुम्चिएर सात मिटरमा झर्नेछ भने फुटपाथ झन्डै चार मिटरको बन्नेछ। तर यो योजनामा सडक विभागले विमत्ति जनाउँदा मेयर बालेन र सरकारबीच कडा टसल पैदा भइरहेको अवस्था छ।

महानगरको उक्त गतिविधि र कार्य रोक्न भन्दै सडक विभाग अन्तरगतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले मेयर बालेनलाई तीन पटक पत्र पठाइसकेको छ।

महानगरको नाममा बुधबार तेस्रो पटक पत्र लेखेर भत्काइएको सडक खण्ड २ दिनभित्र पुनर्स्थापना गर्न अल्टिमेटम दिएको हो। यसअघि महानगरलाई सडक डिभिजनले जेठ ३ गते पहिलो पटक र १३ गते दोस्रो पटक चिठी लेख्दै सडक नभत्काउन र भत्काइएको सडक तत्काल निर्माण गर्न भनेको थियो। तर सडक विभागले गरेको उक्त आग्रहलाई महानगरले गम्भीर रुपमा लिएको छैन।

बुधबार तेस्रो पटक लेखिएको उक्त पत्रमा भने पटक पटक पठाइएको पत्रप्रति गम्भीर नरहेको भन्दै महानगरलाई कारवाही नै गर्ने चेतावनी दिइएको छ।

चेतावनीको व्यहोरासहित लेखिएको पत्रमा विना सहमति न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप हुने कार्य भएको उल्लेख छ। यो विषयमा पटक पटक ध्यानाकर्षण गर्दा पनि महानगरले अटेर गरेको पत्रमा उल्लेख छ।

सडक विभागको पटक पटकको पत्रलाई बेवास्ता गरेर निरन्तर काम अघि बढाइरहेका मेयरले केही दिन अघि प्रतिजवाफस्वरुप एक स्टाटस लेखेका थिए । जसमा चक्रपथको दोस्रो खण्डको विस्तार कार्यप्रति सरकारले गरेको ढिलाईको प्रशंग उठाएका थिए।

कलङ्की – महाराजगन्ज सडक निर्माणका लागि २०१२ मा केही महिनाभित्रै काम थालनी गर्ने भनिए पनि सरकारले अझैसम्म कार्यरम्भ नगरेको भन्दै बालेनले प्रश्न उठाएका थिए।

उक्त सडक लथालिङ्ग हुँदा जनता धुलाम्य हुँन बाध्य भएको भन्दै मेयर बालेनले सडक विभाग कार्यालय अघि एक ट्रक धुलो नै खन्याइदिए। उनले केन्द्र सरकारलाई सडक निर्माण कार्य अघि नबढेसम्म दैनिक धुलो पठाउने चेतावनीसमेत दिए।

यसपछि केन्द्र सरकार र मेयर बालेनको पक्ष विपक्षमा आम नागरिकस्तरमा पनि चर्को आवाज उठिरहेको छ। न्यूरोडको फुटपाथ विस्तार रोक्नका लागि महानगरमाथि सरकारले लगातार दवाव बढाएपनि मेयर बालेन भने टसमस भएका छैनन्।

विगतमा पनि आफ्नो योजना सफल पार्न केन्द्र सरकार र राजनीतिक दलहरुसँग डटेर सामना गर्दै आएका बालेनले यस विषयमा थप अन्य टिप्पणीहरु भने गरेका छैनन्। पछिल्लो पत्रको विषयमा बालेनले हालसम्म कुनै प्रतिक्रिया दिइसकेका छैनन्।

न्यूरोडको फुटपाथ विस्तार कार्य नरोके कारवाही नै गर्ने चेतावनी दिँदा पनि निरन्तर काम अघि बढाइरहेका बालेनमाथि सरकारले कस्तो कदम चाल्छ, त्यो भने हेर्न बाँकी छ।