अत्यधिक गर्मी बढेपछि धनगढीका विद्यालयमा सात दिन बिदा

सांकेतिक तस्बिर

काठमाडौं। तराईका जिल्लामा अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै जेठ १८ देखि २४ सम्म विद्यालय बन्द रहने जानकारी दिएको हो।

धनगढीमा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिए।

धनगढी उपमहानगरपालिकासँगै अन्य पालिकाले पनि बिदा दिएका छन्। गोदावरी नगरपालिका, टीकापुर नगरपालिका र लम्की चुहा नगरपालिकाले गर्मी बिदा दिएका छन्। जानकी र जोशीपुर गाउँपालिकाका विद्यालय भने बिहान सञ्चालनमा छन्।