नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रोकियो

काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ।

अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण ढिलाइ भएको छ।

वर्षाका कारण टससमेत हुन सकेको छैन । अहिले वर्षा भने रोकिएको छ । मैदानमा पानी जमेका कारण त्यसलाई हटाउने प्रयास भइरहेको आईसीसीले जनाएको छ ।

थप पानी नपरे मैदान तयार गर्न कम्तीमा एक घण्टा लाग्न सक्ने आईसीसीको भनाई छ । नेपाल र श्रीलंकाबिच खेल हुने दिन बुधबार फ्लोरिडाको मौसम खासै गतिलो रहने छैन ।

यो स्टेडियममा मंगलबार हुने भनिएको अभ्यास सत्र पनि वर्षाका कारण प्रभावित भएको थियो । बुधबार पनि मेघ गर्जनसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमने सामने हुन लागेका छन् । यसअघि उमेर समूहमा यी दुई टोलीको पटक-पटक भेट भए पनि सिनियर टोलीमा भने पहिलो अवसर हो ।

नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो।

आजको खेलपछि समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ।