क्रिकेट संघका अध्यक्षमाथि गम्भीर भ्रष्टाचार आरोप,के छानबिन होला त ?

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दमाथि गम्भीर भ्रष्टाचार आरोप लागेको छ। आईसीसी विश्वकप क्रिकेट खेलका लागि खेलाडी तथा पदाधिकारी अमेरिका उडाउँदा र खेलको पूर्वतयारीमा समेत अनियमितता गरेको आरोपमा उनको राजीनामा माग गर्दै छानबिन आयोग गठन गर्नुपर्ने माग समेत उठेको छ।

क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्ने खेलाडीको १५ सदस्यीय कोटामा सुरुमै नाम नलेखाएको आरोप लागेको क्यान नेतृत्वमाथि अहिले आएर अमेरिकामा अवैधानिक क्रियाकलाप गरेको आरोप समेत लागेका छन्।

क्यानका अध्यक्ष चन्दको गैर–जिम्मेवारीकै कारण सन्दीपले अमेरिकाको भिसा नपाएको आरोप लगाउँदै क्रिकेटप्रेमीहरुले सडक प्रदर्शन समेत गरेका थिए।

चन्दले सन्दीपको भिसाका लागि आफूले हरसम्भव प्रयास गरेको बताए पनि १५ सदस्यीय खेलाडीको सूचीमा सन्दीपको नाम नराखेकै कारणले उनलाई अमेरिकाले भिसा नदिएको हुनसक्ने आकलन गरिएको थियो।

यद्यपि सन्दीप भने युएई हुँदै विश्वकपका २ खेल खेल्न वेस्ट इन्डिज पुगिसकेका छन्। क्यानको चर्को आलोचना भएपछि वैकल्पिक बाटोबाट उनलाई विश्वकपमा पुर्याइएको हो।

क्यान नेतृत्वमाथि लागेका आरोपको छानबिन गर्न नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले संसदमा समेत माग उठाएका छन्। टी–ट्वान्टी विश्वकप जाँदामा आर्थिक अनियमितता भएको भन्दै उनले छानबिनका लागि आयोग गठन गर्न माग गरेका हुन्।

सांसद आचार्यले आर्थिक अनियमितताका साथै सर्वोत्कृष्ट खेलाडी सन्दीपलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र रचिएको,अमेरिकामा राष्ट्रिय क्रिकेट टोलीका जर्सी महँगोमा बेचेर रकम अनियमितता गरेको,खेलाडीलाई होटेलमा उभ्याएर चन्दा उठाएर दुरुपयोग गरिएको लगायत गुनासो आएकोले क्यान नेतृत्वमाथि छानबिन गर्नुपर्ने बताए। खेलाडीको साख बेचेर राष्ट्रिय बेइज्जती गरिएको उनको आरोप छ।

यसअघि आइतबर नेपाल खेलकुद महासंघले पनि क्यानका अध्यक्ष चन्दको राजीनामा माग गरेको थियो। आइसिसी टी–ट्वान्टी विश्वकपमा नेपालको माथिल्लो तहमा पुग्ने सम्भावना प्रबल हुँदा पनि क्यानमा मौलाउँदो चरम आर्थिक अपचलन र सन्दीप लामिछानेमाथि भएको राजनीतिका कारण नेपाली क्रिकेटको विश्वभरि आलोचना भइरहेको महासंघका केन्द्रीय सचिव विप्लव घोषले बताएका थिए। घोषले १० बुँदे विज्ञप्ती जारी गरेरै क्यान नेतृत्व र पदाधिकारी अक्षम तथा भ्रष्ट रहेको बताएका थिए।

विज्ञप्तीमा भनिएको थियो– ‘सन् २०१४ मा क्यानमा देखिएको अराजकताको छानवीन गर्न नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् चुक्दा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय प्रतिबन्ध झेल्नु परेको थियो।

अहिले त्यही अवस्थामा नेपाली क्रिकेट उभिएको छ।यस सम्बन्धमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले समेत प्रश्न उठाइसकेकाले उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीमाथि कारबाही गर्न महासंघले माग गरेको थियो।

महासंघले क्यान अध्यक्ष चन्दले विश्वकप खेल्ने टिममा टिम डाक्टरलाई नराखी उक्त स्थानमा आफ्नी श्रीमतीसहित अमेरिका पुगेपछि आइसीसीले टिम डाक्टर अनिवार्य हुनुपर्ने भनी जारी गरेको निर्देशनका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जती भएको बताएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसीसी० ले नेपाललाई विश्वकप खेल्नका लागि १५ जना खेलाडी र १० जना सपोर्टिङ स्टाफ गरी २५ जनाको कोटा दिएको थियो । तर सपोर्टिङ स्टाफको कोटामा क्यान पदाधिकारीहरुले आफ्ना श्रीमती र आसेपासे राखेपछि यसको चर्को आलोचना भएको हो।

क्यानका कोषाध्यक्ष पदम खड्का पनि श्रीमतीसहित क्यानको टिममै अमेरिका गएका थिए। उनीहरु सबै आईसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामै समावेश भएर गएका थिए। २५ जनाको सबै खर्च र भत्ताको व्यवस्था आईसीसीले गर्छ।

यस्तै नेपाल सरकारले पनि विश्वकप तयारीका लागि ५ करोड बजेट विनियोजन गरेको थियो भने आइसीसीले पनि नेपालको तयारीका लागि झन्डै ५ लाख डलर उपलब्ध गराएको बताइन्छ। तर उक्त रकम कहाँ र कसरी खर्च भयो भनी खेलकुद महासंघले प्रश्न उठाएको छ।

यसका साथै विश्वकपभन्दा एक महिनाअघि नै अमेरिका उडाइएका खेलाडीहरूलाई राष्ट्रिय टोलीको जर्सी बोक्न लगाएर अमेरिकामा ब्लाकमा जर्सी बेचेको आरोप पनि क्यानका पदाधिकारीमाथि लागेको छ।

क्यान सचिव पारस खड्कासमेत यसमा संलग्न रही नेपाली खेलाडीको हस्ताक्षरसहित ‘ब्याट’ र ‘टिसर्ट’ ‘अक्सन’मा राखेर बेचेको आरोप लागेको छ। तर उक्त रकम क्यानको बैंक खातामा दाखिला नभएको महासंघको आरोप छ।