कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको पूर्ण इजलासमा

काठमाडौं। कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा आज पेशी तोकिएको छ। न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा आज पेशी तोकिएको छ।

उक्त मुद्धामा यसअघि संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो। कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफूलाई हटाउन नसक्ने जिकिर गर्दै आएका थिए। तर, उनलाई हटाएर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएपछि कार्की सर्वोच्च पुगेका थिए।

कार्कीले संविधानको धारा १६८ अनुसारको अन्तिम मुख्यमन्त्री आफू भएकाले हटाउने निर्णय गैरसंवैधानिक भएको जिकिर गरेका छन्।

उक्त रिटमा एकल इजलासले पाँचवटा संवैधानिक विवादका प्रश्नहरू निरूपण हुनुपर्ने भन्दै लिखित जवाफसहित छलफलमा बोलाएको थियो। संयुक्त इजलासमा पनि बहसका क्रममा यही प्रश्न उठेपछि पूर्ण इजलासमा पठाइएको थियो।

कार्कीका कानुन व्यवसायीहरूले आजदेखि बहस सुरु गर्ने छन्। उनीहरूको बहस सकिएपछि सरकारी वकिलहरूले बहस गर्ने छन्। सरकारी पक्षपछि मुख्यमन्त्री कार्कीका तर्फबाट बहस हुने छ। सर्वोच्चले रिट जारी गरेमा पून मुख्यमन्त्रीमा केदार कार्कीले प्रवेश पाउने छन् भने खारेज गरेमा हिक्मत कार्की नै निरन्तर हुनेछन्।