पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

फाइल तस्वीर

ताप्लेजुङ। ताप्लेजुङमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको छ।

जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा पहिरोले घर बगाउँदा निद्रामा भएका उनीहरूको मृत्यु भएको हो।

फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको आशंका प्रहरीको छ। सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्यांक संकलनको काम गरिरहेको बताइएको छ।