सन्दीप टी-२० आईमा १०० विकेट छिटो पुरा गर्ने विश्वकै दोस्रो खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आईमा एक सय विकेटको कोशेढुंगा पार गरेका छन् ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत १६ औँ ओभरको तेस्रो बलमा बंगलादेशका जाकर अलीको विकेट लिँदै सन्दीपले सय विकेट पूरा गरेका हुन् ।

टी–२० आईमा सबैभन्दा छिटो १ सय विकेट लिने सन्दीप विश्वका दोस्रो खेलाडी हुन् । यसअघि रासिद खानले ५३ खेलमा १ सय विकेट लिएका थिए । सन्दीपले यो कीर्तिमान ५४ औँ खेलमा आएर पूरा गरे ।

नेपालका लागि भने सय विकेट लिने सन्दीप पहिलो खेलाडी हुन् । यसअघि सन्दीपले नै चौधौँ ओभरको दोस्रो बलमा तान्जिम अल हसनलाई ३ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई सातौँ सफलता दिलाए।