कर्मचारी सरुवा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सरकारले कर्मचारी सरुवा तत्काललाई स्थगन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गरी तत्कालका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरिएको जानकारी दिएको हो।

कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सरुवासम्बन्धी कार्य स्थगित गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ।

पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको थियो।