बाढीपहिरो र चट्याङबाट एकैदिन १४ जनाको मृत्यु, दुई बेपत्ता
काठमाडौं । पछिल्लो २४ घण्टामा बाढी, पहिरो र चट्याङका घटनाबाट देशभर १४ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा पहिरोका घटनाबाट आठ जना, चट्याङ लागेर पाँच जना र बाढीमा परी १ जनाको मृत्यु भएको हो ।
बाढीका घटनामा परी दुई जना बेपत्ता भएका छन् । घाइतेमध्ये पाँच जना पहिरो, तीन जना चट्याङ लागेर र एक जना बाढीमा परी भएका छन् ।
पहिरोका घटनामा परी ओखलढुंगमा एक, लम्जुङमा पाँच र कास्कीमा दुई जनाको मृत्यु भएको छ । लम्जुङको क्व्होलासोथार गाउँपालिका–३ स्थित बगुममा पहिरोले तीनवटा घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने दुई जना बालिका बेपत्ता भएका छन् ।
चट्याङ लागेर झापामा दुई जना, रोल्पामा दुई जना र सुनसरीमा एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।