काठमाडौं महानगरले यस वर्ष पनि कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं। काठमाडौं महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई यस वर्ष पनि छात्रवृत्ति प्रदान गर्ने भएको छ।महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दैै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन आह्वान गरेको हो।

गत वर्ष पनि काठमाडौँ महानगरपालिकाले काठमाडौँका निजी कलेजमा झण्डै ४ हजार जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो।

शिक्षा नियमावलीमा निजी विद्यालयहरुले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार महानगरपालिकाले यस वर्ष पनि निजी विद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थीको छनोट आफैँले गर्न लागेको हो।

यस वर्ष महानगरपालिकाको छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीले असार १५ गते (शनिबार) बिहान १० बजेदेखि असार २९ गते राति ११ः५९ बजेसम्म अनलाइन आवेदन दिन सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ। परीक्षा भने आगामी साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुने छ।