देश कंगाल, भ्रष्टाचारीहरु मालामालः तिनको सम्पत्ति छानबिन गर्न कहिले आयोग गठन गर्ने सरकार ?
अनुसा थापा
देशमा भ्रष्टाचार मौलाएको छ। हरेक क्षेत्र भ्रष्टाचारको दलदलमा फस्दै गएको छ। देश खोक्रो बनाएर भ्रष्टाचार गरिएको छ । सरकारलाई लुटेर सीमित व्यक्ति मोटाएका छन्। त्यसैले अब सरकार ‘एक्सन’ मा आउन जरुरी देखिएको छ। सरकारी कर्मचारी, राजनीतिक दल, व्यापारी, उद्योगी, संघसंस्थाका पदाधिकारीहरुको सम्पत्ति छानबिन हुनुपर्छ।
त्यसका लागि सरकारले एउटा शक्तिशाली आयोग गर्नुपर्ने देखिएको छ । त्यो आयोगले राजनीतिक दल, भूपू तथा बहालवाला सरकारी कर्मचारी, व्यापारी, उद्योगी, संघसंस्थाको सम्पत्ति छानबिन गर्छ । सरकार नियमन नगर्ने अनि सबै देशलाई लुट्ने । एउटा सरकारी कर्मचारीले छोराछोरी राम्रो स्कुलमा पढाएर, खाएर, लाएर, कोठा भाडा तिरेरलगायत अन्य खर्च गरेर घरजग्गा जोड्न सक्छ ?
पिऊन्को जागिर खानेहरुले अंकुत सम्पत्ति जोडेका छन् । यो कसरी सम्भव छ ? भ्रष्टाचार होइन् ? पहिलेपहिले सरकारी कर्मचारीको तलब कति हुन्थ्यो ? एक–डेढ सय । छोराछोरी पढाएर, खान दिएर, अन्य खर्च गरेर घरजग्गा जोड्न सम्भव छ ? त्यति पैसाले त मासिक घरखर्च धान्न पुग्दैन्थ्यो ।
अनि तिनले कसरी करोडौंको सम्पत्ति जोडे ? यो खोजतलास हुनुपर्छ । सरकारी सेवामा छिरेको एकाध वर्षमै घर बनाउँछन् । सरकारी सेवा पैसाको बोट त होइन् । तर, कर्मचारीले सरकारी सेवाले पैसा फल्ने बोट नै बनाएका छन् । सरकारी सेवामा छिर्नुको उद्देश्य नै भ्रष्टाचार गर्नु भएको छ ।
सरकारले छानबिन मात्र गरोस् न कुनै कर्मचारी चोखो भेटिँदैनन् । सबले भ्रष्टाचार गरेका छन्, राज्यलाई लुटेका छन् । सरकार निरीह हुँदा सरकारी कर्मचारीको मनोमानी बढ्यो । सरकार केही गर्न सक्दैन्, हामीले जे गर्दापनि हुन्छ भन्ने भाव उनीहरुमा पलाएको छ । काम नगर्ने भ्रष्टाचार मात्र गर्ने ।
सरकारी जागिर खाने हरेकको काठमाडौंमा महल छ । सरकारले छानबिन गर्दा ‘दूधको दूध, पानीको पानी’ भइहल्छ । जसले भ्रष्टाचार गरेको छ, उसको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । उसलाई कारबाही गर्नुपर्छ । हिजो उसको पुर्ख्यौली सम्पत्ति कति थियो ? अहिले उसको सम्पत्ति कति छ ?
उसको छोराछोरी कहाँ पढ्छन् । मासिक आम्दानी र खर्च कति छ ? उसको आम्दानीभन्दा धेरै खर्च छ । तैपनि सम्पत्ति जोडेको छ भने त्यो भ्रष्टाचार भएको पुष्टि भइहाल्यो । भ्रष्टचार गर्नेलाई जेल कोच्ने र उसको सम्पत्ति राष्ट्रियकरण गर्ने निर्णय सरकारले गरोस्, यहाँ कसैले भ्रष्टाचार गर्ने आँट गर्दैन् ।
उद्योगी, व्यापारीहरुले राजश्व छलेका छन् । एकातिर राज्यलाई राजश्व नतिर्ने अर्कोतिर सामानको मँहगो मूल्य लिएर उपभोक्ता ठग्ने । उनीहरुको पनि सम्पत्ति छानबिन हुनुपर्छ । आफू कमाउनका लागि राज्य र जनता लुट्ने अधिकार कसैसँग पनि छैन् । मालपोत, यातायातलगायतमा बसेका लेखनदासहरुको पनि सम्पत्ति छानबिन हुन आवश्यक छ ।
कानुनको विषयमा सामान्य ज्ञान भएका लेखनदासहरुले धेरै सरकारी, सार्वजनिक र गुठीको जग्गा हिनामिना गरेका छन् । सरकारी सम्पत्ति दोहन गर्नमा उनीहरुको हात छ । मालपोतका कर्मचारीसँग मिलेर उनीहरुले सरकारी, सार्वजनिक र गुठीको जग्गा दर्ता गर्छन् । अनि बेच्छन् ।
त्यो पैसाले अन्यत्र जग्गा जोड्छन् । लेखनदासहरु मोटाउनुको प्रमुख कारण नै यही हो । अर्कोतिर बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरुको पनि सम्पत्ति छानबिन गरिनुपर्छ । सीधासाधीलाई फसाएर उनीहरुले जोड्नसम्म सम्पत्ति जोडेका छन् । एनजिओ–आइएनजिओका सञ्चालकहरुले गरिबको नाम बेचेर आफू कमाएका छन् ।
गरिबको नाममा विदेशी डलर ल्याउने अनि खल्तीमा हाल्ने कार्यले प्राथमिकता पाएको छ । निजी बोर्डिङ सञ्चालकहरुको सम्पत्ति पनि छानबिन गरिनुपर्दछ । मनलाग्दी पैसा लिएर उनीहरुले विद्यार्थीका अभिभावकलाई लुटेका छन् । यहाँ त सबैको ‘देखाउने र चपाउने दाँत’ छुट्टाछुट्टै छ ।
देश र जनताको सेवा भनेर लुट्ने काम भइरहेको छ । नेता र सरकारी कर्मचारीले भ्रष्टाचार लुकाउन परिवारलाई व्यापार–व्यवसायमा लगाएको हुन्छन् । अनि त्यहाँबाट कमाएको भनेर जनता र सञ्चारकर्मीको आँखामा धुँलो झोक्छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूसँग भएको सम्पत्ति श्रीमतीको हो भन्छन् ।
त्यति भने सकियो । तर, माइतीसँग त्यति सम्पत्ति दिने हैसियत थियो कि थिएन् ? दिएको भए कहिले दियो ? कति दियो ? त्यति गहिराइमा सञ्चारकर्मी जाँदैन् । उनले भनेकै भरमा सबैको मुख टालियो । काँग्रेसका महामन्त्री गगन थापामाथि स्वास्थ्यमन्त्री हुँदा धेरै भ्रष्टाचार गरेको आरोप छ ।
बाख्रा पालनको नाममा पनि भ्रष्टाचार गरेको बताइन्छ । उनलाई कसैले सम्पत्तिको बारेमा सोध्यो भने आमाबाबुले जोडेको भन्छन् । उनको आमा सरकारी कर्मचारी हुन् । सरकारी कर्मचारीको कति नै तलब हुन्छ ? आमाले जागिर खाने बेलामा तलब कति थियो ? खर्च कति थियो ?
खर्च कटाएर त्यत्रो सम्पत्ति जोड्न सम्भव थियो ? यहाँबाट पनि भ्रष्टाचारको गन्ध आएको छ । थापाले भ्रष्टाचार गरेनन् होला । तर, उनको आमाले त भ्रष्टाचार गरेको देखियो । पूर्व प्रधानमन्त्रीद्धय केपी शर्मा ओली र माधव नेपाल सबै सम्पत्ति श्रीमतीले जोडेको बताउँछन् । दुवैको श्रीमती बैंकको कर्मचारी हो ।
एउटी सरकारी कर्मचारीले घरखर्च धानेर, छोराछोरी पढाएर त्यत्रो सम्पत्ति जोड्न सक्छ ? यो सञ्चारकर्मी र जनतालाई झुक्काएको होइन् ? वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो घर नभएको बताउँछन् । चितवनमा भएको पुर्ख्यौली सम्पत्तिमा घर बनाएको उनको भनाइ छ ।
उनले काठमाडौंमा घर बनाएनन् होलान् । तर, हातमा ७८ लाखको घडी भिरेका छन् । यो कहाँबाट आयो ? उनको अन्य क्षेत्रमा पनि लगानी भएको बताइन्छ । भाटभटेनीमा उनको लगानी रहेको बताइएको छ । देश कंगाल बनाउने आफू मालामाल गर्ने मात्र छन्, यहाँ । राज्यको सम्पत्ति दोहन गर्न सबै जना निकै सिपालु भए।
नेता, व्यापारी, कर्मचारीले भ्रष्टाचार गरेको पैसा लगेर विदेशी बैंकमा लुकाएका छन् । व्यापारीहरु यहाँ राजश्व छल्ने अनि विदेशी बैंकमा लगेर राख्ने । भोलि आफूमाथि अप्ठेरो आयो भने विदेशमा गएर सेटल हुने योजना पहिले नै बनाएर राखेका छन् । दुई जिब्रेहरुले देश सकाएका छन् ।
आफैं भ्रष्टाचार गर्ने अनि आफैं भ्रष्टाचार गर्नुहुन्न भन्ने । आम्दानीभन्दा बढी खर्च हुनेबित्तिकै ‘दालमा केही कालो’ भएको बुझिन्छ । विकसित देशमा भ्रष्टाचार रोक्न सरकार सशक्त भएर लागेको छ । तर, हाम्रो देशमा भ्रष्टाचारीका नाइकेहरु नै सरकारमा छन् । अनि कसरी सुधार हुन्छ ?
अधिकांशका छोराछोरी अमेरिका, अष्ट्रेलिया, क्यानडालगायतका विकसित मुलुक पुगेका छन् । गएको केही महिनामै उनीहरुले त्यहाँ घरजग्गा, गाडी किन्छन् । त्यो भ्रष्टाचारको पैसाले किनेको होइन् ? बाबुआमा यहाँ भ्रष्टाचार गर्ने, छोराछोरी त्यता लगेर घरजग्गा, गाडी किन्ने । विदेशी ऋण बढेको बढ्यै छ ।
राज्यको ढुकुटीमा राजश्व उठ्न छोडिसकेको छ। अब देश बचाउने एउटै उपाय भ्रष्टाचारीहरुको सम्पत्ति खोतालौं । राष्ट्रियकरण गरौं। त्यहीबाट विदेशी ऋण पनि तिरिन्छ, देश पनि विकास गरिन्छ। राजनीतिक दल, सरकारी कर्मचारीहरुलाई जसरी हुन्छ भ्रष्टाचार गरेको सम्पत्ति लुकाउने र कानुनको दायराबाट बच्ने भन्ने मात्र छ।
टालटुले मन्त्रिपरिषद्को निर्णय र उखानटुक्काले कहिलेसम्म देश चल्छ ? देश भँडखालोमा पुगिसक्यो। यस्ता नेता कर्मचारीबाट जनताले के आश गर्ने ? राजनीतिक दलहरु सबै दलाली हुन्। यिनीहरुबाट विकास पनि हुँदैन्, देशको अर्थतन्त्र पनि सुध्रिँदैन्। ठूलाले जे गरेपनि कानुन नलाग्ने रहेछ। यहाँ त ‘जो चोर छ, उसैको ठूलो स्वर’ छ।