रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा.मुकुल ढकाललाई ७ दिनका लागि पदबाट निम्बलन गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको हो।

पार्टी केन्द्रीय सदस्य शिशिर खनालका अनुसार केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ।

बुधबार नै डा.ढकाललाई निलम्बनको पत्र थमाइएको उनले बताए। बुधबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको बेहोरा पत्रमा रहेको बताइएको छ।

यस्तै, महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौकासमेत नदिएको बताएका गरेका छन्। राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कारबाही नभएको उनको भनाइ छ।

उनले भने, ‘राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कसैलाई पनि कारवाही गर्नुअघि स्पष्टीकरणको मौका दिनपर्छ । तर स्पष्टीकरणको मौका पनि नदिइ कारबाही भयो।

बुधबार महामन्त्री ढकालले ३९ जिल्ला घुमेर तयार पारिएको प्रतिवेदन छलफल गर्ने केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए। पार्टी उपसभापति स्वर्णिम

वाग्लेका अनुसार सभापति रवि लामिछानेले त्यस विषयलाई केन्द्रीय समितिमा प्रस्तुत गरेका थिए। तर शतप्रतिशत केन्द्रीय सदस्यले अस्वीकृत गरेका थिए।
केन्द्रीय समितिले लाइभ गर्ने प्रस्ताव विफल तुल्याएपछि महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर विरोधमा बसेका थिए।