काँग्रेसको हातमा सत्ता,प्रचण्डलाई सकाउन खोज्दा ओली आफैं पंगु बन्दै

नेपाल सरकारले पहिलो पटक २०७४ सालमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन गराएको थियो । सो वर्षको मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन गराउने सरकारको घोषणा थियो । चुनाव घोषणासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरे । जनतामाझ भोट सँगै गए।

दुवै पार्टीले चुनावपछि एकीकरण हुने वा एउटै पार्टी हुने बताएका थिए । र, जनताले विश्वास गरी उनीहरुलाई बहुमत दिए । चुनावमा बहुमत आएपछि एमाले अध्यक्ष केपीशर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कसले प्रधानमन्त्री वा पार्टीको अध्यक्ष खाने भन्नेमा विवाद शुरु भयो ।

चुनाव सकिएको लामो समयसम्म पनि कोही प्रधानमन्त्री भएन । अनि विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईको घरमा मार्सी चामलको खाना खाएपछि ओली र प्रचण्डबीच केही सहमति भएको थियो । जसमा पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली र प्रचण्डले ३०–३० महिना खाने सहमति भयो ।

पहिलो चोटी प्रधानमन्त्री ओली हुने र पहिलो चोटी पार्टी अध्यक्ष प्रचण्डलाई बनाउने लिखित सहमति भएको थियो । ओली र प्रचण्डले सहमति पत्रमा हस्ताक्षर नै गरेका थिए । र, यस साक्षी दुर्गा प्रसाई बने । सहमतिपश्चात् ०७४ फागुल्न ३ गते ओली प्रधानमन्त्री भए । सम्झौताअनुसार ओली प्रधानमन्त्री भएपछि पार्टीको अध्यक्ष प्रचण्डले पाउनुपथ्र्यो ।

प्रचण्डले विश्वास गरेर ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए । तर, ओलीले उनलाई पार्टी अध्यक्ष दिएनन् । आफैंले पार्टी पनि चलाए । प्रचण्डलाई पार्टीको कुनै पनि निर्णय वा बैठक राख्नै दिएनन् । तैपनि प्रचण्ड ओलीको पछिपछि लागे । उनमा आश थियो ओलीले आफुलाई पार्टी अध्यक्ष दिन्छन् ।

यद्यपि, ३० महिनासम्म ओलीले उनलाई पार्टी अध्यक्ष दिएनन् । र, आफु प्रधानमन्त्री बनिरहे । ओली प्रधानमन्त्री भएको ३२ महिना पुगेपछि प्रचण्डले सार्वजनिक कार्यक्रममा ओली र आफुबीच आधा–आधा समय प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने सहमति भएको भन्दै अब आफुले प्रधानमन्त्री पाउनुपर्ने बोल्न थाले ।

अनि ओलीले प्रचण्डसँग कुनै पनि सहमति नै नभएको बताउन थाले । उनले पाँचै वर्ष आफुले प्रधानमन्त्री र पार्टी अध्यक्ष चलाउने भन्दै ओठे जवाफ फर्काए । त्यसपश्चात् ओलीले आफ्ना कार्यकर्तालाई बालुवाटारमा बोलाएर आफ्नै पार्टीका मान्छे वा विपक्षले सरकारको विरोध गरेमा कालो अरिगांलजसरी टोक्नु भनेर निर्देशन दिए ।

प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर ओलीले यस्तो गैरजिम्मेवार अभिव्यक्ति वा निर्देशन दिएका थिए । मुलुकमा कोरोना फैलियो भन्दै ओलीले दुई पटक लकडाउन समेत गरे । ०७६ चैत ११ गते र ०७८ वैशाख १६ गते दुई पटक उनले लकडाउनको घोषणा गरेका थिए ।

देशमा लकडाउन गरेर उनी जनताले तिरेको करमा बालुवाटारमा मोजमस्ती गरेर बसे । लकडाउनपछि खाना नपाएर सर्वसाधारण महिनौं दिन पैदल हिँडेर आफ्नो जन्मथलो फर्किए । उनीहरुको खुट्टा सुन्निएर हेरिसक्नु थिएन । यता, कतिपयले खाना नपाएर आत्महत्या समेत गरे । कोठामा बस्नेहरुले राहत पाएनन् ।

खान नपाएपछि जनता विभिन्न संघसंस्था वा व्यक्तिले बाँडिरहेको खाना खान टुँडिखेल वा सडकमा लाइन लागे । कतिपयलाई घरबेटीले भाडा तिर्न नसकेपछि कोठाबाटै निकालदिए । र, उनीहरुको सडकबास भयो । जनताले कर तिरेका थिए । तर, बहालवालामा बस्नेलाई ओली सरकारले राहत दिएन ।

त्यतिबेला सर्वसाधारणको दुःख, पीडा सञ्चारकर्मीहरुले बाहिर ल्याइदिँदा ओली सञ्चार माध्यमप्रति नै खनिए । अनि बालुवाटारमा बसेर ओली कहिले बाँसुरी बजाउँन्थे त कहिले जनताले तिरेको करमा भोज राख्थे । यता, आफ्नो जन्मभूमिमा देशको नक्सालाई नै केक बनाएर उनले काटेर खाए ।

ओलीकै आडमा महेश बस्नेत र सर्वेन्द्र खनालले मिलेर सांसदको घरमै पुगेर अपहरण गरी होटलमा थुन्ने समेत गरे । ठेक्कापट्टा पनि सबै एमालेकै कार्यकर्तालाई दिइयो । राजदूत वा कर्मचारीको ठुलो पदमा पनि आफ्नै कार्यकर्तालाई ओलीले नियुक्त गर्थे । जनताले तिरेको कर जति सबै महेश बस्नेतको क्षेत्र भक्तपुर र ओलीको क्षेत्र झापामा हालियो ।

माओवादीबाट जुम्लाबाट चुनाव जितेर आएका तत्कालिन सांसद गजेन्द्र महत ओलीले आफ्नो क्षेत्रमा बजेट नदिएको भन्दै रोए समेत । ओली सरकारमा जनताबाट चुनिएर आएका सांसदलाई मन्त्री दिइएन । आफ्नो नजिकको कार्यकर्ता वा पूर्वगर्भनर डा.युवराज खतिवडालाई अर्थमन्त्री बनाइयो ।

खतिवडाको न देशमा राजनीतिक परिवर्तनको क्रममा योगदान थियो न त उनलाई जनताले पत्याएका थिए । ओलीले पटक–पटक विष्णु पौडेललाई मन्त्री बनाए । र, अन्य सांसदले अवसर नै पाएनन् । ०७१ सालमा ओली र माधवकुमार नेपाल एकै पार्टीको अध्यक्षमा लडेका थिए ।

तर, नेपालले थोरै भोटले चुनाव हारे । उनलाई भित्तामै पुर्याउन खोजे, ओलीले । नेपाललाई पार्टीमा टिक्नै दिएनन् । उनको पार्टीबाट चुनाव जितेर आएका सांसदलाई ओलीले आफु प्रधानमन्त्री हुँदा एउटै पनि मन्त्री दिएनन् । ०७० सालको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ का जनताले महेश बस्नेतलाई चुनाव हराए ।

चुनाव हारेको व्यक्तिलाई ओलीले सुशिल कोइराला प्रधानमन्त्री हुँदा उद्योगमन्त्री बनाए । बस्नेतले मन्त्री हुँदा अकुँत सम्पत्ति जोडेको थाहा पाएपछि भक्तपुरका जनताले फेरि उनलाई ०७९ मंसिर ४ गतेको निर्वाचनमा हराए । उता, ओली प्रधानमन्त्री हुँदा उनको दादागिरी बढ्दै गएको थियो ।

उनी पार्टीको बैठकदेखि मन्त्रिपरिषद् बैठकसम्म बालुवाटारमा राख्थे । प्रधानमन्त्री हुँदा पटक–पटक बिरामी भए । जनताले तिरेको करोडौं कर उनको उपचारमा सकियो । ओलीले काम गर्न नसकेको चौतर्फी विरोधपछि पार्टीमा पनि माधव नेपाल र प्रचण्डले बोल्न शुरु गरे ।

उनीहरुसहित झलनाथ खनाल, वामदेव गौतमले ओलीलाई भने, तपाईँ दुईटा पदमा एउटा पद छोड्नुस् । कि प्रधानमन्त्री छोड्नुस् कि पार्टी अध्यक्ष । तर, ओली कुनै पनि पद छोड्न तयार भएनन् । त्यसपछि पार्टीमा झगडा शुरु भयो । पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हट्नुपर्ने अवस्था निम्तिएपछि ओलीले ०७७ पुस ५ गते र ०७८ जेठ ८ गते दुई पटक संसद विघटन गरिदिए ।

यद्यपि, दुवै पटक सर्वोच्च अदालतले संसद विघटन उल्टाइदियो । ०७८ असार २९ गतेभित्र ओली नेतृत्वको सरकार हटाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले आदेश दियो । अनि ओली बालुवाटारबाट रुँदै निस्किए ।

ओलीलाई महेश बस्नेत र कार्यकर्ताले घेरेका थिए । बालकोटमा पुगेपछि ओलीले माधव नेपाललाई गद्दार भने । अनि सार्वजनिक कार्यक्रममा उनले भन्न शुरु गरे, ‘केही महिनापछि चुनाव हुन्छ । जनताले एमालेलाई बहुमत दिन्छन् । र, बालुवाटार र सिंहदरबारमा फेरि फेरि प्रधानमन्त्री भएर मै आउँछु ।’ ०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयो ।

कांग्रेस ८९ सिटसहित पहिलो पार्टी बन्यो । एमालेले ७८ सिट जित्यो । माओवादी ३२, रास्वपा २१, राप्रपा १४, जसपा १२, एकीकृत समाजवादी १०, जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १ र नेमकिपाले १ सिट जित्यो । ०७९ सालको निर्वाचनमा एमालेलाई जनताले नपत्याएपछि ओलीको बालुवाटार र सिंहदरबार छिर्ने सपना चक्नाचुर भयो ।

अनि उनले शुरु गरे प्रचण्डलाई उचालन । प्रचण्डले कांग्रेससहित विभिन्न दलसँग गठबन्धन गरेर ०७९ सालको निर्वाचन लडेका थिए । चुनावपछि कांग्रेसले आफु ठुलो पार्टी रहेकोले पहिलो पटक आफु र दोस्रो पटक तपाई प्रधनमन्त्री खानुस् भनेर प्रचण्डलाई भनिरहेको थियो । तर, प्रचण्ड यसमा सहमत भएनन् ।

उनी बालुवाटारको मिटिङ्ग छोडेर एकैपटक बालकोट पुगे । प्रचण्डकै कारण एमालेले सभामुख पायो । अहिले ओलीले आफु प्रधानमन्त्री बनन प्रचण्ड नेतृत्वको सरकार ढालिदिए । अहिले सर्वसाधारण भन्छन्, ‘कांग्रेसले अहिले ओलीलाई प्रधानमन्त्री बनाए प्रचण्डलाई दिएजस्तो धोका दिन्छन्।

अहिले कांग्रेसको हातमा सत्ता छ। अब कांग्रेसले शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाई ओलीलाई प्रधानमन्त्री ०८४ सालको निर्वाचनमा कांग्रेस पनि सकिनेछ । कांग्रेसलाई जनताले पहिलो पार्टी बनाएका छन्। त्यसैले, अब कांग्रेसले साना दलसँग मिलेर सरकार गठन गर्नुपर्छ।

कांग्रेस एमालेसँग सम्झौता गरिसक्यौ भनेर बस्ने होइन। देश र जनताको हितका लागि कांग्रेसले निर्णय गर्नुपर्छ। अब कांग्रेसको नेतृत्वमा सरकार बन्छ भनेर बजारमा बहस समेत शुरु भइसकेको छ।

त्यसैले, यो वर्ष ओलीको प्रधानमन्त्री बन्ने सपना चक्नापुर हुनेछ। ओलीले प्रचण्डलाई सक्काउन खोजे, तर कांग्रेसले साना दलसँग मिलेर सरकार गठन गरेपश्चात् एमाले आफैं सकिनेछ।