ओलीको सामु निरीह प्रचण्ड,जादुको नम्बरले चिप्लिए,माओवादीको भविष्य के ?

फाइल तस्बिर

काठमाडौं। दुईपटक प्रधानमन्त्री खाइसकेका,नेकपालाई मुठीमा घुमाएर पछारेका र राजनीतिमा बाघचाल खेल्न माहिर एमाले अध्यक्ष केपी ओलीले जब गठबन्धन सरकारमा महत्वपूर्ण हिस्सा नै खोजेनन्,त्यहीबाट उनको चाल धेरैले अड्कल गरिसकेका थिए।

राजनीतिक विश्लेषकका कुरा छाडौँ, आम सचेत युवाले समेत प्रचण्ड नेतृत्वको सरकार अब तीन महिनाभन्दा बढी नटिक्ने अड्कल त्यहीबेला गरिसकेका थिए। तर सत्ताको नेतृत्वकर्ता माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको चालै बुझ्न सकेनन्।

नत्र ता अस्ति भर्खरसम्म उनले आफूसँग म्याजिक नम्बर (जादुको नम्बर) रहेको र पूरै कार्यकाल आफूले सरकार चलाउने भन्दै माओवादी कार्यकर्तालाई आस्वासन बाँडेर किन बस्थे ? प्रचण्ड यही म्याजिकको मीठो भ्रममा पर्दा चिप्लएको पत्तै पाएनन्।

खासमा ओलीले प्रचण्डलाई हातमा लिए,केहीबेरका लागि हावामा बुरुक्क उफारेर हिलोमा पछारिदिएका छन्। काँग्रेससँगको हुँदाखाँदाको गठबन्धन तोडेर ओलीको पञ्जामा पर्नु नै प्रचण्डको दुर्भाग्य थियो।

यदि काँग्रेससँगको गठबन्धन नतोडेका भए न त काँग्रेस अहिले एमालेसँग मिल्न जाने थियो, न त प्रचण्डले यति छिटै प्रधानमन्त्रीबाट हात धुनुपर्ने थियो। कम्तीमा अझै एक–डेढ वर्ष उनलाई काँग्रेसको समर्थन कायमै रहने थियो, पूर्व–सम्झौता बमोजिम।

जसरी पनि काँग्रेस–एमाले गठबन्धन तोड्न लागिपरेका ओलीले एकाएक प्रचण्डलाई चिप्लो घसेर आफ्नो हातमा ल्याउन सफल भए। उता काँग्रेस रन्थनियो र जसरी पनि प्रचण्डलाई प्रधानमन्त्रीबाट गिराउन लागिप¥यो।

अनेक गरेर पनि नसकेको काँग्रेसलाई पनि अन्ततः ओलीले नै हात लिए र आफू प्रधानमन्त्री बन्ने सर्तमा काँग्रेससँग सत्ता–सम्झौता गर्न सफल भए। भन्नलाई संविधान संशोधनको मिलनबिन्दु भेटिएर यी दुई दल मिलेको भनिए पनि अन्तर्यमा भने सत्ता नै हो। एमाले–काँग्रेसको यो गठबन्धन पनि कतिन्जेल टिक्छ भन्न सकिँदैन।

सत्ता र साख दुवै गुमाएको माओवादीले एमाले–काँग्रेस मिलनलाई पश्चगमन देख्न थालेको छ। मंगलबार बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले काँग्रेस–एमाले मिल्नु पश्चगमनको संकेत रहेको निष्कर्ष निकालेको थियो।

संविधान संशोधनका कुृरा झिकेर २०४७ सालको संविधान ब्युँत्याउने षडयन्त्र, भ्रष्टाचारका फाइल खोलेपछि कांग्रेस–एमालेमा त्रास देखिएको र परिवर्तनका उपलब्धि उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको माओवादीको निष्कर्ष छ।

यसको सशक्त प्रतिवाद गर्ने समेत प्रचण्डले बताएका छन्। माओवादी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पनि काँग्रेस—एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको र यसले मुलुकलाई पश्चगमनतिर लैजाने बताए।

पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदको सामना गरेर पाचौँपटक विश्वासको मत लिने धारणा राखेका थिए। पार्टी नेताहरुले पनि त्यसै गलेर सरकार छोड्ने भन्दा लोकतान्त्रिक प्रक्रियाअनुसार नै संसदमा विश्वासको मत लिएर अघि बढ्न सुझाव दिए।

बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। यससँगै बिहीबार रास्वपाका मन्त्रीहरुले राजीनामा दिन जाँदा प्रधानमन्त्री प्रचण्डले आफू संसदलाई फेस गर्ने र त्यतिन्जेल साथ दिन अनुरोध गरेपछि रास्वपाले प्रचण्डलाई कुर्ने देखिन्छ।

करिब दुईतिहाइको बहुमत प्रचण्ड सरकारका विरुद्धमा स्पष्ट रुपले खडा भइसकेको अवस्थामा उनले विश्वासको मत पाउने सम्भावना छैन, तैपनि संवैधानिक सुविधालाई उपयोग गर्ने प्रचण्डको मनस्थिति देखिन्छ।

यसैकारण रास्वपाका मन्त्रीहरूलाई राजीनामा नदिन आग्रह गरेको देखिन्छ। तर रास्वपाले छिटै विश्वासको मत लिन प्रधानमन्त्रीलाई सुझाव दिएको छ।

चौथोपटक विश्वासको मत लिँदासम्म प्रधानमन्त्री प्रचण्डले आरामले नै विश्वासको मत पाएका थिए। तर पाचौँपटक भने उनले सबैको विश्वास गुमाइसकेका छन्। तर पनि राजीनामा दिएर सरकारबाट बाहिरिनुको सट्टा विश्वासको मत पाई पो हाल्छु कि भन्ने झिनो भ्रम प्रचण्डलाई भएको हुनसक्छ।

संविधानतः उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। यसबीचमा काँग्रेसलाई ठूलो दलको हैसियतामा प्रधानमन्त्री दिएर भए पनि एमाले–काँग्रेसबीचको सहमति भाँड्न सकिने छिद्र समेत बाँकी छ र प्रचण्डमा पनि झिनो आशा बाँकी देखिन्छ।

तर जब उनको चेत खुल्यो,समय धेरै ढिला भइसकेको छ। दुई ठूला दलको विश्वास र साथ गुमाइसकेपछि अब प्रचण्ड र माओवादीको भविष्य के हुने भन्ने अन्यौल समेत थपिएको छ।