ओली र देउवाबीच फाटो ल्याउने प्रचण्ड रणनिति,चार महिनामै सत्ता समीकरण आफु अनुकूल बनाउदै

काठमाडौं। १८ महिने कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा पाचौँपटक विश्वासको मत लिएका छन्। यसबेला संसदका प्रमुख दल काँग्रेस–एमाले मिलेकाले तेस्रो दलका प्रधानमन्त्रीले विश्वासको मत पाउने कुरै थिएन।

तैपनि संसदमा गरामगरम बहस चलाएर उनले विश्वासको मत लिइछाडे। उनको पक्षमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी तथा रास्वपाको मात्रै साथ रह्यो। काँग्रेस–एमाले–राप्रपा लगायत अन्य दल विपक्षमा उभिएका छन्।

विश्वासको मत माग्नुअघि प्रधानमन्त्री प्रचण्डले संसदमा लामो सम्बोधन गर्दै कतै आक्रोशित, कतै भावुक त कतै सशंकित हुँदै आफ्ना कुरा राखेका थिए। असार १७ गतेको एमाले अध्यक्ष केपी ओलीले आफूसँग स्वर्ग गए पनि सँगै जाने र नर्क गए पनि सँगै जाने भनेर लामै छलफल गरेको,आफूलाई फकाएको र त्यसै रात काँग्रेससँग मिलेर आफूविरुद्ध ठूलो षडयन्त्र गरेको आरोप लगाए।

संसद विघटन गर्न बानी परेका ओलीले आफूलाई नैतिकताको पाठ पढाउन नहुने भन्दै प्रचण्डले आक्रोश समेत पोखे। आफूलाई लामा-लामा संवाद र मीठा कुरा गरेर भ्रममा पारेर ओलीले काँग्रेससँगको गठबन्धन टुटाउन सफल भएको र चार महिनामै आफूविरुद्ध धोका र षड्यन्त्र रचेको उनको गुनासो थियो।

बरु काँग्रेस सभापति शेरबहादुर देउवाप्रति भने प्रचण्ड नरम रुपमा प्रस्तुत भए। डेढ वर्षअघि प्रधानमन्त्री बन्ने क्रममा २०७९ पुस १० गते देउवाको जुन हालत भएको थियो।

सोही हालत अहिले आफ्नो भएको प्रचण्डको भनाइ रह्यो। यसको मतलब प्रचण्डबाट पुस १० मा प्रधानमन्त्री बन्नै लाग्दा धोका पाएका देउवामाथि प्रचण्डको सहानुभूति देखिन्थ्यो।तर आफूलाई झुक्याएर ओलीले उसैगरी धोका दिँदा ओलीसँग आक्रोशित देखिन्थे।

आखिर धोका त धोकै हो, प्रचण्डले पनि पालैपालो ओली–देउवालाई धोका दिएकै हुन्। यसपटक ओली–देउवाले प्रचण्डसँगको इबी फेरेर धोका दिए। प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन बन्द कोठामा गोप्य सम्झौता गर्ने एमाले–काँग्रेस वर्तमान सरकारले भ्रष्टाचारका फाइल खोल्दा डराएर एकठाउँ उभिएको बताए।

काँग्रेस–एमालेबीच विश्वासका सहमति र सहकार्य नभएको भन्दै उनले हाललाई स्वार्थ समूह र माफिया वर्गले उनीहरुलाई मिलाइदिएको र त्यो सहकार्य दिगो नहुने समेत बताए।

काँग्रेस–एमाले सहकार्य विश्वासका आधारमा नअडेको दाबी गर्ने प्रचण्डलाई चार महिनापछि नै सत्ता समीकरण फेरिने संकेत एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले गरेका छन्।

उनले चार महिनापछि नै राजनीतिक परिस्थिति प्रचण्डका लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन्। शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै चौधरीले वर्तमान सत्ता गठबन्धन भत्किनुमा काँग्रेस सभापति देउवालाई दोष नदिन र देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन उनले सुझाव दिए।

चार महिनापछि नै काँग्रेस–एमाले सहकार्यमा फेरबदल आउन सक्ने र परिस्थिति प्रचण्डका लागि अनुकुल हुने उनको दाबी थियो। ओलीले फेरि संसद विघटन गर्न सक्नेतर्फ संकेत गर्दै चौधरीले देउवालाई देशको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी संसद विघटनको साक्षी नबस्न पनि सुझाव दिएका छन्।

त्यसअघि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्ड जबरजस्त प्रतिपक्षी दलको नेता बन्न उपयुक्त पात्र भएको बताउँदै काँग्रेस–एमाले मिल्दा लोकतन्त्र कमजोर नहुने बताए।

प्रधानमन्त्रीको पद गुम्न लाग्दाको पीडा र आक्रोशका साथै प्रचण्ड इमोशनल भावबाट प्रेरित र निर्देशित रहेको उनको भनाइ थियो। आफूहरुले प्रचण्डमाथि कुनै वाद, प्रतिवाद नगर्ने,कटुता पनि नपाल्ने लेखकले बताए।

प्रधानमन्त्री प्रचण्डका कतिपय कुरा एमाले,काँग्रेस र राप्रपाका सांसदले खण्डन गरेका छन्। तर कतिपय कुरामा उनीहरु पनि गम्भीर देखिन्छन्। संविधान संशोधन लगायत मुद्दामा अघि बढ्ने हो भने प्रचण्डको साथ पनि चाहिन्छ भन्ने उनीहरुलाई थाहा छ।

काँग्रेस–एमाले मिलेर स्थिरता दिने भनिए पनि धेरैले उनीहरुको सहकार्य लामो नटिक्ने बताइरहँदा संसदमै पनि यसबारे रोचक बहस भएको छ। प्रचण्डले परिस्थिति आफूअनुकूल बनाउन फेरि खेल्न सक्ने ठाउँ कायमै रहेकाले केही महिनापछि काँग्रेस–एमाले समीकरणमा फेरबदल नआउला भन्न सकिने अवस्था अहिले देखि कायमै रहेकाे छ। 

प्रचण्डलाइ तत्काल सरकारबाट बहिरिदा जति पिडा बाेध भएकाे छ त्याे पार्टी निर्माण गर्नकाे लागि अवसर पनि हुने देखिन्छ। उनकाे सत्ता माेहाेले माओवादी पार्टी  विघट्न तिर गएकाे थियाे,अब त्याे विघट्न भएकाे पार्टीलाइ एकपटक पुननिर्माण गर्ने ठूलाे अवसर प्रचण्डकाे अगाडी खडा भएकाे छ।