दर्शन :दार्शनिक फाँटमा मार्क्स – एंगेल्स- लेनिन र माओ त्सेतुङको योगदान
- हस्तबहादुर केसी
यस दार्शनिक आलेखमा विश्व सर्वहारा वर्गका महान् नेता , गुरु तथा दार्शनिक कार्ल मार्क्स (१८१८ – १८८३) , फ्रेडरिक एंगेल्स (१८२० – १८९५) , लेनिन (१८७० – १९२४ ) र माओ त्सेतुङ ( १८९३ – १९७६ ) को योगदानकाबारेमा संक्षेपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ। उहाँहरुको योगदानलाई सबै पाठक र अध्ययताहरुलाई पढ्न र बुझ्न सजिलो होस् भन्ने हेतुले सकेसम्म सरल भाषा र शैली प्रयोग गर्ने प्रयास गरिएको छ।
वैज्ञानिक साम्यवादका सिध्दान्तकार तथा दार्शनिक कार्ल मार्क्स – फ्रेडरिक एंगेल्सले दार्शनिक फाँटमा आदर्शवाद र अधिभूतवादका विरुद्ध भीषण संघर्ष गर्दै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको जुन विकास गर्नु भएको छ , त्यसको मानव समाजका लागि युगान्तकारी तथा क्रान्तिकारी महत्त्व रहेको छ ।
मार्क्स – एंगेल्स विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त मार्क्सवादका प्रवर्तक हुनुहुन्छ । अत: यहाँ मार्क्सवादले दर्शनलाई कसरी हेर्दछ र दर्शनको ऐतिहासिक कार्यभार के हो भन्नेबारेमा जानकारी लिन आवश्यक छ ।
मार्क्सवादले दर्शनलाई प्रकृति , समाज र चिन्तनका गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञानका रुपमा गुणात्मक ढंगले विकसित तुल्याउने काम गरेको छ । त्यसकासाथै दर्शनको ऐतिहासिक कार्यभार दुनियाँ बुझ्नु मात्र नभई मुख्यतः दुनियाँ बदल्नु बन्न गएको छ ।
हामीले मार्क्सवादकाबारेमा गहन अध्ययन गर्न जरुरी हुन्छ । किनभने मार्क्सवाद र मार्क्सवादी दर्शन एक वैज्ञानिक तथा गतिशील सिध्दान्त हो , यसको गहिरो अध्ययन नगरीकन , यसलाई आत्मसात नगरीकन हामीले दुनियाँ बुझ्ने र त्यसलाई बदल्ने नियमकाबारेमा जान्न सकिदैन ।
हामीले मार्क्सवादी दर्शनको अध्ययन गर्दा मार्क्स – एंगेल्सद्वारा पवित्र परिवार , दर्शनको निर्धनता , फायरवाखको निबन्ध , कम्युनिस्ट पार्टीको घोषणापत्र , राजनीतिक अर्थशास्त्रको समीक्षाको एक प्रयास सम्बन्धि भूमिका , पुँजी – प्रथम खण्डको भूमिका , फ्रान्समा वर्गयुध्द , लुई बोनापार्टको अठारौं ब्रुमेर , फ्रान्समा गृहयुध्द , लुडविक फायरवाख , प्रकृतिको द्वन्द्ववाद, ड्युहरिङ्ग मतखण्डन लगायतका कृतहरुमाथि विशेष ध्यान दिन जरुरी हुन्छ ।
हामीले मार्क्सवादी दर्शनलाई मार्क्सवादी राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको समग्रतामा जोडेर अध्ययन गर्न र बुझ्न आवश्यक छ । किनभने दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्सवादका तीन संघटक अंग हुन् ।
अब सर्वहारा वर्गका महान् नेता तथा दार्शनिक लेनिनको योगदानकाबारेमा चर्चा गरौं । लेनिनले पुँजीवादी तथा निम्नपुँजीवादी विचारधाराको विरोधमा जुन सैध्दान्तिक – वैचारिक संघर्ष चलाउनु भएको थियो त्यो दार्शनिक क्षेत्रमा पनि अभिव्यक्त भएको पाइन्छ ।
लेनिनद्वारा विकसित गरिएका दार्शनिक मान्यताहरुलाई हामीले नरोदवादको आदर्शवादी समाजशास्त्रीय चिन्तनको विरोध र ऐतिहासिक भौतिकवादको स्थापनार्थ लेखिएको ” जनताका मित्र को हुन् , देखि संशोधनवादका विभिन्न धाराहरुका विरुद्ध परिलक्षित ” के गर्ने ? “कार्ल मार्क्स तथा मार्क्सवाद र संशोधनवाद ” हुँदै “जुझारु भौतिकवादको महत्त्व ” लगायतका अनेकौं कृति र लेख रचनाहरुमा पाउन सक्छौं । यसका साथसाथै लेनिनले स्व:स्फूर्ततावादका विरुद्ध संघर्ष चलाउँदै क्रान्तिका लागि सिध्दान्त र सचेतन पक्षको भूमिकामाथि विशेष जोड दिनु भएको छ ।
यसका साथै हामीले दर्शनमै केन्द्रित रहेर लेखिएका यस सन्दर्भमा लेनिनका दुईवटा कृतिहरु विशेष उल्लेखनीय रहेका पाउँछौं , ती हुन् -(१) भौतिकवाद तथा अनुभवसिध्द आलोचना र (२) दार्शनिक नोटबुक ।
(१) भौतिकवाद र अनसभवसिध्द आलोचनामा लेनिनले सामान्यतः अनुभववाद र विशषत: प्रत्यक्षवादका विरुद्ध सशक्त वैचारिक संघर्ष चलाउनु भएको थियो । महान् लेनिनले सो कृतिमा साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवादलाई मलजल प्रदान गर्ने अनुभववादी दर्शनका प्रत्यक्षवाद , व्यवहारवाद , यथार्थवाद लगायतका व्यक्तिनिष्ट आदर्शवादी धाराको सशक्त विरोध गर्नु भएको छ।
यसका साथै ती महत्त्वपूर्ण कृतिहरुमा प्रत्येक्षवाद र अनुभववादका पुराना र नयाँ विभिन्न धाराहरुमा आधारित तथा मार्क्सवादप्रति शत्रुतापूर्ण बन्दै र आफूलाई असल मार्क्सवादी बताउँदै आएका यस प्रकारका प्रवृत्तिलाई महान् लेनिनले ” काममा द्वन्द्वात्मक भौतिकवाद अर्थात् मार्क्सवादको पूर्ण परित्याग , शब्दमा अन्तहीीी छलकपट , समस्याबाछ भाग्ने प्रयास र पछाडि हट्नका लागि आड” बताउनु भएको छ ।
यसप्रकारको प्रवृत्तिलाई लेनिनले ” प्रतिनिधिमूलक दार्शनिक संशोधनवाद ” बताउनु भएको छ । यहाँनीर नै हामीले लेनिनले दार्शनिक क्षेत्रमा विद्यमान संशोधनवादबारे राम्रो प्रकाश पार्नुभएको छ ।
किनभने संशोधनवादीहरु एकातिर मार्क्सवादको पुरै परित्याग र अर्कोतिर अनेकौं षड्यन्त्र तथा पछाडि हट्नका लागि आड तयार पार्ने काम गर्दछन्। हामीले पाउँछौं कि लेनिनले त्यसप्रकारका संशोधनवादीहरुमाथि कडा प्रहार गर्नु भई दार्शनिक फाँटमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ ।(२) दार्शनिक नोटबुकमा पश्चिमी दर्शनशास्त्रको इतिहास , हेगेलको दर्शन र द्वन्द्ववादबारे निकै विषद र मौलिक रुपमा लेनिनद्वारा प्रकाश पार्ने काम भएको छ ।
यहाँनीर ज्यादै महत्त्वपूर्ण विषय के छ भने लेनिनको दार्शनिक नोटबुक दर्शनशास्त्रको इतिहासलाई अध्ययन गर्ने एउटा प्रामाणिक कृति हो । यो कृतिलाई हामीले दर्शनशास्त्रको एउटा महत्त्वपूर्ण विश्वकोषका रुपमा लिन सक्छौ । यो नै दार्शनिक फाँटमा अत्यन्तै महत्त्वपूर्ण योगदान हो लेनिनको ।
अब माओ त्सेतुङका योगदानकाबारेमा चर्चा गरौं । माओले आफ्ना महत्त्वपूर्ण दार्शनिक आलेखहरु ” व्यवहारबारे “, ” अन्तर्विरोबारे ” , ” जनताका बीचका अन्तर्विरोधहरुको सही सञ्चालन ” ,” सही विचार कहाँबाट आउँछन् ? जस्ता अत्यन्तै महत्त्वपूर्ण रचनाहरु रच्नु भएको छ र उहाँले दर्शनलाई नयाँ उचाई प्रदान गर्नु भएको छ ।
माओ माओवादका प्रतिपादक समेत हुनुहुन्छ । माओद्वारा प्रतिपादित माओवादी दर्शनको विकास प्रतिक्रियावाद तथा संशोधनवादका विरुद्धको संघर्ष र जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्तिको सन्दर्भमा आधारित रहेको छ ।
” व्यवहारबार ” शीर्षक कृतिमा माओले आदर्शवाद तथा अधिभूतवाद र जडसूत्रवाद तथा अनुभववादको विरोध गर्दै ज्ञान सिध्दान्तको क्षेत्रमा भौतिकवादी द्वन्द्ववादलाई माथि उठाउनुभएको छ ।
” अन्तर्विरोधबारे ” शीर्षक आफ्नो महत्त्वपूर्ण दार्शनिक रचनामा माओले अन्तर्विरोधको नियम तथा विपरीतहरुको एकत्वको नियमलाई द्वन्द्ववादको आधारभूत नियमको रुपमा विकसित तुल्याउनु भएको छ ।
माओकाा दार्शनिक कृतिहरुको अन्तर्यमा विपरीतहरुको एकत्वको नियमका रुपमा द्वन्द्ववादको आधारभूत नियम र पदार्थबाट चेतना तथा चेतनाबाट पदार्थमा जाने ज्ञानको दुई छलाङ्गको सिध्दान्त विशेष उल्लेखनीय रहेका छन् ।
” जनताका बीचको अन्तर्विरोको सही सञ्चालन ” शीर्षकको दार्शनिक आलेख जुन माओद्वारा समाजवादी क्रान्तिमा रचिएको थियो , उक्त आलेख द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद दुबैका दृष्टिले अत्यन्तै ओजपूर्ण रहेको छ ।
चीनमा समाजवादी क्रान्तिकालमा लिउ साओ चीको पुँजीवादी कार्यदिशाको पुष्टिका लागि याङ्ग सियेन चेनद्वारा दर्शनको फाँटमा ल्याइएका संश्लेषित आर्थिक आधार , सत्ता तथा चेतनाको एकताको विरोध र दुईको एकमा संयोजनको मान्यताको विरोधमा माओ र माओपक्षधर दार्शनिकहरुद्वारा सशक्त वैचारिक विरोध अभियान चलाउने काम भएको थियो ।
पुँजीवादको स्थापनाका लागि ल्याइएको संश्लेषित आर्थिक आधारको विरोधमा माओद्वारा प्रस्तुत ” भरपुर शक्तिबाट , दृढतापूर्वक अगाडि बढ्दै , बढीभन्दा बढी , छिटोभन्दा छिटो , राम्रो भन्दा राम्रो र कमभन्दा कम खर्चमा समाजवादको निर्माण गर्ने ” आम कार्यदिशालाई अंगीकार गर्दै “कृषिलाई आधारभूत र उद्योगलाई प्रमुख तत्व मान्ने ” नीतिलाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको थियो ।
त्यसैगरी सत्ता र चिन्तनबीचको एकताको मान्यताको विरोध गर्ने प्रवृत्तिलाई जोडदार रुपमा भण्डाफोर गरिएको थियो र पदार्थबाट चेतना तथा चेतनाबाट पदार्थमा जाने ज्ञान सिध्दान्तको दुई छलाङ्गको मान्यतालाई प्रभावकारी रुपमा स्थापित गरिएको थियोे । यसका साथै दुईको एकमा संयोजनका विरुद्ध एकको दुईमा विभाजनको मान्यतालाई नयाँ उँचाइ प्रदान गरिएको थियो ।
माओले चीनमा वैज्ञानिक समाजवादी निर्माणकालमा उत्पादक शक्ति तथा भौतिक उत्प्रेरणाको सिध्दान्तमाथि जोड दिने संशोधनवादी चिन्तनका विरुद्ध दृढतापूर्वक संघर्ष चलाउनु भएको थियो । माओले क्रान्तिकारी विचारधाराको पथप्रदर्शन र राजनीतिलाई प्रमुख स्थानमा राखी क्रान्तिलाई अगाडि बढाउनुपर्ने कुरामा जोड दिनु भएको थियो ।
यसका साथै माओले क्रान्तिमा जोड दिँदै निपुण हुनुपर्ने कुरामाथि राम्रो गरि प्रकाश पार्नु भएको छ । माओको नेतृत्वमा चीनको समाजवादी क्रान्तिकालमा ” हरेकलाई उनको योग्यता अनुसार र हरेकलाई उनको काम अनुसार ” भन्ने समाजवादी मान्यतालाई दृढतापूर्वक अवलम्बन गर्नुपर्ने कुरामा जोड दिँदै आर्थिक लाभको पक्षपोषण गर्ने भौतिक उत्प्रेणाको सिध्दान्तमाथि कडा वैचारिक प्रहार गर्नु भएको थियो ।
त्यसैगरी चीनमा क्रान्ति सम्पन्न गर्न र प्रतिक्रान्तिलाई रोक्नका लागि माओको नेतृत्वमा सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरतामाथि ध्यान दिँदै सन १९६६ देखि १९७६ सम्म महान् सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरिएको थियो । त्यो क्रान्तिमा “जनताबाट लिएर जनतालाई दिने ” जनदिशाको सैध्दान्तिक तथा दार्शनिक मान्यतालाई दृढतापूर्वक अवलम्बन गरिएको थियो ।
चीनमा महान् सर्वहारा साँस्कृतिक क्रान्ति शुरु गर्ने बेला सन २९६६ को १६ सूत्रीय सर्कुलरमा भनिएको छ ” सबै तहका पार्टी कमिटीहरुले अध्यक्ष माओ त्सेतुङद्वारा वर्षौदेखि आएका दिशानिर्देशनलाई पालना गर्नुपर्छ , जस्तो कि तिनीहरूले ” जनसमुदायलाई लिएर जनसमुदायलाई दिने ” जनदिशालाई पूर्णतः लागू गर्नुपर्छ र शिक्षक बन्नु भन्दा पहिले शिष्य बन्नुपर्छ । तिनीहरूले एकलकाटेपन र संकीर्णतालाई परित्याग गर्नुपर्छ । तिनीहरूले भौतिकवादी द्वन्द्ववादको पक्षपोषण र अधिभूतवाद तथा शास्त्रीयतावादको विरोध गर्नुपर्छ ।”
माओ त्सेतुङले आफ्ना महत्त्वपूर्ण लेखहरुमा जताततै जनभाषा प्रयोग गर्नु भएको छ । दर्शन जस्तो गहन विषयलाई अत्यन्तै सरल रुपमा प्रस्तुत गर्नु माओको एउटा महत्त्वपूर्ण विशेषता हो ।माओका दार्शनिक विचार वैज्ञानिक हुनुका साथसाथै क्रान्तिकारी आशावादले पनि समृद्ध रहेका छन् ।
माओद्वारा प्रस्तुत साम्राज्यवाद र तमाम प्रतिक्रियावादीहरु कागजी बाघ हुन् भन्ने भनाइलाई लिन सकिन्छ । यो भनाइ जति सरल छ त्यत्तिकै गहन पनि छ । माओले यसरी क्रान्तिकारी आशावादलाई अभिव्यक्त गर्ने भाषा प्रयोग गर्नु भएको छ।
( लेखक : मार्क्सवादी चिन्तक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ ) ।