दलालीको लहैंलहैंमा नलगाऔं, सेयरमा लगानी नगरौं

घरमा पालिएको पशु चौपाया होस् या जंगलका जनावर बोल्न सक्दैनन् । तर, यीनीहरु मानिसले बोलेको कुरा बुझ्छन् । साँच्चिकै भन्नुपर्दा पशु चौपाया र जंगली जनावरहरु मानवभन्दा बढी वुद्धिजीवी हुन्छन् । यीनीहरुलाई के गर्नु हुन्छ र के गर्नु हुन्न भनेर थाहा हुन्छ। हामी मानिससँग त बोल्न सक्ने क्षमता पनि छ।

अहिले अधिकांश मानिस शिक्षित छन् । बोल्न नसक्ने वा अशिक्षित पशुले त कुन काम गलत र कुन कम सही भनेर छुट्याउन सक्छ भने हामीले त झनै बुझ्नुपर्ने हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री भए । त्यतिबेला अर्थमन्त्री विष्णु पौडेल भएका थिए ।

०७९ फागुल्न १७ गते एमाले प्रचण्ड सरकारबाट बाहिरियो । त्यसपछि पौडेलको पनि अर्थमन्त्री पद गुम्यो । अहिले विष्णु पौडेल पुनः अर्थमन्त्री बनेका छन् । गत असार ३१ गते मात्र गठन भएको नयाँ सरकार उनी अर्थमन्त्री बनेका हुन् । काँग्रेस–एमालेले मिलेर नयाँ सरकार गठन गरेका हुन् । एमाले अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री बनेका छन् ।

तर, कानून व्यवसायीहरुले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन नगरिएको भन्दै सर्वोच्च अदालतमा समेत रिट दर्ता गरिसकेका छन् । सर्वसाधारण भन्छन्, ‘ओली सरकार बढीमा दश दिन टिक्छ । अदालतले हटाइदिन्छ ।’ पहिला पनि अदालतकै कारण ओलीको प्रधानमन्त्री पद गएको थियो ।

०७८ असार २८ गते सर्वोच्च अदालतले दुई पटक संसद विघटन गरेका ओलीको प्रधानमन्त्री पद खोसिदिएको थियो । यदि अब सर्वोच्च अदालतले ओलीकै पक्षमा फैसला सुनाएपनि अहिले आम नागरिक भन्छन्, ‘यो सरकार सय दिनभन्दा उता टिक्दैन ।’ बच्चादेखि बुढासम्मलाई थाहा छ कि काँग्रेस–एमाले आफ्ना काण्ड लुकाउन मिलेका हुन् ।

झापाको गिरिबन्धु टु स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गर्ने ओली नै हुन् । यसअघि प्रधानमन्त्री हुँदा उनले मन्त्रिपरिषद्मार्फत नै यस्तो निर्णय गरेर राज्यलाई हानिनोक्सानी वा सरकारी सम्पत्तिको दोहन गरे । यता, काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको पनि नक्कली भुटार्नी शरणार्थी प्रकरणमा संलग्नता छ भन्ने कुरा प्रष्ट भइसकेको छ ।

त्यसैले, ओलीले आफु बच्न र देउवाले पत्नी जोगाउन सहमति गरेका हुन् । बजारमा पूरै मन्दी छ । बैंकमा कर्जा माग्न जाने कोही छैन । बैंक टाट पल्टिसकेको छ । सहकारी, लघुवित्त, फाइनान्सहरु पनि सबै भागिसकेका छन् । घरजग्गा, गाडीको किनबेचमा खडेरी नै आएको छ । केही वर्षअघि मात्र करोडमा किनेको घरजग्गा अहिले लाखमा बिक्री हुन्न । लाखमा किनिएको सवारीसाधन पनि बीस–तीस हजारमा समेत बिक्री हुँदैनन् । अहिले नयाँ होस् या पुरानो जुनसुकै सवारीसाधनको किनबेचमा मन्दी छ ।

काठमाडौं उपत्यकासहित देशभर घरहरु खाली हुँदै गएका छन् । जताततै कोठा, सटर र फ्ल्याट खाली भएका छन् । भाडामा बस्नेभन्दा अहिले टुप्लेट लेखिएको बढी भेटिन्छ । यता, व्यापार व्यवसाय पनि पूरै मन्दीमा छ । व्यापारीहरु पलायन हुन थालेका छन् । हुन पनि त हो दिनभर एउटै पनि ग्राहक नआएपछि कसरी सटर भाडा तिर्ने ? कसरी जीविकोपार्जन गर्ने ?

अहिले अधिकांश व्यापारी विदेश पलायन भएका छन् । धेरैले ऋण तिर्न नसकेर आत्महत्या गरेका छन् । कतिपय देशै छोडेर भागेका छन् । बैंक, सहकारी, लघुवित्त, फाइनान्सले पनि सर्वसाधारणको उत्तिकै बिजोग बनाएको छ । बैंकमा बचतकर्ता राखेको पैसा कर्मचारीहरुले खाताबाटै चोरिएको घटना बाहिरिएका छन् । सहकारीमा करोडौं बचतकर्ताले खर्बौ रकम राखेका थिए ।

तर, सहकारीका सञ्चालकहरु बचतकर्ताको रकम लिएर रातारात फरार भएका छन् । अहिले ती बचतकर्ताहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । हिजो खाइनखाई, घरजग्गा बेचेर, जीवनभर कमाएको पैसा सहकारीमा राखेका ती बचतकर्ता आज सहकारीकै कारण डिप्रेशनमा गएका छन् । कतिपयले त आत्महत्या गरेको पनि सुनिन्छ । यता, दलालीहरुले सेयरमा पनि ठुलो चलखेल गरे ।

बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले मूल्य बढाएर ३५ सयमा बेचे । रोपनीको दश हजारमा बिक्री नहुने खेतीयोग्य जमिन समेत खण्डीकरण गरेर आनाकै ६०–७० लाखमा बेचिदिए । गाडीमा एक लाखमा पाइने सवारीसाधन पनि यहाँ लाखदेखि करोडमा बेचियो । बजार चलायमान हुँदा सबैले सबैलाई ठगे ।

घरधनीहरुले एउटा सानो चिसो र अध्याँरो कोठाको ठाउँअनुसार पाँच हजारदेखि २० हजारसम्म लिए । एउटा सटरको २५ हजारदेखि १८ लाख, एक फ्ल्याटको ३० हजारदेखि दुई लाख असुले । खाली सटर त झन् २० लाखदेखि ५० लाखसम्म किनबेच गरियो । अहिले विष्णु पौडेल अर्थमन्त्री हुनासाथ सेयर बजार तातिएको छ । तर, उनी न कुनै अर्थविद् हुन् न त सेयर व्यापारी । उनी एमालेमा संलग्न एक साधारण व्यक्ति मात्र हुन् ।

एमाले सरकारबाट बाहिरिएसँगै उनको पनि अर्थमन्त्री पद गुम्नेछ । अनि अहिले महंगोमा सेयर किन्ने सर्वसाधारण फेरि पनि डुब्नेछन् । बैंक, बीमा र हाइड्रोपावर कम्पनी घाटामा गएका छन् । सेयरमा लगानी गर्ने नै यी तीन संस्था हुन् । फेरि यीनीहरु नै घाटामा गएपछि कसरी सेयरको मूल्य बढ्छ ?

अहिले सेयर दलालीहरुले विष्णु पौडेलको नाम फिँजाएर महंगोमा सेयर किन्न लगाई पुनः आम नागरिक फसाउने रणनीति बनाएका छन् । त्यसैले, अब सर्वसाधारण फस्नु हुन्न । यसअघि पनि यीनीहरुले यसरी नै सर्वसाधारण डुबाए । घरखेत नै बेचेर सेयरमा लगानी गरेका सर्वसाधारणहरु डुबेपछि आत्महत्या गर्नुपर्ने अवस्थामा समेत पुगे ।

बुढोपाकाले भन्थे, ‘कि पढेर जान्नुपर्छ कि परेर जान्नुपर्छ ।’ केही वर्षअघि संघीय संसद भवनअगाडि एक व्यक्तिले आत्मदहन गरे । व्यापारव्यवसायमा डुबेपछि उनले संसद भवनअगाडि नै आफुमाथि पेट्रोल खन्याएर आगो लगाए । नेपालमा उद्योग, कलकारखाना केही छैन । त्यसैले, सेयरको मूल्य बढ्ने कुनै आधार छैन ।

तर, सेयर दलालीहरुले अहिले पौडेल अर्थमन्त्री हुनासाथ हवात्तै मूल्य बढाएका छन् । सेयरमा निश्चित ठुला व्यक्तिको लगानी छ । उनीहरुले हल्ला फिँजाएर जुनसुकै बेला पनि सेयरको मूल्य बढाउँछन् अनि महंगोमा सेयर किन्न लगाएर सर्वसाधारण फसाउँछन् । हामी मानिस पनि आफुलाई शिक्षित भन्छौं । यद्यपि, हामीसँग कुनै कुरा ठिक र कुन बेठिक भनेर छुट्याउन सक्ने क्षमता छैन ।

केही वर्षअघि पनि सेयरको मूल्य हवात्तै बढेको थियो । दलालीहरुले सय रुपैयाँको सेयर ३५ सय रुपैयाँमा सर्वसाधारणलाई बेचियो । फेरि सर्वसाधारणले त्यो सेयर किन्नासाथ सेयरको मूल्य हवात्तै घट्यो । ३५ सयको सेयर सय रुपैयाँमा बिक्री नहुने अवस्था निम्तियो । यँही कारणले कतिपयले त आत्महत्या समेत गरे ।

किनकि उनीहरुले आफ्नो घरजग्गा, गाडी, पुख्र्यौली सम्पत्ति बेचेर वा जीवनभर कमाएको करोडौं रकम सेयरमा लगानी गरेका थिए । सेयरमा लगानी गर्दा सर्वसाधारणलाई कुनै फाइदा छैन । सेयर भनेको जुवा हो । यसमा दलालीहरुले कब्जा जमाउँदै आएका छन् । उनीहरु आफु सस्तोमा सेयर किन्छन् अनि बजार तताएर महँगोमा बेच्छन् ।

फेरि सर्वसाधारण बेच्न बेला भने सेयरको मूल्यमा गिरावट ल्याइदिन्छन् । त्यसैले, अब आम नागरिक सचेत हुन जरुरी छ । जथाभावी सेयरमा लगानी गर्नुहुन्न । दलालीहरुको लहैंलहैंमा नलगौं । किनकि बैंक, वित्तिय संस्थाहरु घाटामा गइसकेका छन् । अझै पनि सर्वसाधारण सचेत नहुने हो भने अहिले महंगोमा सेयर किन्ने जनता केही महिनामै पासो लगाउनुपर्ने अवस्थामा पुग्नेछन् ।