प्रचण्डको चकचकले एमाले र कांग्रेसको सरकार बन्यो: महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चकचकका कारण एमाले र कांग्रेसले मिलेर सरकार बनाउनुपर्ने परिस्थिति निर्माण भएको बताएका छन्।

शनिबार विपि कोइराला र वर्तमान राष्ट्रिय राजनीति विषयक विचार गोष्ठीमा महामन्त्री थापाले सबैलाई सँधैभरी झुक्याउन सक्छु भन्ने भ्रम पुष्पकमल दाहाल प्रचण्डले नपालेको भए अहिले सरकार बदलिएर नयाँ सरकार बन्ने परस्थिति निर्माण नहुने बताएका हुन्।

कांग्रेस आगामी निर्वाचनसम्म प्रतिपक्षमा जाने र जनताका मुद्दाहरूलाई बुलन्द गरेर ०८४ को चुनाव एक्लै लड्ने रणनीतिमा रहेको बताए।

‘माओवादी अध्यक्ष प्रचण्डको चकचकका कारण यो परिस्थिति निर्माण भयो। यो परिस्थितिमा कांग्रेस र एमालेको बीचमा एउटा साझेदारी निर्माण भयो। अब किन भयो र के चाहन्थ्यो भन्नेबारेको चरण पनि सकियो,’ महामन्त्री थापाले भने।

उनले कांग्रेस एमालेले किन मिलेर सरकार चलाउने सहमति गर्‍यो भन्ने कुराको पुष्टि कामबाट हुनुपर्ने पनि बताए।साथै सहमतिमा के थियो भन्ने विषय प्रधानमन्त्री केपी शर्मा ओली आफैले सार्वजनिक गर्नुपर्ने थापाको भनाइ छ।

‘भोलि संसदमा विश्वासको मत लिँदा वा राष्ट्रका नाममा सम्बोधन गर्दा प्रधानमन्त्री ओलीले कांग्रेस एमालेबीच भएको सहमतिको सात बुँदा पढेर सुनाउनुपर्छ,’ उनले भने।कांग्रेसले यसअघि नै सहमतिको बुँदाहरू पढेको र सोही आधारमा पार्टीभित्र निर्णय भएको महामन्त्री थापाले बताए।

मर्यादा राखेर प्रधानमन्त्रीबाटै सार्वजनिक होस् भन्ने हिसाबले र त्यो विषय प्रधानमन्त्रीको जिम्म्वारी र अवसर पनि रहेको थापाले बताए।

कांग्रेस र एमालेको सहकार्यमा सरकार बनेपछि स्थिरता दिनुपर्ने र त्यो स्थिरताको प्रत्याभूति जनताले गर्नुपर्ने महामन्त्री थापाले बताए।स्थिरताको लाभ सुशासन र अर्थतन्त्रमा प्राप्त हुनुपर्ने उनको भनाइ छ।

तर स्थिरता दिने भनेर एउटा चरणसम्म एमाले अध्यक्षको नेतृत्वमा र अर्को चरणमा कांग्रेस सभापति नेतृत्वमा सरकार बनाउने भन्ने सहमतिमा संशय पनि रहने उनले बताए।

‘सबैको मनमा संशय छ। भोलि भनेको बेलामा छोड्छ त, ठ्याक्कै हुन्छ त भन्ने सबैको मनमा छ। संसदमा टेबल ठटाउँदै गरेकालाई पनि भित्र भित्रै भोलि के हुने भन्ने संशय हुँदोरहेछ,’ महामन्त्री थापाले भने।उनले हस्ताक्षर गर्नेमा पनि अविश्वास रहेको बताए।

‘हप्ता दुई हप्तामा सानो कुरामा प्रचण्डले हामी ठीक छौं भन्नुपर्ने परिस्थिति पनि त्यसकारण नै बनेको थियो। पहिलो कुरा अहिलेको सरकार र त्यसमा रहेका दलहरू यी सबै संशयबाट मुक्त हुनुपर्छ, उनले भने।

उनले कांग्रेसका कारण एमालेसँग भएको लिखित सहमति तलमाथी नहुने प्रतिबद्धता व्यक्त गरे। जे लिखित समझदारी गरेको छ त्यसमा कांग्रेसले तलमाथि गर्दैन। यस्तै अपेक्षा एमालेबाट पनि गर्छौं। दल र नेताहरूप्रतिको विश्वसनीयता ठूलो परीक्षामा छ,उनले भने।