दर्शन :द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको ऐतिहासिक कार्यभार 

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो। अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद मार्क्सवादी दर्शनको हो। वैज्ञानिक साम्यवादका सिध्दान्तकार,सर्वहारा वर्गको मुक्तिको सिध्दान्त मार्क्सवादका प्रवर्तक तथा दार्शनिक कार्ल मार्क्स (सन १८१८- १८८३) द्वारा अण्वेशन गरिएको हो।

सिंगो मानव जातिको मुक्तिका लागि द्वन्द्ववाद तथा ऐतिहासिक भौतिकवादीी दर्शनका निश्चित विशिष्ट र बहुविध ऐतिहासिक कार्यभार रहेका छन्। ती ऐतिहासिक कार्यभारहरु के के हुन् भन्नेबारेमा यसप्रकार प्रस्तुत गर्न सकिन्छ: 

(१) वर्गसंघर्ष सहितको सिंगो सामाजिक क्रान्ति ( आमूल परिवर्तन ) का समस्याहरुको अध्ययन र समाधानको विषय : 
 
यो विषय समाजमा विद्यमान जनता र दुश्मन वर्गबीचका अन्तर्विरोधहरुलाई ठिक ढंगले बुझ्ने र तिनको वैज्ञानिक तरिकाले समाधान गर्ने विषय हो। यो विषय नयाँ जनवादी , वैज्ञानिक समाजवादी तथा सिंगो सामाजिक क्रान्ति सम्पन्न गर्ने कामसंग सम्बन्धित रहेको।
 
(२) दुईलाइन संघर्षलाई बुझ्ने र त्यसका समाधान गर्ने विषय : 
   
यो  विषय कम्युनिस्ट पार्टी भित्र चल्ने दुईलाइन संघर्षलाई ठिक बुझ्ने र त्यसको सही ( मार्क्सवादी ) ढंगले समाधान गर्ने विषय हो। यो विषय कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी बनाउँदै त्यसको नेतृत्वमा सामाजिक क्रान्तिलाई सचेत तथा प्रभावकारी ढंगले अगाडि बढाउने विषय हो।
 
(३) दर्शनलाई जनतामा पुर्याउने जनतामा विद्यमान सिर्जनात्मक उर्जाको उद्घाटन गर्ने विषय :
 
यो विषय जनतालाई प्रशिक्षित तुल्याउने , सिंगो जनसमुदायको सहभागीतनमा सामाजिक क्रान्ति सम्पन्न गर्ने र जनताका समग्र उत्पादनमूलक सामाजिक तथा चिन्तनमूलक गतिविधिहरुलाई योजनाबध्द रुपमा संगठित तुल्याउँदै अगाडि बढाउने विषय हो ।
 
(४) अध्ययन र अनुसन्धानको विषय :
         
यो प्राकृति विज्ञान र सामाजिक विज्ञानका विविध क्षेत्रहरुमा गरिने अध्ययन र अनुसन्धानका कामहरुमा मार्क्सवादी दर्शनका विधिलाई सही ढंगले प्रयोग गर्ने र त्यसका आधारमा विज्ञानसम्मत निष्कर्ष निकाल्ने विषयसंग सम्बन्धित विषय हो।
 
आज हामीले देखिरहेका छौं कि समाजशास्त्र , मानविकी र संस्कृत सहित ज्ञान – विज्ञानका विविध क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विधिलाई लत्याउदै अधिभूतवादी तथा आदर्शवादी विश्वदृष्टिकोणका आधारमा अध्ययन गरि अवैज्ञानिक निष्कर्षमा पुग्ने प्रक्रिया अगाडि बढाइदै छ।
 
यसप्रकारको अवस्थामा सच्चा क्रान्तिकारी मार्क्सवादी – लेनिनवादी – माओवादीहरुले यसप्रकारको अध्ययन विधिको सशक्त रुपमा विरोध र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विधिलाई दृढताका साथ अलम्बन गर्न आवश्यक छ भन्ने वैज्ञानिक ज्ञान प्रदान गर्नु हो।
 
(५) दिशाबोधको विषय :
       
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले कुनै पनि वस्तु र प्रक्रियालाई स्थिर वा शाश्वत मान्दैन तिनलाई गति ,विकास र परिवर्तनको अवस्थामा हेर्दछ। यस दर्शनले जीवनशील र मरणशील। नवीन र पुरातन तथा उत्पीडित र उत्पीडक शक्ति एवं वर्गका बीचको अन्तर्विरोधलाई सजीव रुपमा प्रस्तुत गर्दै समाज विकासको ऐतिहासिक विकासलाई राम्रोसँग ठम्याउँने गर्दछ र यो प्रक्रियामा सामन्तवाद,पुँजीवाद एवं साम्राज्यवाद सहित सबैखाले प्रतिक्रियावाद तथा उत्पीडक वर्ग विनाश  एवम् पराजय र उत्पीडित जनसमुदाय सहित सर्वहारा वर्ग,नयाँ जनवाद,वैज्ञानिक समाजवाद एवं वैज्ञानिक साम्यवादसम्मको विजयको दिशातर्फ अगाडि बढाइरहन्छ भन्ने कुरालाई राम्रोसँग दर्शाउँछ। द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन क्रान्तिकारी र आलोचनात्मक दुबै हुनुको साथसाथै वैज्ञानिक र आशावादी समेत रहेको छ ।
 
(६) सिंगो विश्वलाई बुझ्ने र बदल्ने विषय : 
         
यो विषय प्रकृतिजगत , मानव समाज र चिन्तनको क्षेत्रमा विद्यमान अन्तर्विरोधहरुलाई ठिकसंग बुझ्ने र तिनलाई सिंगो मानव जातिको हित अनुकूल बदल्ने विषय हो।
    सच्चा क्रान्तिकारी मार्क्सवादी – लेनिनवादी – माओवादीहरुले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका यस प्रकारका कार्यभारहरुलाई आत्मसात गरि सिंगो विश्व र आफैंलाई बदल्दै अगाडि बढ्नेे महान् ऐतिहासिक अभियानमा संलग्न बन्नु नै मुख्य कर्तव्य हुन आउँछ।
 
क्रान्तिकारी मालेमावादीहरुले सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदाय र अन्ततः सिंगो मानव जातिकैै सुन्दर , सुसंगत तथा उदात्त प्रकारको नयाँ संसार निर्माण गर्न चाहन्छन् ।नयाँ संसार निर्माण संभव छ , त्यो नयाँ संसार भनेको वर्गबिहीन , राज्यबिहीन वैज्ञानिक साम्यवाद नै हो । अत: यही नै हो  द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको ऐतिहासिक कार्यभार।
 
( लेखक :बरिष्ठ मार्क्सवादी चिन्तक,लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ )।