मानिसमा हराउँदै गएको मानवताः देश बेच्नेको गुलामी,सडकमा माग्नेमाथि अवहेलना

पछिल्लो समय सार्वजनिक सवारीसाधनमा पाकेटमार, घर तथा कार्यालयमा चोरी गर्ने तथा बाटोमा माग्नेको संख्या ह्वात्तै बढेको छ। अहिले माग्नेहरु घर तथा पसलमा समेत आउने गरेका छन्। दिनहुँ दशदेखि २० जनासम्म माग्न मानिसहरु आउने व्यापारी तथा घरधनीहरु बताउँछन्। यता, बाटो, मठमन्दिर, पुलहरुमा पनि माग्ने मानिसहरु यत्तिकै भेटिन्छन्।

अहिले मृगौला पीडित, क्यान्सर रोगीलगायत अन्य रोगका बिरामीहरु उपचारका लागि सहयोग माग्दै घरघरमा आइपुग्छन्। बच्चादेखि बुढाबुढी वा वयस्क व्यक्ति समेत माग्न हिडिँरहेको देखिन्छ। कतिपय व्यापारी भन्छन्, ‘हाम्रै त दिनभर व्यापार हुँदैन अनि उनीहरुलाई कसरी सहयोगगर्नु। घरधनीहरु त माग्ने मान्छे आउनासाथ ढोका लगाउँछन्।

नसुनेकोझैं कोठाभित्र बस्छन्। यता,कोठामा बस्ने आफैं बेरोजगार छन्, काम गरेपनि तलब पाएको छैन अनि कसरी दिनु ? मुलुकमा रोजगारी छैन। पढेलेखेकादेखि नपढेका सबै युवा बेरोजगार छन्। रोजगारीका लागि दिनरात भौतारिँदा पनि काम नपाएपछि कतिपय युवा त डिप्रेशनमा गएका छन्। कतिपयले आत्महत्या गरेको पनि सुनिन्छ।

जनता खाना पाइएन वा उपचारका लागि सहयोग माग्दै बाटो, मठमन्दिर, घर, पसलहरुमा मागिरहँदा वा बेरोजगारीका कारण आत्महत्याको बाटो रोज्न बाध्य हुँदा सरकारलाई केही मतलब छैन। घरबाट बाहिर निस्किनेबित्तिकै जताततै माग्ने देखिन्छन्। माग्नेको बढ्दो संख्याले देश नै माग्ने भएको अवस्थाको समेत चित्रण गरेको छ। हुन पनि त हो नेपाल कंगाल भइसकेको छ।

मठमन्दिर, पुल वा बाटोमा बुढाबुढी, बच्चा, महिलाहरु भुइँमा कचौरा, प्लास्टिक राखेर वा हात थापेर बसिरहेका हुन्छन्। उनीहरुलाई देखेपछि दया हुनेले आफुसँग भएको केही रकम वा वस्तु सहयोग गर्छन् भने कोही भने देखेपनि नदेखेझैं हिँड्छन्। अर्कोतर्फ, कोहीलाई सहयोग गर्ने मन भएपनि पैसा हुँदैन। अनि उनीहरुले चाहेर पनि सहयोग गर्न पाउदैनन्।

आम नागरिकले त यी गरिबका लागि केही भएपनि गरिरहेका छन् । तर, सरकार कहाँ छ ? माग्ने मानिसहरुको बढ्दो संख्या देखेर अहिले कयौं जनताको मनमा प्रश्न उठ्न थालेको छ, ‘नेपालमा सरकार पनि छ र ?’ भनिन्छ कि बलेको आगो सबैले ताप्छ निभेको आगो कसैले ताप्दैन । अहिले बाटोमा माग्ने मान्छे देख्नेबित्तिकै कतिपय भाग्छन् ।

माग्ने मान्छेसँग बोल्न कतिपयलाई लाज लाग्ने वा आफ्नो इज्जत जाने चिन्ता हुने गरेको छ । त्यसैले, मानिसहरु माग्नेको छेउमा समेत पर्दैनन् । बाटोमा माग्नुपर्ने अवस्थामा पुगेका ती मानिसहरुलाई कसैले पनि तपाईँ यहाँ कसरी आइपुग्नु भयो ? भनेर सोध्दैन । माग्ने मान्छे देख्नासाथ मानिसहरु आफ्नो बाटो परिवर्तन गर्छन् वा देखे नि नदेखेझैं हिँड्छन् ।

अहिले मानवता हराउँदै गएको छ । दुःख पीडितलाई सहयोग गर्नुपर्छ र उनीहरुलाई समस्या बुझ्नुपर्छ भन्ने सोचाई प्राय कमै व्यक्तिमा मात्र देखिन्छ । आफ्लाई फाइदा हुने भएमा मानिस जुनसुकै काम गर्न तयार हुन्छन् । माग्ने मान्छेको प्रयोग गरेर कतिपय चर्चित पनि बनेको पाइन्छ ।

सामाजिक सञ्जालहरुमा माग्नेको भिडियो हाल्ने अनि सहयोगस्वरुप उठाएको रकम आफैंले खानेको पनि यहाँ कमी छैन । नेपालमा करोडदेखि अर्ब पर्ने घरमा मानिसहरु बस्छन् । करोडौंको चिल्लो गाडीमा चढ्छन् । लाखौं मूल्यको मोबाइल बोक्छन् । कालोचस्मा लगाउँछन् । र, दिनहुँ कपडा फेर्छन् । रोचक कुरा त आफ्नो घरमा कुकुर पाल्छन् ।

अनि सार्वजनिक बाटोमा ल्याएर दिसापिसाब गराउँछन् । ठुला महलमा बसेकासँग पैसा त थुप्रै हुन्छ तर मानवता हुन्न । अहिले गरिबको झुपडीमा माग्न गएमा पाइन्छ तर ठुला घरमा माग्न गएमा रित्तै फर्किनुपर्छ । माग्ने मान्छे आएको थाहा पाएपछि ठुलाबडाहरु घरको गेट नै खोल्दैनन् । बाटोमा समेत माग्ने देख्नासाथ नदेखेझैं हिँड्छन्।

दिन गएपछि रात आउँछ र रात गएपछि दिन आउँछ । मानिस सधैं एउटै परिस्थिति वा अवस्थामा मात्र रहँदैन । मेहेनतअनुसार गरिब धनी बन्न सक्छ भने घमण्डका कारण धनी गरिब पनि बन्न सक्छ । अहिले बाटोमा माग्न बसेका अधिकांश भन्छन्, ‘बैंकले घरजग्गा सबै खाइदियो । त्यसैले, हामी माग्ने अवस्थामा पुगेका हौं ।

अर्कोतर्फ, व्यापारव्यवसायमा गरेको लगानी डुब्दा, सहकारी, लघुवित्त, फाइनान्समा राखेको रकम डुब्दा, घरपरिवारले निकालदिँदा वा अभिभावक नै नभएकोले माग्न बस्नु परेको बताउँछन् । बाटोमा बस्ने अधिकांशसँग नागरिकता वा जन्मदर्ता छैन। त्यसैले, उनीहरु राज्यबाट उपलब्ध हुने सेवासुविधाबाट समेत वञ्चित भएका छन्।

वर्तमान सरकारमा नेकपा एमालेका अधयक्ष केपीशर्मा ओली प्रधानमन्त्री छन् । उनको पृष्ठभूमि केलाउने हो भने उनी तेह्रथुममा एक गरिब परिवारमा जन्मिएका हुन्। यसअघि पनि प्रधानमन्त्री भइसकेका उनको जनताले तिरेको करबाट अर्बौ खर्चिएर दुई वटै मृगौला फेरिएको छ ।

जनताले तिरेको करबाट ओलीको मृगौला फेरिँदा कर तिर्ने जनता भने आज उपचारका लागि सहयोग माग्दै बाटोमा माग्नु परिरहेको छ । आफुले राजनीतिक परिवर्तनका लागि वर्षौ जेल जीवन कटाएको दाबी ओलीले गर्दै आएका छन् । तर, उनले कर्तव्य ज्यान मुद्दा अर्थात् मान्छे मारेर १४ वर्ष जेल जीवन बिताएका हुन् ।

अहिले ओलीको बालकोटमा आफ्नै आलिशान घर छ । झापा, तेह्रथुममा पनि उनको घर रहेको बताइन्छ । यता, विदेशी बैंकमा अर्बौ रकम रहेको पनि सुनिन्छ । यसरी नेताहरुले देश र जनताको सेवा गर्छु भन्दै अर्बौ भ्रष्टाचार गरेका छन् । आफ्ना दश पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन् । तर, जनता भने उपचारका लागि वा खाना नपाएर माग्न हिँडिरहनु परेको छ ।

सरकारी कर्मचारी र जनप्रतिनिधिहरु जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । पोशाक लगाउँछन् । चिल्लो सरकारी गाडी चढ्छन् । काम केही गर्दैनन् तर तलबसुविधा बढाउनुपर्ने भन्दै आन्दोलन गर्छन् । यहाँ सरकारी सेवामा पियुनमा जागिर खाएकाले समेत काठमाडौंमा जग्गा किनेर घर बनाएका छन् । कर्मचारीहरु जनताको सेवाभन्दा भ्रष्टाचारमा व्यस्त छन् ।

अनि जनताले कसरी पाउनु सेवा ? जनता कर तिर्दा तिर्दै वाक्कदिक्क भइसकेका छन् । जनताले प्रयोग गर्ने हरेक वस्तुमा सरकार कर लगाउँछ । करका कारण जनता सामान किनेर खान नसक्ने अवस्थामा पुगेका छन् । रोजगारी हुनेले त चर्को कर तिरेर भएपनि खालान् तर बेरोजगार के गर्ने ? उनीहरु सडकमै माग्न जानुपर्ने त होला नि होइन र सरकार ?

अहिले बाटोमा माग्नेहरु समेत नेताहरु सबै चोर दलाल हुन् भन्छन् । केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमाार नेपाल सबै देश बेच्न दलाल हुन् भनेर माग्ने मान्छे समेत भन्छन् । हुन पनि त हो राजनीतिक दलका नेता र सरकारी कर्मचारीले नेपाल धितो राखेर विदेशीसँग २७ खर्ब ऋण लिइसकेका छन् ।

प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । नेताहरुले भ्रष्टाचार गरेर वा देश बेचेर खाइरहेका छन् । तर, बाटोमा माग्ने केही दिए खान्छन् नभए भोकै सुत्छन् । उनीहरु आफ्नो मातृभूमिलाई हानि पुग्ने कामबारे सोच्दा पनि सोच्दैनन् । अनि माग्ने मान्छे राष्ट्रभक्त हुन् कि नेता र कर्मचारी ? सर्वसाधारणले पनि अब सडकमा बस्ने हो भनेर हेला नगरौं र नेता हो भनेर गुलामी नगरौं ।

सडकमा माग्नेले मागेर खाएका छन्, उनीहरुले देशलाई त हानी पुर्याउने केही गरेका छैनन् नि । तर, नेताहरुका कारण आज नेपाल नै नरहने अवस्थामा पुगिसक्यो । विदेशी ऋणले मुलुक च्यापिएको छ । मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको छ । यो सबै गर्ने नेता नै हुन् । तैपनि, हामी जनता नेताकै गुलामी गछौं । तपाईँ, हजुर भन्छौं । अनि देश बेच्नेको गुलामी किन ?

आफ्नो मातृभूमिको सुरक्षा गर्नेमाथि हामी हेला गछौं । किनकि ऊ गरिब छ । अनि नेता धनी र पहुँचवाला छ भन्दै उसले जस्तोसुकै नराम्रो काम गरेपनि गुलामी गर्ने । जनताले अब आफ्नो सोच परिवर्तन गर्न आवश्यक छ । नेताको गुलामी गर्ने होइन । मानिस भएर जन्मिन सजिलो छ तर असर मानव हुन निकै गाह्रो छ।

पदमा पुगेर मात्र केही हुँदैन । त्यसैले, अब हामी जनता पनि मानवता जाग्नुपर्छ । सडकमा बस्ने हो भन्दैमा अवहेलना नगरौं । बरु, सक्छौं भने आफ्नो मातृभूमि बेचेर खानेलाई लखेटौं ।