राज्यको ढुकुटीमा ‘खेलोफड्को’ गर्नेहरुलाई सम्मान,जनताको हितमा काम गर्नेहरुको सँधै अपमान

सर्वसाधारण प्रश्न गर्छन्,‘नागरिक समाज, विद्यार्थी संगठनका नेता, सामाजिक अभियन्ताहरु कुन दुलोमा लुके ?हुन त नागरिक समाज, विद्यार्थी संगठनका नेता र सामाजिक अभियन्ता राजनीतिक दलकै झोले हुन्। आफ्नो पार्टीका नेताको विरोधमा यिनीहरुले चुइक्क आवाज निकाल्न सक्दैनन्।

व्यापारीहरुको ठगीधन्दा,कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने दम यिनीहरुमा छैन्। नेताहरुले देश बेचिसकें । धमाधम विदेशीबाट पैसा ल्याएर नेताहरुले मोजमस्ती गरिरहेका छन्। यता,महँगीले जनताको ढाड सेकिएको छ।तर, नागरिक समाज,विद्यार्थी संगठनका नेता र सामाजिक अभियन्ता भनाउँदाहरु कता छन्? कुनै अत्तोपत्तो छैन्।

देश धितो राखेर नेताहरुले झण्डै २५ खर्ब रुपैयाँ विदेशीबाट ल्याइसकेका छन् । ल्याउने क्रम जारी नै छ । २०४६ सालभन्दा अगाडि सरकारले कुनै सामानमा एक रुपैयाँ मात्र बढायो भने पनि यहाँ चर्को आन्दोलन हुन्थ्यो । नागरिक समाज, विद्यार्थी संगठन र सामाजिक अभियन्ताहरु सडकमा आउथें ।

टायर बाल्थें, विरोध जनाउथें । बढेको मँहगी फिर्ता लिन सरकारलाई बाध्य बनाएरै छाड्थें । तर, अहिले त सबै राजनीतिक दलका झोले भए । त्यसैले त राजनीतिक दलले देश बेच्न लागिसक्दासमेत खबरदारी नगरेका हुन् । जनताले दुईटा कुराको खोजी कहिल्यै गरेनन् । पहिलोः आफूले तिरेको कर कहाँ गयो ?

दोस्रोः विदेशीबाट ल्याएको खर्बौं रुपैयाँको के गरियो ? नेताले जेसुक गरेपनि जनता मौन बस्छन् । जसको फाइदा नेताहरुले उठाएका हुन् । हुन त जनता पनि आफ्नो व्यक्तिगत स्वार्थमा रमाएका छन् । कसैलाई छोराछोरीको सरकारी जागिरका लागि नेताहरुको लबिङ्ग गर्दै ठिक्क छ ।

कोही राजनीतिक पार्टीको झोले बन्न पाउँदा मख्ख छन् । कसैलाई आफ्नो सन्तान विदेश पठाएर व्याकग्राउण्ड बनाउनु छ । देशको बारेमा कोही सोच्दै सोचेन् । देश तहसनहस पारेपछि श्रीलंकाका जनता केही वर्षअगाडि सडकमा आए । राजनीतिक दलहरु नै भाग्नुपर्यो । बंगलादेशमा हालैमात्र पनि सरकारको निर्णयको चर्को विरोध भयो ।

सो निर्णय त्यहाँको सर्वोच्च अदालतले बदर गरिदियो । जनतामा कति दम हुन्छ ? जनता कति शक्तिशाली हुन्छन् ? भन्ने त यी दुई घटनाले देखाउँछ । तर, यहाँ त जनताले नै नेतालाई खुल्ला छोडिदिएका छन् । जे गर्न मनलाग्छ त्यही गर भनेपछि नेताहरुको हौसला बढिहाल्छ नि ।

राजनीतिक दलले २००७, २०३६, २०४६ र २०६२–६३ सालमा आन्दोलन गरे । त्यतिबेला राजनीतिक दलहरुले राजा र पञ्चायती व्यवस्थाले देश सकाइयो, बर्बाद बनाइयो, देश विदेशीलाई जिम्मा लगाइने भो भनेर जनता उचाले । सर्वसाधारणले पनि ‘होला‘ भन्ठाने । सडक संघर्ष गरे ।

तर, राजनीतिक दलको दाउ त बेग्लै रहेछ । आफू सत्तामा पुगेर राज्यको ढुकुटीलाई दुहुनो गाईं बनाउन आन्दोलन गरिएको त प्रष्टै भएको छ । २०४६ सालपछि मुलुकमा विदेशी हस्तक्षेप बढ्यो, ऋण बढ्यो । भारत र चीनले धेरै नेपालको भूभाग मिचिसकेका छन् । विदेशी ऋण २५ खर्ब पुगिसकेको छ ।

अब त जनताले बुझ्नुपर्यो कि हिजो आन्दोलन किन गरिएको रहेछ ? राजनीतिक दलको उद्देश्य के रहेछ ? यो त देखि नै सक्यो । २०४६ सालअघि नेपालीहरु कुनैपनि देशमा श्रम गर्न जाँदैन्थे । पासपोर्ट बनाएर श्रमका लागि विदेश जाने चलन थिएन् । पढ्नलाई चाँहि जान्थें ।

कामका लागि भारत जाने गरिन्थ्यो । नभए सबैलाई आफ्नो खेतीपातीले पुगेको थियो । अहिले वार्षिक सात लाख नेपाली विदेशिन्छन् । पुरुष मात्र नभई महिला पनि वैदेशिक रोजगारीका लागि जान थालेका छन् । विदेशमा नेपालीले रगतपसिना बगाएर पठाएको रेमिट्यान्स खोइ ?

नेता र सरकारी कर्मचारीले मोजमस्ती गरेका होइनन् ? नेपालीहरु बाकसमा फर्किरहेका छन् । तर, सरकारलाई कुनै मतलब नै छैन् । रेमिट्यान्स पाए भयो । नेताहरु देशमा विकास भयो भन्छन् । जतिबेला पनि विकासको नारा लगाउँछ । तर, विकास के हो ? नेताले बुझेका छन् ? कहाँ भएको छ विकास ? यो देखाउनुपर्यो ।

आज पनि कतिपय ठाउँमा बाटो पुगेको छैन् । पुल नहुँदा केही समयअघि दैलेखको झोलुङ्गे पुलमा खच्चड अड्किए । उद्धार गर्न ढिलो हुँदा कति खच्चडको ज्यान पनि गयो । केपी शर्मा ओलीको गृहजिल्लामा भ्यूटावर बन्दैमा विकास हुने हो ? सरकारले काठमाडौंलाई हेरेर विकासको नारा घन्काइरहेको छ ।

तर, राजधानीमा पनि के विकास भएको छ ? घरैघरको शहर बनेको छ । अस्तव्यस्त र दुर्गन्धित छ । योपनि विकास ? विकास हुनलाई त पहिले सरकारसँग योजना हुनुपर्छ । उद्योग, कलकारखानाको स्थापना गर्नुपर्छ । व्यवस्थित शहर बनाउनुपर्छ । राजनीतिक दलहरु जम्मै भ्रष्टाचारी भए ।

जसका कारण आज देश यो अवस्थामा पुग्यो । जनता ऋण तिर्न नसकेर आत्महत्या गरिरहेका छन् । विभिन्न मुध्दामा लाखौं नागरिक जेलमा छन् । बाटोमा माग्नेको संख्या बढेको छ । छिमेकीले नेपाललाई तहसनहस बनाउँदै छन् । जुनसुकै क्षेत्रमा मारवाडीहरु प्रवेश गरेका छन् ।

उनीहरुले नेपालको दोहन गरिरहेका छन् । नेपाली भने विदेशमा गएर रगतपसिना बगाइरहेका छन् । जति पनि प्राइभेट बैंक यहाँ छ, सबै मारवाडीको हो । नेपालीको त के छ ? केही न केही । जनता हिजो जहाँ थिए आज पनि त्यही छन् । देशको अवस्था त झनै नाजुक बन्दै गएको छ ।

नेताहरुको कल्याण भयो । शेरबहादुर देउवाले आफ्नी श्रीमतीलाई परराष्ट्रमन्त्री बनाए । ओलीले आफ्ना सबै निकटस्थलाई ठाउँमा पुर्याए । पुष्पकमल दाहाल पनि परिवारको स्वार्थ पुरा गर्नमै व्यस्त भए । अन्य नेताले पनि अंकुत सम्पत्ति जोडे । सात पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन् ।

जनता हेरेको हेर्यै । दाहालले आफ्नी छोरीलाई मेयर, स्वकीय सचिव, बुहारीलाई मन्त्री, भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाए । चुनाव हारेको महेश बस्नेतलाई उद्योगमन्त्री बनाइयो । चुनाव नै नजितेको युवराज खतिवडा, देवेन्द्र दाहाललाई मन्त्री बनाइदिए । जनताको मतको त अपमान भइरहेको छ ।

नेताहरुको मनोमानी र जनतामाथि ज्यादतीमाथि कलम चलाउन सञ्चारकर्मी पनि चुकेका छन् । हुन त पछिल्लो समय सञ्चारमाध्यम पनि राजनीतिक पार्टीसम्बद्ध बन्दै गएको छ । ओली, देउवा, दाहाल, माधवकुमार नेपाललगायत देश विकास गर्छौं भन्ने नारा लगाइरहेका छन् ।

जनताले त आँखामा पट्टी नै बाँधेका छन् । नेताहरुको कर्तुत देख्दै देख्दैनन् । नेताहरुलाई त अझैपनि जनता भ्रममा पारेर हामी छिमेकीबाट पैसा ल्याएर खान सक्छौं कि भन्ने छ । नेता, व्यापारी, सरकारी कर्मचारीले भ्रष्टाचार गरेको पैसा विदेशी बैंकमा छ । भोलि देशमा केही भयो भने उनीहरु विदेश टाप कसिहाल्छन्।

वर्तमान नेताहरु अलिकति पेट दुख्यो भने उपचारका लागि विदेश पुगिहाल्छन्। विदेशमा गएर उपचार गर्ने नाममा अर्बौं रुपैयाँ राज्यको ढुकुटीबाट लिएका छन्। तर, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पतालमा उपचार गराइराखेका छन्। पटकपटक प्रधानमन्त्री भइसकेका उनी पनि विदेश जान सक्थें।

२०४६ सालअघि भारतले नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठले चीन र अन्य मुलुकबाट सामान ल्याएर नेपालीको आवश्यकता पूर्ति गरे । उनी भारतको सामुन्ने झुकेनन्। मूल्य नबढाईकन जनतालाई सामान दिइयो। मरिचमानको मृत्यु हुँदा सरकारले सलामी दिएन्।

तर, देश बेच्ने नेता भनाउँदा दलालीहरु मरे भनेचाँहि सलामी दिइन्छ। जनताको करमा खेलोफड्को लगाउनेहरुलाई यहाँ सम्मान गरिन्छ। भुपु सभामुख र प्रधानमन्त्रीपत्नी मर्दा सरकारले सलामी दियो, यद्यपि भूपू प्रधानमन्त्रीलाई दिइएन्। जबकी मरिचमानको योगदान धेरै थियो।