गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्छ: नेता कृष्ण सिटौला

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्ने बताएका छन्।

परिवर्तन अभियान नेपालको प्रथम स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सिटौलाले संविधानको सफल कार्यान्वयन गर्नका लागि कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारमा सहकार्य गरेको धारणा राखे।

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाले लामो समयदेखिको अस्थिर राजनीतिलाई स्थिरता प्रदान गरी सरकारको स्थायित्व र विकासका काम गर्ने प्रतिबद्धतासहित सहकार्य भएकाले सरकारमाथि शङ्का गर्ने ठाउँ नरहेको जिकिर गरे।

कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले मुलुकको विकासका लागि वर्तमान गठबन्धन बनेकाले सोहीअनुसार काम गर्न आवश्यक रहेको बताए।

परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले युवाहरू दलगत स्वार्थभन्दा माथि उठेर समाज रूपान्तरणको क्षेत्रमा लाग्नुपर्ने आवश्यकतामा जोड दिए।

कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय केपी खनाल, अमृत तिवारी, यादव खनाल, अनुप रोशन स्थापितलगायतलाई सम्मान गरिएको थियो।