प्रधानमन्त्री ओलीको २५ बुँदे निर्देशन कार्यान्वयन होला त ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २५ बुँदे निर्देशन जारी गर्दै ५ बजेपछि बैठक राखेर भत्ता नलिन कर्मचारीहरूलाइ चेतावनी दिएका छन्।

सरकारको स्थायित्वमा भर नभएकै कारण कर्मचारीतन्त्र नेतृत्वप्रति खास जिम्मेवार बन्न खोज्दैनन्। सरकार बन्ने र भत्किनेक्रम अविछिन्न चल्ने भएकाले कर्मचारीतन्त्रमा बढेको मनोबललाई जनताको पक्षमा काम गर्न उद्दत बनाउने गरि सरकारले काम गर्न सकेको पाइन्न।यस्तोमा प्रधानमन्त्री केपी ओलीले दुई वर्ष ढुक्कले सरकारको नेतृत्व गर्ने भन्दै विभिन्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री केपी ओलीले मंगलबार सिंहदरबारमा निर्देशन दिँदै सरकारका काम प्रभावकारी रुपमा गर्न भन्दै नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिएका छन्।

उनले कार्यालय समयमा काम नगर्ने र समय सकिएपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति अन्त्य गर्न भन्दै २५ बुँदे निर्देशन दिएका छन्। सेवा प्रवाहमा चुस्तता खोजेका प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सयदिनको प्रतिवेदन तयार पार्न भनेका छन्।

मन्त्रीलाई अरुको आलोचना नगर्न भनेका ओलीले ढुक्कले काम गर्न निर्देशन दिदै सरकार स्थायित्व बोकेर आएको दाबी समेत गरेका छन्।

आक्रामक काममा लाग्न निर्देशन दिएका ओलीले कर्मचारीलाई जनताको काममा तलमाथि नगर्न निर्देशन मात्रै दिएका छैनन्,कार्यालय समयमा काम नगर्ने र ५ बजेपछि काम गर्दै भत्ता लिने काम नगर्न चेतावनी नै दिए।

विभिन्न निर्देशन र चेतावनी दिएका प्रधानमन्त्री ओलीले रेल र पानी जहाज नेपाली जनताको सपना भन्दै फेरि रेल र पानी जहाजको विषय उठाए।

विकास निर्माणमा जुट्न कर्मचारी र सरकारले मिलेर काम गर्नुपर्ने निर्देशन दिएका ओलीले भनेजस्तै अब सरकारले प्रभावकारी ढंगले काम गर्ला?ओली सरकारको प्रदर्शन हेर्दा पत्याइ हाल्ने ठाउँ भने छैन। काँग्रेस-एमालेबीच प्रदेश सरकार निर्माण नगर्दै मतभेत सुरू भइसकेकाे अवस्थामा केन्द्रकाे सरकरमा मात्र मिले जस्ताे देखिएर आम जनताले पत्याउने अवस्था भने देखिएकाे छैन।