पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । निगमले आज बिहीबारदेखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्य घटाएको हो।
निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाइएको र हवाई इन्धनको मूल्य भने यथावत कायम राखिएको छ।
यसअघि पहिलो वर्गको पेट्रोलको मूल्य एक सय ६८ रहेकामा अहिले मूल्य घटेर एक सय ६७ कायम गरिएको छ। यसैगरी दोस्रो वर्गको एक सय ७० मूल्य रहेकामा घटेर एक सय ६९ पुगेको छ भने तेस्रो वर्गको पेट्रोलको मूल्य एक सय ७१ रहेकामा घटेर एक सय ७० रहेको निगमले जानकारी दिएको छ।
डिजेल र मट्टितेलको पनि पहिलो वर्गको एक सय ५७ रहेकामा घटेर एक सय ५५ पुगेको छ । यसैगरी दोस्रो वर्गको एक सय ५९ रहेकामा घटेर एक सय ५७ पुगेको छ भने तेस्रो वर्गको एक सय ६० रहेकामा घटेर एक सय ५८ पुगेको निगमले जानकारी दिएको छ ।
निमगका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गअन्तर्गत पोखरा, काठमाडौँ, दिपायल रहेका छन्।