प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाइल्यान्ड
काठमाडौं। नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै एउटा चर्चा सुरु हुन्छ– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कहाँबाट?
नेपालका प्रधानमन्त्रीहरूको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने चलन जस्तै बनिसकेको छ । झुक्किएर कसैले अन्य देशबाट आफ्नो भ्रमण सुरु गरे, त्यो विवादमा पर्छ।
साउन ३१ गते प्रधानमन्त्री पदमा शपथ लिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण कहाँबाट हुने चर्चा सुरु भइसकेको छ । प्रधानमन्त्री ओलीलाई भारत र चीन दुवै देशबाट निम्तो आइसकेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका लागि भारत र चीनले कूटनीतिक मध्यमबाट पहल थालिसकेका छन् । भारतले सेप्टेम्बरमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने र त्यसमा नै प्रधानमन्त्री ओलीलाई अयोध्यासम्म लगेर भ्रमण गराउने सोच बनाएको छ । तर नेपालबाट ‘सकारात्मक’ सङ्केत नपाएकाले त्यो कुरा अगाडि बढेको छैन ।
उता, चीनले पनि प्रधानमन्त्री ओलीलाई चीन भ्रमण गराउन कूटनीतिक पहल थालेको छ । तर, यो विषय पनि अन्तिम टुङ्गो लाग्न बाँकी छ । भारत र चीनले भ्रमणका लागि पहल गरिरहँदा प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण बैंकक हुने देखिएको छ ।
सेप्टेम्बरमा छैटौँ बिमस्टेक सम्मेलन थाइल्यान्डको बैंककमा आयोजना हुँदैछ । सो सम्मेलनमा प्रधानमन्त्री ओली जाने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू जाने लगभग निश्चित भएको छ । यद्यपि, आधिकारिक इन्भिटेसन आइपुगेको छैन, त्यसको प्रतीक्षामा छौँ। त्यो आइसकेपछि सबै कुराको टुङ्गो लाग्छ ।
सेप्टेम्बरको पहिलो हप्ता बिमस्टेक सम्मेलन हुने भनिए पनि मिति तय भएको छैन । सम्मेलनको मिति तय नभएकाले इन्भिटेसनमा ढिलाइ भएको हुनसक्ने मन्त्रालय स्रोतको भनाई छ । यद्यपि, मन्त्रालयले भ्रमणको आन्तरिक तयारी थालिसकेको छ।
बिमस्टेकमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटान, म्यानमार, थाइल्यान्डसहित सात सदस्य राष्ट्र छन्। बिमस्टेक सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य देशका राष्ट्र प्रमुखसँग भेटघाट हुने बताइएको छ।