एमालेले ग-यो मणि थापालाई पदमुक्त

काठमाडौं। नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै पूर्वमाओवादी पृष्ठभूमि भएका थापालाई पदमुक्त गरेको हो।

पार्टीको विधानले लगातार तीनवटा बैठकमा बिना जानकारी अनुपस्थित भए पदमुक्त गर्ने प्रावधान छ। थापा लामो समय पार्टीका काममा निष्क्रिय भएकाले स्वतः पदमुक्त भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

स्रोतका अनुसार उनले ६ महिनाअघि नै पदबाट राजीनामा दिइसकेका थिए। ‘उहाँले ६ महिनाअघि राजीनामा दिइसक्नु भएको हो। एमालेले त्यसलाई स्वीकृत गर्न ढिला गरेको थियो’, स्रोतले भन्यो। केही समयअघि थापाले एमालेले लिएको राजनीतिक नीतिले अपेक्षा अनुसार नभएकाले विश्राम लिएको बताएका थिए।

उनले पार्टीको काम छाडेर गत वर्ष देशव्यापी जनजागरण अभियान चलाएका थिए। थापाको गतिविधिप्रति ओली असन्तुष्ट थिए। पछिल्लो एक वर्षदेखि उनी पूर्णरुपमा निष्क्रिय रहँदै आएका थिए।