माओवादीमा उथलपुथलको संकेत,कसको बलले चल्दैछ माओवादी ?

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले पार्टी कमिटीलाई चुस्त राख्न पदाधिकारी र स्थायी समिति हेरफेर वा भंग गर्ने गरि छलफल अघि बढाएको छ।

जनतामा पार्टी कमजोर बन्दै खुम्चिनेक्रम थप बढेको भन्दै पदाधिकारी बैठकमा यसबारे बहस चलेपछि नेताहरुको जिम्मेवारी हेरफेर गर्न प्रचण्ड दबाबमा छन्। यस अवस्थामा के माओवादी केन्द्रले विशेष महाधिवेसनको नाममा पदाधिकारी र स्थायी समिति भंग वा फेरबदल गर्ला त?

२०६४ को निर्वाचनपछि २०७९ सालको निर्वाचनसम्म आइपुग्दा माओवादी केन्द्रको जनमत निरन्तर ओरालोतर्फ लागेको देखिन्छ। पहिलो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको माओवादी केन्द्र त्यसपछि नियमित ओरालो यात्रामा छ।

एक्लै चुनाव लड्दा जित्ने सिट नै कममात्रामा देखिन्छ। यस्तोमा माओवादीले फेरि एक पटक जनतामा जाने र गम्भीर आत्मसमीक्षा गर्ने तयारी गरेको बताइन्छ। केहिदिनसम्म चलेको पदाधिकारी बैठकले माओवादीलाई आत्मनिर्भर बनाउने र एक्लै चुनाव लड्न सक्ने पार्टी बनाउनका लागि अभ्यास गर्ने निर्णय गरेको अध्यक्ष प्रचण्डले नै बताइरहेका छन्।

प्रचण्ड आफै फिल्डमा खट्ने समेत भनिरहेका छन्। तर,सांगठनिक रुपमा कमजोर बन्दै गएको माओवादी केन्द्रभित्र पदाधिकारी र स्थायी समिति भंग गरेर विशेष महाधिवेशनबाट सानो र चुस्त कमिटी निर्माण गर्ने र पार्टीलाई जनतामा फर्काउनुपर्छ भन्ने मत बलियो देखिन्छ।

पदाधिकारीमा प्रश्नै–प्रश्न 

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिदै पदाधिकारीले सामूहिक राजीनामा दिनुपर्ने बताएका छन्। पार्टी जनतासँग टाढा बन्दै गएको दाबी गरेका गजुरेलले जस्तै, अधिकांशले पार्टी निर्माणमा अबिलम्ब जुट्नुपर्ने र नेताहरुबीचको सम्बन्ध सुमधर हुनुपर्नेमा जोड दिन थालिएको छ।

यस्तोमा पार्टी महासचिव देव गुरुङले संगठन चलायमान बनाउन नसकेको भन्दै आलोचना समेत भएको देखिन्छ। यस्तोमा प्रचण्डले रोजेर बनाएका महासचिवलाई जिम्मेवारीबाट पर धकेल्नुको सट्टा पदाधिकारी नै भंग गर्ने विकल्पमा प्रचण्डले छलफल गरिरहेका छन्। यस विषयको निर्णयक नतिजाका लागि भने स्थायी समिति हुँदै केन्द्रिय समिति बैठकसम्म कुर्नुपर्ने स्थिति छ।

विशेष महाधिवेशन

विशेष महाधिवेशन गर्ने मिति तय गर्ने गरि माओवादी केन्द्रले आन्तरिक गृहकार्य गरिरहेको छ। माओवादीभित्र विभिन्न पार्टीसँग एकता, सहकार्य र पार्टी प्रबेश गराएर विशेष महाधिवेशनबाट नयाँ निर्णय लिने गरि तयारी गरिएको छ।

अहिले नेताहरु सत्तामुखी बन्दा पार्टी कमजोर बनेको निष्कर्षमा पुगेको माओवादी केन्द्रले यहि मौकामा पदाधिकारी र स्थायी समिति भंग गरेर पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सबैलाई विशेष महाधिवेशनको अवसर पारेर नयाँ संकल्प गर्ने गरि प्रचण्डले आन्तरिक छलफल र तयारी गर्न थालेका छन्।

यद्यपी प्रचण्ड पार्टीभित्र ठूलो दबाबमा रहेको बताइन्छ। गएका ४ निर्वाचनमा माओवादी केन्द्र निरन्तर जनमत ओरालोतर्फ नै देखिन्छ। मुख्य तीन दलबीचको प्रतिष्प्रर्धालाई आधार मान्दा देखिएको निर्वाचन परिणाम र साना दल तथा समूह पनि उत्तिकै सक्रिय बनिरहेको बेला अब माओवादीले आफ्नो साख जोगाउन प्रयत्न गरेर मात्रै पुग्ला रु प्रश्न र जनमत संकटमा माओवादी केन्द्र हेलिएको छ।