सिमलताल दुर्घटना अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं। नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवानको सिमलतालमा भएको दुर्घटना सम्बन्धी अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ। मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले उक्त प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई बुझाएको हो।

कार्यदलका संयोजक समेत रहेका गृहमन्त्रालयका सहसचिव छवि रिजालले मन्त्री लेखक समक्ष प्रतिवेदन पेस गरेका हुन्। आफू मन्त्री नियुक्त भएपछि लेखकले असार ३१ गते दुर्घटना अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका थिए । कार्यदलले साउन २ गतेदेखि आफ्नो काम थालेको थियो।

दुर्घटनाको कारण, मृतक परिवार पाउनपर्ने क्षतिपूर्ति र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन के गर्न सकिन्छ भन्ने विषय समेटेर कार्यदलले प्रतिवेदन तयार पारेको छ । गएको असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए।

उक्त बसमा ६५ जना यात्रु सवार रहेका अनुमान गरिएको छ । उक्त घटनामा तीन जना यात्रु हामफालेर बाँचेका थिए। बाँकी यात्रु बेपत्ता रहेकामा हालसम्म २४ जनाको मात्र शव फेला परेको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले खोजी गर्दा समेत बस र यात्रु नभेटिएपछि भारतबाट गोताखोर मगाएर खोजतलास गरिएको थियो । यद्यपी अहिलेसम्म बसको अवस्था अज्ञात छ।

घटना अध्ययन गर्न सरकारले गत असार ३१ गते सहसचिव रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले स्थलगत अवलोकन, घटनामा बाँचेकाहरूसँग प्रत्यक्ष कुराकानी, स्थानीयहरूसँग अन्तरक्रिया गरेर प्रतिवेदन तयार पारेको छ। यसअघि सडक डिभिजन भरतपुरले पनि आन्तरिक रूपमा अध्ययन प्रतिवेदन तयार पारेको थियो।