काभा महिला भलिबलः इरानसँग बदला लिँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

काठमाडौं। नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मङ्गलबार भएको खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो। नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकालेको हो। नेपालले इरानविरुद्ध लिग चरणमा खेपेको हारको बदला समेत लिएको छ। लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो।

फाइनलमा नेपालले बलियो भारतसँग प्रतिस्पर्धा गर्नेछ। मङ्गलबार भएको खेलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो। भारतले २५–१५, २५–१६, २५–२३ को जित निकालेको थियो।

लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको थियो। महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक हो।फाइनलमा नेपालले बुधबार भारतसँग खेल्ने छ। भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको हो।