प्रधानमन्त्रीज्यूः गफ मात्र नठोकौं, भ्रष्टाचारको छानबिन गर्ने हो भने आफ्नैबाट शुरु गरौं
अनुसा थापा
मुलुकको हरेक क्षेत्रमा राजनीति हाबी छ । सरकारी जागिर खान होस्, सरुवा–बढुवा हुन होस् या अन्य केही, राजनीतिक पार्टीको सदस्यता लिनैपर्छ। पार्टीलाई चन्दा बुझाउनैपर्छ। पार्टीको झोले बन्दिन् भन्नेहरुका लागि पनि बाध्यतै छ । किन कि राजनीतिक पार्टीको झोलेहरु माथि जान्छन्, अरु हेरेको हेर्यै।
राजनीतिक दलको जसले चाप्लुशी गर्न सक्छ, उसैमाथि यहाँ कृपा बर्सिन्छ । योग्यता भएपनि राजनीतिक दलको सदस्यता लिएको छैन् भने त्यो मान्छे जहाँको त्यही अड्किन्छ । पछिल्लो समय शिक्षकदेखि लिएर निजामती कर्मचारी र सुरक्षाकर्मीसमेतले राजनीतिक पार्टीको सदस्यता लिएका छन् ।
उनीहरुले आफूले आस्था राख्ने र आफूलाई फाइदा हुने पार्टीनिकट संगठन खोलेका छन् । जबकी सरकारी कर्मचारीले राजनीतिक पार्टीको सदस्यता लिन पाउँदैनन्। त्यो कानुनविपरीत हो । तर, कसले टेर्ने ? तिनलाई राजनीतिक दलकै संरक्षण छ । जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, लुगा लाउँछन् अनि कामचाँहि राजनीतिक दलको गर्छन्।
सरकारी कर्मचारीले जनतालाई सेवासुविधा दिने भनेर जागिर खान्छन् । त्यसैले त लोकसेवा भनिएको हो । विडम्बना, भन्ने बेला जनताको सेवक तर हुन् आफ्नै सेवक। घुस नखाईकन काम नै गर्दैनन् । प्रधानमन्त्री केपी शर्मा ओली आफू पनि घुस नखाने र घुस खानेलाई नछोड्ने दाबा गर्छन्।
भ्रष्टाचार गरेको पाइएमा चित्रगुप्त सामुन्ने गएर बयान दिने उनको भनाइ छ । ओलीकी श्रीमती बैंककी कर्मचारी हुन् । ओलीको व्यापार व्यवसाय केही देखिन्न । उनी राजनीतिक हुन् । तर, सम्पत्ति त अंकुत जोडेका छन् । कहाँबाट ल्याए ? यसको स्पष्टीकरण् दिए हुने हो । बालकोटमा महलजस्तो घर छ ।
झापा र तेह्रथुममा पनि घरजग्गा छ । उनले स्वदेशी मात्र नभई विदेशी बैंकमा समेत पैसा राखेको बताइन्छ । उनीसँग गरगहना कति होला ? जनताले ओली र उहाँकी श्रीमतीलाई सोध्छन्,‘तपाईंको तलब कति थियो ? घरखर्च कति थियो ? अनि यो सम्पत्ति कहाँबाट आयो ?’ यो सरासर भ्रष्टाचार होइन् ?
राजनीतिक गर्दागर्दै आफ्नो पुर्ख्यौली सम्पत्ति सकाएर सडकमा आएका धेरै राजनीतिज्ञ छन् । ओली त एउटा गरिब परिवारमा जन्मिएको व्यक्ति । उनको त पुर्ख्यौली सम्पत्ति पनि थिएन् । उनले यत्रो सम्पत्ति कहाँबाट ल्याए ? घामजस्तै छर्लङ्ग भइहाल्यो । ओलीले उपचारका लागि राज्यको ढुकुटीबाट अर्बौं रुपैयाँ लिएका छन् ।
सर्वसाधारण भन्छन्,‘ओलीले पिउने पानी विदेशको हो । त्यसका लागि दैनिक ७० हजार खर्च हुन्छ ।’ यो पैसा कहाँबाट आयो ? प्रधानमन्त्रीचाँहि जनताले तिरेको करमा मँहगो पानी खाने, अनि जनताचाँहि खोलानालाको, ढल मिसिएको फोहोर पानी पिउने । यही हो लोकतन्त्र ।
अझैं जनताको लागि काम गरिरहेको छु भन्न सुहाउँला ? सिंहदरबारमा बस्ने, हावा गफ ठोक्ने अनि जनतामा भ्रम छर्न । यहाँ लाखौं मिर्गौला पीडित छन् । क्यान्सर पीडित छन् । तर, राज्यबाट सुको पनि पाउँदैनन् । उपचार गर्ने खर्च नहुँदा उनीहरु मर्ने दिन कुरेर बसेका छन् ।
ओलीले भने पटकपटक उपचारका लागि राज्यको ढुकुटीबाट पैसा लिएका छन् । जनतालाई के छ ? जो कर तिर्छ, ऊ सँधै रित्तै । निजामती कर्मचारीलाई सिभिल अस्पताल छ । आर्मीका लागि आर्मी अस्पताल छ, पुलिसलाई प्रहरी अस्पताल । जनताका लागि भनेर कुन अस्पताल छ ?
ओली गृहमन्त्री र परराष्टमन्त्री भए । उनी बारम्बार प्रधानमन्त्री भए । तर, देशका लागि के गरे ? उनी पदमा हुँदा देशले के के उपलब्धि हात पार्यो ? विवरण देखाउन सक्नुपर्थ्यो। अनि मात्र जनताले तिरेको कर खर्च गर्न सुहाउँथ्यो। ओलीको पालामै विदेशी ऋण बढ्यो । सात खर्बबाट २१ खर्ब रुपैयाँ विदेशी ऋण पुर्याउने उनी नै हुन्।
यसपटक पनि उनी विदेशी ऋण लिएर सरकार चलाउने दाउमा छन् । प्रधानमन्त्री हुनेबित्तिकै अर्बौं रुपैयाँ ऋण स्वीकृति गरिसके । ओलीले वास्तवमै भ्रष्टाचारको छानबिन गर्ने हो भने आफैंबाट गर्दा हुन्छ । पहिले त आफ्नो सम्पत्तिको स्रोत खुलाइदिनुपर्यो । ‘दूधको दूध, पानीको पानी’ बनाइदिनुपर्यो।
जसले भ्रष्टाचार गरेको छ, उसले अर्को भ्रष्टाचारीलाई कारबाही गर्छ ? जनताले पत्याउने कुरा गर्नुपर्यो क्या । जहिले जनताको आँखामा छारो हालेर देश कहिले बन्छ ? जसले गलत गर्छ, ऊ कारबाहीको भागिदार बन्नैपर्छ । सरकारी सेवामा एउटा पिउनमा जागिर खानेको काठमाडौंमा महलजस्तो घर छ ।
त्यो सरासर भ्रष्टाचार होइन् ? मासिक १० हजार तलब खानेले कोठाभाडा तिरेर, घरखर्च चलाएर, छोराछोरी पढाएर, जग्गा किनेर घर बनाउन सक्छ ? यो कसैले पत्याउँला ? एउटा सानो पसल थाप्नेले पनि महल ठड्याएका छन् । त्यो पनि भ्रष्टाचार नै हो । राज्यलाई राजश्व नतिर्ने व्यक्तिगत सम्पत्ति जोड्ने ।
सबै भ्रष्टाचार हुँदा त देश नबनेको हो। अब भन्ने मात्र होइन्, भ्रष्टाचार छानबिन गरौं पनि । ज–जसले सम्पत्तिको स्रोत खुलाउन सक्दैनन्, तिनको सम्पत्ति राष्ट्रियकरण गरौं, तिनलाई जेल कोचौं। जो सच्चा नेपाली हो, ऊ खाडीमा पसिना बगाइरहेको छ । यहाँ बस्ने भनेको भ्रष्टाचारी, राजश्व छली गर्नेहरु, घुसखोरी, सरकारी कर्मचारी, व्यापारी मात्र हुन्।
नेपालमा जनता छैनन्। अहिले यहाँ भएकालाई जनता भन्न मिल्दैन् । राज्यलाई दोहन गर्नेहरु मात्र यहाँ बसेका छन् । देशको अवस्था नाजुक बन्दै गएको छ । अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको छ । विदेशी ऋण झण्डै २६ खर्ब रुपैयाँ पुगिसकेको छ । अहिले एक जना नेपालीको टाउकोमा ८६ हजार रुपैयाँ विदेशी ऋण पुगेको छ।
नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । ऋण तिर्न नसकेर नेपालीहरु आत्महत्या गरिरहेका छन् । सडकमा मागेर खानेको संख्या ह्वात्तै बढेको छ । सहकारी, लघुवित्तले करोडौं बचतकर्ताको बिल्लीबाठ बनाएको छ । बचतकर्ताको रुवावासी छ । बजारमा सटर, कोठा, फ्ल्याट खाली भइसकेको छ ।
मँहगीले ढाड सेकिएको छ । तर, नेपालमा भएका झोलेहरु चुइक्क बोल्दैनन् । हुन त यहाँ जनता नभएर पनि होला । बंगलादेशमा जनता थिए, प्रधानमन्त्री लखेटे । पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगलादेशको अर्थतन्त्र निकै बलियो बनाएको बताइन्छ । उनले १५ वर्ष लगातार सरकारको नेतृत्व गरिन् ।
नेपालका नेताहरुले के गरे ? न अर्थतन्त्र बलियो बनाए न देश र जनताको अवस्था सुधारे। न विकास गरे। बरु देशलाई लगेर विदेशी ऋणको दलदलमा फसाए। अनि अझैपनि यस्ता नेताको पछाडि लाग्ने ? हामी भेडाबाख्रा होइनौं। राजनीतिक पार्टीमा आस्था राख्नुपर्छ तर देश सकाइसक्दासमेत त्यस्ता पार्टीको झोले बन्नु ठीक होइन्।
हाम्रा नेताहरु कति बाठाः जनता भए भने आफ्नो विरोध हुन्छ भनेर सबैलाई आफ्नो झोले बनाए । नेताहरुको कारण आज नेपाल अन्तर्राष्ट्रिय स्तरमा बद्नाम बनेको छ। देशमा भ्रष्टाचार मौलाएको छ। युवाहरु पलायन हुन बाध्य छन् । विदेशी हस्तक्षेप बढेको छ । तैपनि कोही विरोधमा बोल्दैन्।
पुष्पकमल दाहालको हातमा ६८ लाखको घडी, शेरबहादुर देउवाको रोपनीमा दरबार, माधव नेपालको अंकुत सम्पत्ति। अन्य नेताको पनि त्यस्तै। एउटा गरिब परिवारमा जन्मिएको व्यक्तिले कसरी यत्रो सम्पत्ति जोडे। राजनीतिले मात्र त सम्भव छैन्। यिनले राजनीतिको नाममा देश खोक्रो बनाए।
जनता टुलुटुलु रमिता हेरिरहेका छन्। हाम्रो देशको सञ्चारमाध्यम पनि पार्टीगत बने । जनताको ऐना बन्नुपर्ने ठाउँमा सञ्चारकर्मीहरु पार्टीको कार्यकर्ता बने।