प्राधिकरणका दुई सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

सरकारले प्राधिकरणको सञ्चालक समितिबाट हटाइएपछि कपिल आचार्य र भक्तबहादुर पुन सर्वोच्च पुगेका थिए। उनीहरुले दर्ता गरेको रिटमा सर्वोच्चले बिहीबार अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले हटाउनुको कारण पनि मागेको छ। सरकारले साउन २० गते उनीहरूलाई हटाएर प्राधिकरणको सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो।

बक्यौता नतिरेको आरोप लागेका उद्योगको लाइन जोड्ने विषयमा असहमति जनाएका आचार्य र पुनलाई स्पष्टीकरण सोधेको सरकारले जवाफ चित्त नबुझेको कारण देखाएर पदबाट हटाएको थियो।