भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने ओलीको नारा मजाक बन्दै,गिरीबन्धुले ओलीको नैतिकतामाथि प्रश्न ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका कुरा गरेपनि गरीबन्धु टि-स्टेटको भ्रष्टाचारको कुराले नैतिकता माथि नै प्रश्न उठ्ने गरेको छ। भ्रष्टाचार पनि गर्दिन र गर्न पनि दिन्न भन्ने ओलीको नारा अहिले मजाक बन्ने अवस्थामा पुगेकाे छ। मुलुकको विकास समृद्धिको प्रमुख बाधक नै भ्रष्टाचार भएकोले प्रधानमन्त्रीमाथि अनेकौं प्रश्नले घेरेको छ।

माथिदेखि तलसम्मै जरा गाडेर बसेको भ्रष्टाचारले समस्या थप अघि बढाउदै गर्दा के भ्रष्टाचार नियन्त्रण गर्न सकिएला भन्ने प्रश्न गम्भीर बनिरहेको छ। सरकारको नेतृत्व गरिरहेका र गरेकामाथि नीतिगत भ्रष्टाचारको आरोपदेखि अनेक आरोप लाग्ने र जनतामा त्यसको प्रष्टता हुन नसक्दा मुलुकमा निराशा बढेको देखिन्छ।

भ्रष्टाचार नियन्त्रण प्रमुख चुनौति बनिरहेको छ। भ्रष्टाचार नियन्त्रण गर्नका लागि चालेको अख्तियारको खुद्रे कदमले पनि जनतामा विश्वास आर्जन हुन भने सकेको देखिदैन।

ठूला प्रकरणमा गतिलो सेटिङ हुने र कर्मचारीको मनोबलमा खेल्दै उन्मुक्ति दिने काम बढ्नाले पनि समस्या सुल्झिनुको साटो बल्झिन पुगेको छ। यस्तोमा प्रधानमन्त्री केपी ओलीले भने भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने भन्दै दाबी गर्न भने छाडेका छैनन्।

भ्रष्टाचार नियन्त्रणमा सरकार लागिपरेको दाबी गर्दै ओलीले अनुहार हेरेर क्षमा नदिने भन्दै भ्रष्टाचारीमाथि निर्मम हुने दाबी पनि गरिरहेका छन्।

ओलीले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारेको प्रारम्भिक छलफलमा उनले यस्तो जिकिर गरेका हुन। ओली सहभागी भएको बैठकमा पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सहभागी हुन नसकेको समिति सभापतिलाई जानकारी पठाएका थिए।

उसोतः प्रारम्भिक छलफलको क्रममा ओलीलाई समिति सदस्यहरुले विभिन्न जिज्ञासा र प्रश्नहरु गरेका थिए। त्यसको जवाफ प्रधानमन्त्रीले केही दिएका थिए। जवाफ पेश गर्ने क्रममा प्रधानमन्त्री ओलीले सांकेतिक रुपमा आफूमाथि लागेको गिरीबन्धु टि–स्टेटको जग्गा प्रकरणलाई समेत कोट्याएर आफु संलग्न नरहेको भन्दै आफुलाइ आफै सफाइ दिने कोशिस समेत गरेका थिए।

कसैले आरोपका लागि आरोप लगाए पनि जीवनमा कतै गलत नगरेको दाबी गर्दै ओलीले आफू जस्तोसुकै परीक्षा दिन तयार रहेको दाबी गर्नसम्म भ्याएका थिए।

गिरीबन्धुले ओलीको नैतिक बल कमजोर भएकाे देखाएकाे छ। भ्रष्टाचार निवारण सम्बन्धिको बिधयेकमा प्रधानमन्त्री ओलीले जवाफ दिएपनि भ्रष्टाचारको आरोप उनीमाथि पनि नलागेको होइन।

गिरीबन्धु टि–स्टेटको जग्गा सट्टाभर्नामा ओली नेतृत्वको सरकारले निर्माण गरेको कानून र त्यो कानूनलाई सर्वोच्चले गरेको अवैध ठहरलाई अहिले एमाले पंक्ति नै सिंगो संसदलाई दोष दिएर उम्किन खोजेको देखिन्छ। तर, विपक्षीले गिरीबन्धुमा नीतिगत भ्रष्टाचार भएको विषयलाई दोहो¥याउन छाडेको छैन। यस्तोमा ओलीले भ्रष्टाचार पनि गर्दिन र गर्न पनि दिन्न भन्ने नारा फिक्का र कमजोर नैतिक बलमा उभिएको टिप्पणी हुने गरेकाे छ। 

प्रतिपक्षमा भएका बेला काँग्रेस सांसदहरूले गरीबन्धु बारे जाेड ताेड्का साथ कुरा उठाए पनि अहिले उनिहरू चुपचाप लागेर बसेकाे देखिन्छ। तर अहिले त्यही मुद्दा माओवादी,रास्वपा र राप्रपाका सांसदहरूले संसद्मा जाेडताेडले उठाउने गरेकाे देखिन्छ। यही गिरीबन्धुले प्रधानमन्त्रीमाथि नैतिकताकाे प्रश्न खडा भएर बसेकाे छ भने भ्रष्टाचार पनि गर्दिन र गर्न पनि दिन्न भन्ने कुराले खासै अर्थ नराख्ने टिप्पणी हुने गरेका छन्।