माओवादीका अध्यक्ष प्रचण्डमाथि प्रश्नैप्रश्न: स्वार्थकेन्द्रित समर्थन र बार्गेनिङ गरेको आरोप
काठमाडौं। माओवादी केन्द्रको शुक्रबार सुरु हुने स्थायी समिति र त्यसपछि हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेताहरूबाट दर्जनौं प्रश्न सामना गर्नुपर्ने भएको छ।
३६ वर्षदेखि पार्टीको मुख्य नेतृत्वमा रहेका उनीमाथि सत्ता मोहका कारण पटकपटक गठबन्धन फेरेको, पार्टीमा सामूहिक निर्णय नगरेको, दोस्रो तहका नेताहरूको नेतृत्व विकासका लागि बाटो खुला नगरेको जस्ता प्रश्न उठाउने तयारीमा नेताहरू रहेका छन्।
माओवादीको गत साता भएको पदाधिकारी बैठकमा अध्यक्ष दाहालले खुलेर धारणा राख्न भनेपछि पदाधिकारीहरूले सत्ताका लागि पटकपटक गठबन्धन फेर्दा सर्वसाधारणमा गलत सन्देश गएको, संगठनले गति लिन नसकेको, नेता तथा कार्यकर्ताको कार्यशैली झन् बिग्रिएको टिप्पणी गरेका थिए ।
उनीहरूले कांग्रेस–एमालेको गठबन्धन बनेपछि माओवादीलाई संगठन बनाउने अवसर आएको पनि उनीहरूले बताएका थिए ।
पदाधिकारी बैठकपछि मंगलबार विराटनगर पुगेका दाहालले आफू लामो समय पार्टीको नेतृत्वमा नबस्ने तर पार्टी बलियो बनाउन प्रतिबद्ध रहेको बताएका थिए ।
मैले नेतृत्वमा रहेर दसवर्षे जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण हुँदै यहाँसम्म पार्टीलाई ल्याएको छु । अहिले पार्टी केही कमजोर अवस्थामा पुगेको छ, दाहालले भनेका थिए, ‘अब सरकारतिर फर्केर होइन, जनतातिर फर्केर पार्टी बलियो बनाएर नेतृत्व हस्तान्तरण गर्छु ।
तत्कालीन मसालका महामन्त्री मोहन वैद्यलाई विस्थापित गरी २०४६ मा महामन्त्री भएका दाहाल नेकपा एकता केन्द्र हुँदै माओवादी केन्द्रमा अध्यक्ष भएर निरन्तर नेतृत्व गरिरहेका छन्।
पछिल्लोपटक २०७८ पुसमा भएको आठौं महाधिवेशनले उनलाई पुनः अध्यक्षमा चयन गर्यो।
महाधिवेशनमा पुस्तान्तरणको माग भए पनि पुरानै नेतृत्व दोहोरिएपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ । उनले सर्वाधिकार प्रयोग गरी पार्टी चलाउन दोस्रो पुस्ताका नेतालाई आपसमा भिडाएको आरोप पनि लाग्दै आएको छ ।
गएको महाधिवेशनमा नेताहरू वर्षमान पुन र जनार्दन शर्मा महासचिवका आकांक्षी थिए । दुवै नेताले दाहाललाई भेटेर पार्टीलाई गति दिन आफूहरूमध्ये एकलाई महासचिव बनाउन आग्रह गरेका थिए ।
महासचिवमा पम्फा भुसाल र शक्ति बस्नेतको पनि दाबी थियो । तर दाहालको रोजाइमा देव गुरुङ परे । २०६९ असारमा मोहन वैद्यको नेतृत्वमा माओवादीबाट अलग भएका गुरुङ २०७४ मा फर्केका थिए ।
उपमहासचिवद्वय पुन र शर्माले आफू निकटस्थ नेताहरूसँग दाहालले बेलाबेला प्रयोग गरेको बताउने गरेका छन् । ‘हामीले अध्यक्षको नेतृत्वलाई चुनौती दिएको होइन तर उहाँलै हामीलाई आपसमा भिडाउन खोज्नुभयो,उनीहरूको भनाइ उद्धृत गर्दै एक नेताले भने,अबचाहिँ माओवादी आन्दोलनलाई रक्षा गर्न हामी एक ठाउँमा छौँ ।
पछिल्लो पदाधिकारी बैठकमा शर्माले दाहाललाई भनेका थिए, ‘तपाईंको नेतृत्वमा पार्टी बन्न सक्दैन । पार्टी बन्न नयाँ पुस्तामा नेतृत्व जानुपर्छ । तपाईंले मात्र होइन, हामी सबै पदाधिकारीले राजीनामा दिएर नयाँ पुस्तालाई हस्तान्तण गरौं ।
दाहालले यसको जवाफ केन्द्रीय समिति बैठकमा दिने तयारी गरेका छन् । दाहालले केन्द्रीय कार्यालमा बुधबार भएको कार्यक्रममा पुन र शर्मातिर संकेत गर्दै पार्टीभित्र गुट नै गुट भएको उल्लेख गर्दै त्यसलाई अन्त्य नगरी पार्टी नबन्ने बताएका थिए ।
तर माओवादीका एक नेताले विगतमा दाहालले कहिले बाबुराम भट्टराई र कहिले मोहन वैद्यलाई उचालेर गुटलाई प्रश्रय दिएको, पछिल्लो समय कहिले पुन र कहिले शर्मालाई उचालेले आपसमा भिडाएको आरोप लगाए ।
माओवादीका अरु नेताले पनि मूल नेतृत्वको सत्तामोहका कारण पार्टीले लिएको समाजवादी क्रान्तिको आधार झन् कमजोर भएको टिप्पणी गरेका छन् ।
सचिव राम कार्कीले कम्युनिस्ट पार्टीभित्र उठ्ने प्रश्नले सही दिशानिर्देश गर्ने बताए । उनले पार्टी सरकारमा गएपछि समाजवादको अवस्था कहाँ पुग्यो भन्ने प्रश्न जबर्जस्त रूपमा उठेको बताए ।
सरकारमार्फत समाजवाद त्याउन खोज्दा त्यसको हबिगत के भयो ? उनले भने,मूल नेतृत्व र अन्यले पनि यसको जबर्जस्त समीक्षा गर्ने बेला भएको छ ।
अध्यक्ष दाहालले पार्टी सामूहिक निर्णयमा नचलाएका कारण झन् कमजोर भएको नेताहरूको बुझाइ छ । माओवादी सरकारमा गएपछि पार्टीका नियुक्ति र अन्य निर्णयमा दाहालले सर्वाधिकार प्रयोग गरेको नेताहरूको आरोप छ ।
माओवादीका अर्का उपमहासचिव हरिबोल गजुरेलले मूल नेतृत्व (अध्यक्ष) लाई स्वार्थकेन्द्रित समर्थन र बार्गेनिङका लागि विरोध गर्ने प्रवृत्तिका कारण पार्टी बलियो हुन नसकेको बताए ।
पार्टीभित्र उत्तराधिकारी किन तयार भएन ?मूल नेतृत्वको सही ठाउँमा उभिएर आलोचना भएन,उनले भने,समर्थन गर्नेले पनि आफ्नो पद, प्रतिष्ठा हेरेर आवश्यकताभन्दा बढी समर्थन गरेका कारण पार्टीमा उत्तराधिकारी बन्ने अवस्था आएन ।
उनले मूल नेतृत्वसहित सबै पदाधिकारीले जिम्मेवारीका आधारमा राजीनामा दिएर सच्चिनुपर्ने बताए ।
प्रतिपक्षमा गएपछि अध्यक्ष दाहालले विगतजस्तै पार्टी बलियो बनाउन ध्यान दिनुपर्ने महसुस गरे पनि सहज नभएको गजुरेलको भनाइ छ ।बानी बिग्रिएको छ।
सच्चिन सकिन्छ तर सजिलो छैन उनले भने,विरोधीले प्रतिपक्षमा पुर्याए, अब सच्चिने अवसर छ ।अब प्रमुख प्रतिपक्षका रूपमा रहेर सरकारलाई खबरदारी गर्ने दाहालको भनाइ छ ।
पार्टी सरकारमा जाने अवस्था आउँदा पनि आफू प्रधानमन्त्री नबन्ने दाहालले दाबी गरे ।केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार उनले भनेका थिए,मलाई अब पार्टी बनाउने अन्तिम अवसर छ ।
त्यसका लागि प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्छु । माओवादी कोशी प्रदेश समितिले गत चैतमा पार्टीभित्र गुटबन्दी चर्को भएको भन्दै लिखित सुझाव बुझाएको थियो ।
कोशी इन्चार्ज एबं उपमहासचिव हरिबोल गजुरेलले बुझाएको प्रतिवेदनमा पार्टीमा अवसरवाद हाबी भएको उल्लेख छ।
माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले स्थायी र केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणको कार्यक्रम तय गर्ने बताए।
बैठकका लागि देशव्यापी पार्टी अभियान चलाउनेदेखि विशेष महाधिवेशन गर्नेसम्मका एजेन्डा छन्,उनले भने ।