चाडबाड आयो सर्वसाधारणलाई चिन्ता, प्रधानमन्त्री र अर्थमन्त्रीलाई सँधै मज्जा
अनुसा थापा
नेपालीहरुको महान् चाड नजिकिँदै छ। पहिलेपहिले व्यापारीले महिनौं अगाडिदेखि चाडबाड लक्षित गरेर सामान आयात गर्दथें। खाद्यान्न, लत्ताकपडालगायत अन्य सामान महिनौं दिनअगाडि आयात गरिन्थ्यो। तर, यसपटक व्यापारीहरुले सामान ल्याउनमा चासो देखाएका छैनन्।
असोजमा दशैं छ। अब डेढ महिना बाँकी छ। यद्यपि, व्यापारीहरुमा सामान ल्याउने रौनक छैन्। पुरानै सामान बेच्ने सुरमा छन्, उनीहरु । नयाँ सामान हाल्दा डुबिने डर छ, उनीहरुलाई। राजधानीको व्यापारिक केन्द्र महाबौद्ध, इन्द्रचोक, न्युरोडलगायतका स्थानमा कपडा पसल थापेर बसेकाहरु ग्राहक नआउने गुनासो गर्छन्।
यता, ललितपुरको लगनखेल, मंगलबजार, भक्तपुरतिर पनि त्यस्तै हाल छ । ग्राहकहरुले नयाँ सामान पाएका छैनन्। पुरानै सामान किन्न बाध्य छन्। लुगामा मिति लेखेको छ । खाद्यान्नमा त व्यापारीहरुले नयाँ मिति लेख्छन् । व्यापारीहरु जनताप्रति अलिकति पनि जिम्मेवार देखिँदैनन्।
आफूलाई फाइदा हुन्छ कि हुँदैन् ? यति मात्र हेर्छन्, व्यापारी । सर्वसाधारणलाई सामानको रेट थाहा हुँदैन् । व्यापारीले जति भन्यो त्यति तिर्ने हो। सामानको रेट व्यापारीको जिब्रोले तय गर्छ । त्योपनि गुणस्तर भए त हुने हो । पछिल्लो समय बजारमा आर्थिक मन्दी छ । पसलमा ग्राहक छिर्दैनन् ।
एक जना छिर्यो भने उसैबाट असुल्छन् खोज्छन् । पाँच सयको सामानलाई पाँच हजार । निजी कार्यालयमा काम गर्नेहरुले तलब पाएका छैनन्। महिनौंदेखि वर्षौंसम्मको तलब बाँकी छ । उनीहरु सामान किन्न पनि सक्दैनन्, कतै गएर केही खाऊँ भन्न पनि उनीहरुसँग पैसा हुँदैन्।
मुलुकमा बेरोजगारी बढ्दो छ । काम नपाएर मान्छे रन्थनिएका छन् । खानलाई पैसा छैन् । सर्वसाधारणले सडकमा साग बेचेर, मकै पोलेर, अर्काको घरमा भाडा मेलेर जोडेको अलिकति पैसा पनि सहकारी र लघुवित्तले खाइहाल्यो । सहकारीबाट पैसा निकालेर चाडबाड मनाउ भन्न सक्ने अवस्था पनि छैन् ।
बैंकले धितो नभईकन ऋण दिँदैन् । अब जनताले कसरी दशैं मान्ने ? चाडबाड नजिकिँदै गर्दा अधिकांशलाई यो चिन्ताले सताउन थालेको छ । अहिलेको दशैंमा व्यापार हुँदैन् भन्ने कुरा व्यापारीहरुले थाहा पाइसके । दशैं मान्न गाउँ जाने र नफर्किने भन्न थालिसकेका छन्, सर्वसाधारण ।
दशैंपछाडि उपत्यकाभित्र धेरै सटर, कोठा, फ्ल्याट खाली हुन्छ भन्ने पक्कापक्की भइसकेको छ । सर्वसाधारण दशैंसम्म कुरेर बसेका छन् । बजार चलायमान हुन सकेको छैन् । असोज १७ गते घटस्थापना छ । सर्वसाधारणलाई घर जाने खर्च जुटाउनु छ । अर्थमन्त्री विष्णु पौडेललाई बजारबारे जानकारी छैन् ।
आफू अर्थमन्त्री हुनेबित्तिकै शेयरको मूल्य बढ्यो भनेर भाषण ठोक्छन् । शेयरमा ६५ लाख सर्वसाधारणको लगानी छ । शेयर खेलाडी भने ५० देखि ५५ जना छन् । उनीहरुले शेयरको मूल्य बढाए बढ्छ, घटाए घट्छ । एक सयको शेयर ३२ सय पुर्याउने र ३२ सयबाट एक सयमा झार्ने पनि यिनीहरु नै हुन् ।
गत असार ३१ गते केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ खाए । त्यतिबेलासम्म पार्टीभित्र सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउनेबारे छलफल भइरहेको थियो । तर, शेयर दलालीहरुले पौडेललाई अर्थमन्त्री बनाउन दबाब दिए । र, उनलाई नै अर्थमन्त्री नियुक्त गरियो । शेयरको मूल्य अचानक बढेपछि सदनमा आवाज उठाइसकेको छ।
बैंक, कम्पनी, फाइनेन्स, सहकारी, लघुवित्त घाटामा गइसकेको छ, शेयरको मूल्य कसरी बढ्यो ? पूर्वअर्थमन्त्री डा प्रकाशशरण महत र अमरेशकुमार सिंहको आवाज हो यो। उनीहरुले त्यो बोलेको भोलिपल्टै १४५ अंकले शेयर घट्यो । बैंकहरुले कर्मचारीलाई तलब दिन नसकेको कर्मचारी कटौती गरिरहेको छ।
शाखा बन्द गरिरहेको छ । बैंकमा कर्जा लिन जाने कोही छैन् । बैंकको आम्दानीको स्रोत छैन् । बैंकका कर्मचारीहरुले खाताबाटै सर्वसाधारणको पैसा झिकिरहेका छन् । बैंक तथा वित्तिय संस्थालाई जनताले अब विश्वास गर्दैनन् । बैंकको दादागिरी अति नै भइसक्यो । करोडको धितो लाखमा खाइदिने ।
यता, उद्योगहरु पनि क्षमताको ३० प्रतिशत मात्र चलेको छ । अटो व्यवसायीहरु ७० प्रतिशत लगानी डुबिसकेको बताउँछन् । घरजग्गाको कारोबार छैन् । तीन करोड पर्ने घरजग्गा ८०–९० लाखमा बेच्छुभन्दा पनि किन्ने मान्छे छैनन् । तीन वर्षअगाडि सम्म न्युरोड, ठमेल, पुतलीसडक, महाबौद्धलगायत उपत्यकाका अन्य स्थानमा २० देखि ६० लाखसम्म सटर खरिदबिक्री हुन्थ्यो ।
तीनदेखि ६ महिनाअगावै पैसा बुझाउनुपर्थ्यो । यो ठाउँमा एउटा कोठाको पाँच हजारदेखि २० हजार पर्थ्यो । ६ महिना खोज्दा पनि भेटिदैन्थ्यो । यस्तो चाप हुने ठाउँमा समेत ‘टु–लेट’ लेखेको भेटिन्छ । यता, सटरहरु त धमाधम खाली भइसकेको छ । सटर भाडा तिर्न नसकेपछि कतिपयले नयाँ जुक्ति निकालेका छन् ।
सटर छोड्ने, सामान घरमा ल्याउने र अनलाइनमार्फत बेच्ने । तर, यो कुरा अर्थमन्त्रीलाई के थाहा ? उनी अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझ्नमै व्यस्त छन् । अहिलेको मन्त्रीमण्डलमा भएका चार मन्त्री भैसेंपाटीस्थित मन्त्री निवासमा सरेनन् । पौडेलको घर भैसेंपाटीमै छ । आफ्नो घर त्यही हुँदाहुँदै पनि उनी मन्त्री निवासमा सरे ।
कसरी हुन्छ उनलाई राज्यको ढुकुटी सोत्तर बनाउनु छ । ओली र शेयर दलालीको आँखामा पौडेल राम्रो, सक्षम व्यक्ति । तर, जनताको आँखामा उनी भूमाफिया हुन्। वालुवाटारको आठ आना जग्गा उनले छोराको नाममा पास गरेका थिए । तर, जेल जानुपर्ने डरले उनले पछि फिर्ता गरे ।
हुन त वर्तमान प्रधानमन्त्री नै दलाल हुन् । झापाको गिरीबन्धु टी–स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा लैजान स्वीकृति दिने उनी नै हुन् । परराष्ट्रमन्त्री आरजु राणा नेपालीलाइृ भुटानी बनाउने काण्डमा मुछिएकी छिन् । ओली र पौडेलविरुद्ध एमालेका कुनै सांसदले बोल्न सक्दैनन् ।
सांसदहरु यी दुईको अगाडि आत्मसमर्पण गर्छन् । आरजुको सामुन्ने गगन थापा र विश्वप्रकाश शर्माको चुइक्क आवाज निस्किदैन् । माओवादी र रास्वपा पनि सामसुम भएको छ । सरकारमा गलत व्यक्तिहरु पुगेका छन् तर कसैले विरोध गर्न सक्ने होइनन् । टुलुटुलु रमिता हेरेर बस्छन् ।
राप्रपाका नेताहरु झन् बोल्दै बोल्दैनन् । सदनमा बोल्ने चित्रबहादुर केसी र प्रेम सुवाल हुन् । उनीहरुले बोलेको जनताले सुन्छन्, तर सरकारमा भएका दलालहरुले सुन्दैनन् । अहिले बजार धेरै सुनसान भइसकेको छ । उपत्यकामा सर्वसाधारणको चाप पातलिएको छ । यो कसरी भयो ?
सरोकारवालाहरुलाई जानकारी छैन् । पैसा भएकाहरुले लुकाएका छन् । नभएकाहरुसँग त छँदै छैन् । सरकार पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन चासो दिँदैन् । जबकी सांसदहरुले नै यो आवाज उठाइसकेका छन् । जनताले उठाएको त पहिल्यैदेखि हो । विडम्बना, सरकारले सुन्दैन् ।
नेता भनाउँदाहरु सबै स्वार्थभोगी भए । नेपालमा यस्ता नेता पनि थिए, जसले सिंहदरबारमा आगो लाग्दा नैतिकताको आधारमा पदबाट राजीनामा दिए । ती प्रधानमन्त्री हुन्, कीर्तिमान विष्ट । हावाहुरी चल्दा दशरथ रंगशालामा भागदौड मच्चियो । कतिपयले ज्यान गुमाए । खेलकुदमन्त्रीले त्यतिबेलै राजीनामा दिए ।
देशै सकिसक्यो तर अहिलेका प्रधानमन्त्री, मन्त्रीहरुले राजीनामा दिँदैनन् । प्रधानमन्त्री र अर्थमन्त्रीसँग अंकुत पैसा छँदै छ । उनीहरुले दशैं मानिहाल्छन् । जनताहरु मरुन्–बाँचुन्, खाऊन्–भोकै बसुन् उनीहरुलाई के मतलब ?