काँग्रेसमा गगन-विश्वप्रकाशका कारण देउवा संकटमा,आरजु र महत जंगिएपछि बैठकमा हङ्गामा

काठमाडौं। केही वर्षयता नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको माग उठ्दै आएको छ। कांग्रेसको एक समूहले सभापति शेरबहादुर देउवाको विकल्प खोज्दै आएको छ। तर, संस्थापन पक्षले भने अहिले नै देउवाको विकल्प अरू कोही नभएको दाबी गर्दै आएको छ।

संस्थापनइत्तर पक्ष नेतृत्व हस्तान्तरणको कुरा जोडतोडले उठाउन थालेपछि देउवा आफैले पनि सभापतिका लागि विकल्प खोज्न थालेका छन्। तर, उनको उत्तराधिकारीको टुंगो भने लाग्न सकेको छैन।

पूर्वगृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँणमाथि गम्भीर आरोप र त्यसपछि कारागार पुगेको घटनाले देउवालाई आफ्नो उत्तराधिकारीको टुंगो लगाउन सकस परेको छ। उपसभापति पूर्णबहादुर खड्का पनि देउवाबाट टाढिँदै गएका छन्।

यता, डा.प्रकाशशरण महत पनि पार्टी नेतृत्वका लागि सक्षम बनिनसकेको देउवाको बुझाई छ। यस्तोमा संस्थापन इतर पक्षले भावी नेतृत्वका लागि अहिलेदेखि नै फरक पहिचान बनाउने काम थाल्न खोजेको देखिन्छ। यस्तोमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा फरक धार समात्दै स्थापित हुन खोजिरहेका छन्।

गठबन्धनमाथि प्रश्न

कांग्रेस बैठकमा एमालेसँग गठबन्धन बन्नुको औचित्य पुष्टि गर्नुपर्ने आवाज पनि उठेको छ। केन्द्रीय सदस्यहरूले प्रतिपक्षमा हुँदा आफूले उठाएका सहकारी ठगी, गिरीबन्धु टी–स्टेट,नक्कली भुटानी शरणार्थीलगायतका विषयलाई सरकारले टुंगो लगाउनुपर्ने विषय उठाएका थिए।

गत बुधबारबाट जारी बैठकमा विभिन्न ११ वटा एजेन्डा पेस भएका थिए। त्यसमा आफ्ना धारणा राख्ने क्रममा सदस्यहरूले एमालेसँग गठबन्धन गर्नुको औचित्य पुष्टि गर्न नेतृत्वलाई दबाब दिएका छन्। विशेष गरी दुई पार्टीका कार्यशैली फरक भएका कारण काम गर्न सकस हुने र दिगो हुनेमा सदस्यहरूको आंशका छ।

नेताहरूले आफू प्रतिपक्षमा रहँदा गिरीबन्धु टी–स्टेट, सहकारी प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका विषयलाई संसदमै चर्को रुपमा आवाज उठाएका थिए। चर्चा भएका भ्रष्टाचारका विभिन्न प्रकरणको निष्पक्ष छानबिन गरेर टुङ्गोमा पुर्याउन पहल गर्नुपर्ने नेताहरूको धारणा छ।

विश्वप्रकाश शर्माले पहिले पनि गिरीबन्धुदेखि अनेक प्रकरणमा आफ्नो मत नबदलिने र यसबारे निरन्तर खबरदारी गर्नबाट पछि हट्न नसकिने दाबी गर्दै आएका छन्। सत्ता सहकार्यपछि दुई दलका शीर्ष नेताहरूबिच विवाद नहोला भन्ने गरी गरिएको अपेक्षामा विश्वप्रकाश बाहेकले भने विरोध गर्ने गरेको देखिन्न।

यता,नेता डा.शेखर कोइरालाले अहिले राजनीतिमा लोकरिझ्याइँ हाबी भएको भन्दै पार्टीलाई त्यसले क्षति पुर्याउन सक्ने बताएका छन्।

उनले भने– ‘अहिले राजनीतिमा लोकरिझ्याइँ हाबी भएको छ। हाम्रो पार्टी पनि लोकरिझ्याइँबाट अछुतो छैन। कांग्रेस पार्टीको आफ्नै मौलिकता, आदर्श र सिद्धान्त छ तर अहिले यसलाई बिर्सेर सामाजिक सञ्जाल र लोकरिझ्याइँले पार्टीलाई डोर्याउन खोजेको जस्तो देखिन्छ। यसले पार्टी कहाँ पुग्छ बेलैमा सोचौँ।

उनले गठबन्धन सरकारको नेतृत्व कांग्रेसको प्रतिस्पर्धी राजनीतिक दलले गरिरहेको हुँदा भावी दिनमा के गर्लान् भनेर अड्कल काट्न नचाहने उल्लेख गर्दै सरकारमा गएका मन्त्रीहरूले विश्वास जित्ने गरी काम नगरे ठुलो गिरावट आउन सक्ने बताए।

विश्वप्रकाशको प्रस्तावले हङ्गामा

कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाशले राखेको प्रस्तावले विवाद नै सिर्जना गरिदियो। प्रधानमन्त्री दुई कार्यकाल भन्दा बढी बन्न नपाउने गरी अघि बढौँ भन्ने प्रस्ताव राखेका विश्वप्रकाशविरुद्ध देउवा पत्नी आरजु राणा देउवा र डा.प्रकाशशरण महतले कडा शब्दमा विरोध गरिदिए।

चुनावी गठबन्धन गर्न नहुने भन्दै कस्सिएका विश्वप्रकाश केही समय पहिलेसम्म आवश्यकताको आधारमा निर्णय लिनुपर्नेमा जोड दिन्थे भने पछिल्लो समय चुनावी गठबन्धन गर्नै नहुनेमा केन्द्रिकृत बन्न पुगेका छन्।

उनीहरूले संविधानले नै कति पटक प्रधानमन्त्री बन्ने भनेर व्यवस्था नगरेको खण्डमा पार्टीमा यस्तो प्रस्तावको अर्थ नहुने मात्रै भनेनन्, महतले त देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्नका लागि षडयन्त्र गर्न खोजिएको आरोप नै लगाए।

आरजु उनले भने,प्रधानमन्त्री कति पटक बन्न पाउने भन्ने विषयमा कुनै प्रावधान पार्टीको विधानमा नै राख्नुपर्छ भन्ने मलाई लाग्दैन,यो त अनुभव,काम तथा उसको प्रभाकारिताका आधारमा हुने हो।