सरकारले युवा पलायन रोक्न रोजगारमूलक कार्यक्रम ल्याउनुपर्छ: शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले युवा पलायन रोक्न सरकारले आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउन जरूरी रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले आज आयोजना गरेको ‘अन्तरपुस्ता संवाद’ कार्यक्रममा उनले पढे लेखेका र बाध्यताले रोजगारीका लागि खाडी मुलुक जाने युवालाई रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिनुपर्नेमा जोड दिए।

‘युवालाई नेपालमै कसरी आकर्षित बनाउने भन्नेबारे सरकारले आवश्यक कार्ययोजना बनाउन जरूरी छ,नेता कोइरालाले भने,नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्नुपर्छ। युवा पलायन रोक्न राज्यले उनीहरूलाई कसरी ‘इन्गेज’ गराउने हो त्यसतर्फ ध्यान दिइनुपर्छ। स्वदेशमै अवसरको खोजी गर्ने जिम्मेवारी अभिभावको पनि हो।

प्रतिनिधिसभा सदस्य डा कोइरालाले व्यावहारिक र वैज्ञानिक शिक्षा पद्धतिको अवलम्बन गर्दै स्वरोजगार र उद्यमशीलताको विकासका लागि युवालाई प्रोत्साहित गरिनुपर्ने खाँचो औँल्याए। देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी युवाको काँधमा रहेकाले युवाले पनि उद्यमशील मानसिकतासहित स्वदेशमै केही गर्ने सोच निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

नेता डा। कोइरालाले ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारसँग जोडिएर आएका प्रश्नलाई सरकार र राजनीतिक दलले गम्भीरताका साथ लिनुपर्ने बताए। वर्तमान सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र युवालाई रोजगारी सिर्जनाका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेतृ रामकुमारी झाक्रीले युवापलायन रोक्न युवा उद्यमशीलता विकास, स्वरोजगारीमा प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। नेकपा (एमाले) का नेता डा.दीपकप्रकाश भट्टले समग्र राष्ट्रिय विकास नीति निर्माणका लागि युवापुस्ताले राज्यलाई घचघच्याउन जरूरी रहेको धारणा राखे।

जनता समाजवादी पार्टी (जसपा)नेपालका केन्द्रीय सदस्य विदेश्वर यादव (विक्की) ले युवापुस्ताको समस्यालाई सम्बोधन गर्न सरकार र राजनीतिक दलहरूलाई गम्भीर बन्न आग्रह गरे।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थिले युवाको मागलाई सरकार र राजनीतिक दलसमक्ष पु¥याउन पुलको रुपमा काम गर्ने उद्देश्यले संस्थाले विभिन्न युवा अभियान सञ्चालन गर्दै आएको जानकारी दिए।