भारतका विदेश सचिवले ल्याए नेपालका राजनितिक दलमा तरंग,ओली,देउवादेखि प्रचण्डसम्म सशंकित
काठमाडौं। भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउँदा नेपाली राजनिति तरंगित भएको छ। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सशंकित भएका छन् भने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल हौसिएका छन्।
नेपालको दुई दिने औपचारिक भ्रमण सक्काएर भारतीय विदेश सचिव विक्रम मिश्री स्वदेश फर्किएका छन्। विदेश सचिवमा नियुक्त भएपछि छिमेकी राष्टहरूको भ्रमणमा निस्कने परम्परा अनुसार उनी नेपाल भ्रमणमा आएका थिए। र विशेष एजेन्डा बिनै शिष्टाचार भ्रमणमा आएका उनीसँग भेट गर्नु स्वाभाविक भए पनि मुलुकको कुटनीतिक प्रोटोकल नै जोगाउन असफल नेताहरुको लम्पसारवाद चरित्र फेरि एक पटक उदाङगो भएको छ।
भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नाडी छामेर स्वदेश फर्किएका छन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा आइतवार विहान काठमाडौं ओर्लिएका मिश्रीले दुई दिने नेपाल बसाईंमा नेपालस्थित भारतीय राजदुतवासमा वृक्षारोपण, पशुपतिनाथ मन्दिरको दर्शनदेखि नेपाल भाषा परिषदको नवनिर्मित भवन उद्घाटनसम्मका कार्यक्रममा सहभागिता जनाए।
यसक्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्तामा छलाङ नै मारे। कुटनीतिक प्रोटोकलको धज्जी उडाउँदै समकक्षीसँगको भेटलाई अन्तिममा राखेर उनले सिधैँ शीतलनिवासबाट शिष्टाचार भेटघाट थाले। कुटनीतिक प्रोटोकल अनुसार समकक्षीबाट भेट गर्नुपर्ने हुन्छ।
राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेट लगत्तै सिंहदरबार पुगेर प्रधानमन्त्री केपी ओलीसँग भेट गरे। त्यसपछि मिश्रीको रोजाइमा विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परे। आइतबार साँझ नै उनी प्रचण्डको निजी निवास खुमलटार पुगे।
प्रचण्डसँगको शिष्टाचार भेटपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरे। शिष्टाचार भेटमा मिश्रीले भारतीय नेतृत्वको सन्देश सुनाएका छन्।
विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमणमा निस्कने परम्परा अनुसार नेपाल भ्रमणमा आएको भनिएका मिश्रीको भ्रमण,दुईपक्षीय उच्चस्तरी भेटघाटमा नेपाल–भारत सम्बन्ध र दुई पक्षीय हितका सवालमा चर्चा भए।
भेटका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत मिश्रीमार्फत पठाएका छन्। शीर्ष नेताहरुको निवास चहार्न भ्याएका विदेश सचिव मिश्रीले सोमबार नेपाल सरकारका मन्त्रीहरुको कोठा कोठामै पुगेर भेटेका थिए।
विहानैदेखि भेटघाटमा भ्याईनभ्याई विदेश सचिव मिश्रीले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरे। गृहमन्त्री रमेश लेखक,परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि उनले भेटवार्ता गरे।
विशेष एजेन्डा बिनै शिष्टाचार भ्रमणमा आएका मिश्रीसँगको भेटमा परराष्ट्रमन्त्री राणाले भने एयर कनेक्टिभिटी बढाउन नेपाललाई थप हवाई रुट उपलब्ध गराउन आग्रह गरिन्।
कुटनीतिक प्रोटोकल अनुसार समकक्षीबाट शिष्टाचार भेट गर्ने परम्परा रहे पनि मिश्रीले सिधैँ शीतल निवासबाट भेटवार्ता थालनी गर्दा उनको भेटघाटको सूचीको अन्तिममा परराष्ट्र सचिव सेवा लम्साल परिन्।
अन्तिममा परराष्ट्र सचिवसँग भेट गर्दै आफ्नो दुई दिने नेपाल बसाईं बिट मारेर बिदा भएका थिए। विदेश सचिवस्तरीय भेटमा भने दुई देशबीचमा विगतमा भएका सहमतिहरु तथा सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको थियो।
नेपाल भारत सम्बन्ध सबै पक्षहरुको बीचमा समीक्षा गर्ने र आगामी कसरी अगाडि बढाउने भन्ने विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्बन्ध सुधारका नाममा नेपालका राजनीतिक नेतृत्वले मिश्रीलाई गरेको स्वागत र भेट भने कुटनीतिक रुपमा शोभनीय नभएको टिप्पणी भइरहेको छ।
विदेश सम्बन्ध सञ्चालन र कुटनीतिक मर्यादाको ख्याल नगरी कुटनीतिक प्रोटोकल नै मिचेर मन्त्रीको कोठाकोठमै, शीर्ष नेतृत्वको कार्यकक्षमै पुगेका एक कर्मचारीका लागि बिछ्याइएको रेड कार्पेट र नेताहरुको नतमस्तक प्रवृत्ति उदाङगो भएको छ।
यस घटनाक्रमले नेताहरुको लम्पसारवादले हद नाघेको छ। यसलाई शीर्ष नेतृत्वले नै प्रश्रय दिएको जानकारहरुको तर्क छ।
विदेश सचिव मिश्रीका यी भेट समाचार बनेका र सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरबाट पुष्टि भएका भेट मात्र हुन्। विगतमा भारत, चीन वा अन्य मुलुकबाट उच्चस्तरीय प्रतिनिधिमण्डल आउँदा होटलको कोठाकोठा धाउने परम्पराले यो पटक निरन्तरता पाएन होला त?
भेटवार्ता र छलफलका क्रममा फोटो खिचाउनै हम्मेहम्मे परेका विदेश सचिव मिश्रीले पर्दा पछाडि कतिलाई भेट दिए ? यत्ति धेरै भेटको अर्थ के ? प्रश्न उठ्नु स्वभाविक छ।
नेपालमा फेरिएको सत्ता समीकरण र एमाले कांग्रेस गठबन्धनको सरकार बनेपछि भएको विदेश सचिवको भ्रमणलाई अनेक तवरबाट अथ्र्याउन थालिएको छ। विदेश सचिवमा नियुक्त भएपछि भुटान पुगेका उनी त्यसपछि नेपाल आएका हुन्।
मिश्रीको नेपाल यात्रा पूर्वनिर्धारित नै भए पनि बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाले तनावमा रहेको भारतबाट भएको उच्चस्तरी भ्रमण महत्वपूर्ण छ। हिन्दुत्वको विषयदेखि बीआरआई के गर्ने भन्ने बहस नेपालमा तीव्र छ। संविधान संशोधन गर्ने तयारीमा दलहरु छन्।
दुई पक्षीय सम्बन्ध सुधारको दृष्टिले विदेश सचिव मिश्रीको नेपाल भ्रमण आफैमा महत्वपूर्ण मान्न सकिन्छ। तर मिश्रीको नेपाल यात्रा र यत्तिका भेटघाटले विगतमा टकरापूर्ण रहँदै आएको प्रधानमन्त्री ओली र भारतबीचको सम्बन्ध सुधार होला?
भारतबाट अतिक्रमित भूमि चुच्चे नक्सामा समेटेका प्रधानमन्त्री ओलीले ती भूभाग फिर्ता ल्याउँदै सीमा समस्या सुल्झाउन सक्लान् रु यी प्रश्नहरुको जवाफ अहिले नै आउन नसके पनि दुई देशबीच देखिएका समस्या सुल्झाउन अपरिहार्य बनिसकेको छ।
सिधैँ शीतलनिवास छिरेका मिश्रीले नयाँ र वैकपिल्क शक्तिहरुलाई भने भेट गर्न जरुरी ठानेनन्। व्यस्तताका कारण उनले भेट दिएनन् कि आवश्यक ठानेनन् यो विषयले उनैले जानुन्। नेपालका नेताहरुको नाडी छामेर स्वदेश फर्किएका मिश्रीले कस्तो कुटनीति तय गर्छन् ? त्यो भने निकट भविष्यमा भारतले नेपालप्रति गर्ने व्यवहारले उजागर गर्ने नै छ।