सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन्। असार २० गते कांग्रेस र एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन्। कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री भएका शाह नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सहभागी छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।
सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा शाहको विश्वासको मत पुग्छ। नाउपाले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ। नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सबैले उनलाई विश्वासको मत दिए ३६ पुग्छ। उनी दुई तिहाइतर्फ उन्मुख देखिन्छन्।
आज मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा दलहरूले दलको बैठक बोलाएका छन्। एमाले, कांग्रेस र नाउपाले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेका छन् भने माओवादी र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने सम्भावना रहेको छ। राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र डा। तारा जोशीले पनि पक्षमा मतदान गर्ने सम्भावना कम रहेको छ।