प्रधानमन्त्री जनताको काम छिटो गर भन्ने,जनप्रतिनिधि र कर्मचारी पूर्वराष्ट्रपतिको स्वागतमा सेवा ठप्प पारेर सडकमा उभिने

 नेकपा एमालेका नेता केपी शर्मा ओली चौंथो पटक प्रधानमन्त्री बनेका छन् । यसपटक प्रधानमन्त्री बनेपछि उनले मुख्यसचिवदेखि लिएर सचिवसम्म बोलाएर बैठक राखे। बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चलेको बैठक बल्लतल्ल बेलुका ५ सकियो।

सो क्रममा उनले जनतालाई छिटोछरितो सेवा दिनु, राम्रो बोलीबचन गर्नु, जनताको हामी सेवक हौं भनेका थिए। जो प्रधानमन्त्री भएपनि आएर भन्ने यही नै हो। कर्मचारीहरु एउटा कानले सुन्छन्, अर्कोले उडाइदिन्छन्। नत्र त सरकारी कार्यालयमा सुधार देखिहालिन्थ्यो नि ! सरकारी कर्मचारी होस् या जनप्रतिनिधि, जनताले तिरेको करबाट तलबभत्ता खान्छन्।

यद्यपि, जनताको काम गर्दैनन्। नेता आए भने काम गर्याझैं देखाउँछन्, अरु बेला त ‘कामचोर’ नै हुन् । हिजो भक्तपुरको सूर्यविनायक नगरपालिकामा दिँउसै रमिता देख्न पाइयो। नगरपालिकाको ढोकादेखि सडकसम्म जनप्रतिनिधि र कर्मचारी फुलको गुच्छा लिएर उभिएका थिए।

यता, सबै वडाका वडाध्यक्ष र कर्मचारीलाई पनि बोलाइएको थियो । त्यहाँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आउने रहेछिन् । त्यसैले बिहानैदेखि नाटक चलिरहेको थियो। कामधाम छोडेर सबै सम्मान गर्नमा लागिपरेका थिए । उनीहरुको कारणले हिजो सूर्यविनायक नगरपालिकाभित्रका बसोबासीले दुःख पाए ।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी सम्मानमा लागिरहँदा वडाध्यक्ष र वडाका कर्मचारी त्यहाँ जानुपर्ने कुनै आवश्यकता थिएन् । उनीहरु त्यहाँ गए, वडाको काम प्रभावित भयो । सेवा लिन आएकोहरु यत्तिकै घर फर्किनुपर्यो । सेवाग्राहीलाई निकै सास्ती भयो । १० वटै वडाबाट स्थानीय राष्ट्रिय परिचयपत्र बनाउन आएका थिए ।

कर्मचारीहरु आज हुँदैन्, भोलि आउनुस् भन्दै सेवाग्राहीलाई फर्काइरहेका थिए । सेवाग्राही टाढाटाढाबाट सेवा लिन आएका थिए । कतिपय वृद्धावृद्ध पनि आएका थिए । तर, त्यसले न जनप्रतिनिधिलाई फरक पर्यो, न कर्मचारीलाई । हुन त उनीहरुलाई कामै गर्न नपरोस्जस्तै हुन्छ ।

काम गर्नुपर्यो भने ज्वरो आउँछ । काम नगर्ने बहाना खोजिरहेका कर्मचारीहरुलाई पूर्वराष्ट्रपति आउनु पनि फाइदाको कुरा भयो । जनताले त सँधै दुःख पाइ नै रहेका हुन् । एउटा उच्च पदस्थ आउनेबित्तिकै विद्यालयसमेत बन्द गरिने देशमा अरु के कुरा गर्नु ? जनतालाई सेवा दिन रोकेर उनीहरुले तिरेको करबाट फुलको माला र गुच्छा किन्नु, व्यानर टाँग्नु लाजमर्दो विषय हो ।

विडम्बना, देशका जनप्रतिनिधिहरुमा लाजशरम भन्ने चीज छैन् । जनप्रतिनिधि र कर्मचारीले हिजो काम गरेनन्, तर तलब त लिए । विद्यादेवी भूपू राष्ट्रपति हो । एउटा भूपू राष्ट्रपतिको स्वागतमा सयौं जनतालाई दुःख दिनुको कारण के ? यता, राष्ट्रपति भइसकेको व्यक्तिले आफ्नो कामले जनताले दुःख पाउलान् ? भनेर बुझ्नुपर्दैन् ।

डोलेश्वर दर्शन गर्न आएपछि त्यहीबाट आफ्नो गन्तव्यतर्फ लागेको भए हुन्थ्यो । सरकारी कार्यालयमा गएर रमिता देखाइरहनुपर्ने आवश्यकता थिएन् । उनी एक जनाको कारणले आज सयौं जना दोहोर्याएर सेवा लिनु आउनुपर्यो । नेता, जनप्रतिनिधि र कर्मचारीहरुले यो कुरा बुझिदिनुपर्छ ।

विद्यादेवीले जनताले तिरेको करबाट खाएकी छिन्, लाएकी छिन्, गाडी चढेकी छिन् । अनि त्यही जनतालाई दुःख दिन सुहाउँछ ? नेपालीमा एउटा उखान छ,‘जसको नुन खायो, उसैलाई दुःख दियो’ । यो विद्यादेवीदेखि लिएर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीसम्ममा लागु हुन्छ ।

जनताको भोटबाट पदमा पुग्ने, जनताले तिरेको करबाट तलबभत्ता खाने, गाडी चढ्ने अनि जनतालाई नै दुःख दिने । नेता, जनप्रतिनिधि र कर्मचारी यस्तो हुनुपर्छ, जो आफूले दुःख पाएर अरुलाई सुःख दिन्छन् । केही महिनाअगाडि पूर्वराजा ज्ञानेन्द्र दम्पत्ती राहदानी नवीकरण गर्न त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका थिए ।

उनीहरु सर्वसाधारणसँगै लाइनमा बसे । उनले आफ्नो पालो कुरेर राहदानी नवीकरण गरे । पदबाट निस्किएपछि ऊपनि सामान्य नागरिकझैं छ । तर, यहाँ त मभन्दा ठूलो कोही छैन् झैं व्यवहार देखाइरहेका हुन्छन् । जसले उनीहरुलाई त्यो मकाममा पुर्याउँछ, उसलाई गन्दै गन्दैनन् ।

विद्यादेवी राष्ट्रपति हुँदा दुवै सदनबाट सांसदहरुले नागरिकता विधेयक पारित गरेर प्रमाणिकरणका लागि पठाए । लाखौं नेपाली नागरिकले नागरिकता पाएका थिएनन् । न उनीहरुले पढ्न पाएका थिए न बैंक खाता खोल्न । विदेश जान्छु भन्नेहरु अलपत्र परेका थिए । सिमकार्डसम्म निकाल्न पाएका थिएनन् ।

तर, बहुमतले पारित गरेको विधेयक विद्यादेवीले प्रमाणिकरण गरिनन्, टोकरीमा हालिदिइन् । एक पटक होइन्, दुई पटक त्यसो गरिन्, उनले । सांसद जनताको मतबाट चुनिएर आएका हुन्छन् । उनीहरु जनताको प्रतिनिधित्व गर्ने व्यक्ति हुन् । सदनबाट पारित भएर प्रमाणिकरणका लागि पुगेको विधेयक टोकरीमा फाल्नु भनेको जनताको मतको अपमान गर्नु हो ।

विद्यादेवी राजाझैं हिँड्थिन् । उनी कतै निस्किइन् भने राजाको झल्को आइहाल्थ्यो । उनी संसद आउँदा होस् या अन्य कुनै स्थान जाँदा, सबै गाडी ठप्प पारिन्थ्यो । सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्न बाध्य हुन्थे । राष्ट्रपतिबाट पदमुक्त भएपछि विद्यादेवीले राज्यबाट पाउनुपर्ने कुनै सेवासुविधा लिन्न भनेकी थिइन् ।

हुन त यहाँका नेताहरुको कथनी र करनी बिल्कुलै उल्टो छ । उनले पनि त्यसै गरिन् । चर्चा कमाउनका लागि भनिन्, अहिले लिइरहेकी छिन् । समय घर्किएपछि फर्किएर आउँदैन् । एक सेकेण्डको पनि निकै महत्व हुन्छ । सरकारी काम छिटोछरितो हुने हो भने जनता त खुशी भइ नै हाल्छन् । साथै, भटाभट राजश्व पनि उठ्छ।

सरकारी कार्यालयको ढिलासुस्तीका कारण धेरै कर तिर्नै जाँदैनन् । प्रधानमन्त्रीले मुखले भट्टयाएर मात्र भएन्, काम कसरी भइरहेको छ ? यतातिर नजर घुमाउनुपर्यो। अहिले मुलुकमा आर्थिक मन्दी छ । सर्वसाधारणले कर तिर्न छोडेका छन् । यस्तोमा स्थानीय तहले कर तिर्न आएकालाई धपाइरहेका छन् ।

अनि देश विकास कसरी हुन्छ ? यस्ता जनप्रतिनिधि र कर्मचारीकै कारण मुलुक ध्वस्त हुने बाटोमा गएको छ । कर्मचारी त कोही उच्च पदस्थ आइदियोस् भनेर कुरेर बस्छन् । एकातिर काम गर्न नपर्ने, अर्कोतिर जनताले तिरेको करबाट खाजा पनि खान पाइने । फुलमाला, ब्यानरको नाममा कमिशन खान पाइयो ।

सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको पृष्ठभूमि हेर्ने हो भने उनी जग्गा दलाली हुन् । वडाध्यक्षमा पनि जग्गा दलाल धेरै छन् । नगरपालिका अस्तव्यस्त छ । न सरसफाइ छ न फुटपाथ र तार व्यवस्थापन । नगरपालिकाभित्रका अधिकांश सरकारी जग्गा हिनामिना भइसकेको छ ।

जनप्रतिनिधिकै मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा गएको बताइन्छ । वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार जोशीले सुशील भैरवथानको जग्गा मिचेर घर बनाएका छन् । बाटो हिँड्नेले नै मन्दिरको जग्गा मिचिएको प्रष्टै देखिन्छ । वडाध्यक्षले मन्दिरको जग्गा मिचेको देखेर अन्यले पनि सरकारी जग्गा कब्जा गरेका छन्।

तर, उनीहरुलाई कसले हटाउने ? आफू स्वयमंले मिचेको भएर वडाध्यक्ष केही भन्दैनन्। नगरपालिका र वडामा सबै आफ्नो कार्यकर्ता भर्ती गरिएको छ। नगरप्रहरीदेखि पियनसम्ममा आफ्नो कार्यकर्ता राखेका छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई जनता प्रश्न गर्छन्,‘कर्मचारी जनताको काम गर्न बसेको कि भूपू राष्ट्रपतिको स्वागत् गर्न ?

कर्मचारीका कारण जनताले दुःख पाएका छन्, तिनलाई कारबाही गरिनुपर्छ । नत्र सरकारी कार्यालयमा कहिले सुधार आउँदैन्। जनताले दुःख पाइरहन्छन्। जनताको समय पनि समय नै हो । राष्ट्रपतिभन्दा ठूलो जनता हो । यो कुरा जनप्रतिनिधि र कर्मचारीलाई बुझाउन आवश्यक भएको छ।