स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता गर्छौं : मन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने बताएका छन्। बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले सरकारले यस विषयलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहेको बताए । उनले हवाई टिकट मूल्यमा एकरुपता ल्याउन सकारात्मक निर्णय हुने पनि विश्वास दिलाए । उनले पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको गुनासो गरे।

उनले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताए। उनले सात वटै प्रदेश लक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम इको हिल टुरिजम लगायतका कार्यक्रमहरू यस वर्षको बजेटमा समावेश गरिएको जिकिर गरे।

मन्त्री पाण्डे भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायतका प्रचारप्रसार गर्ने कार्यक्रमहरू कार्यान्वयन गरिएको बताए। उनले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको र होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा विकास गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको बताए।

उनले भने,पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको वस्तुतथ्य हाम्रा अगाडि छ। पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

सात वटै प्रदेश लक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम इको हिल टुरिजम लगायतका कार्यक्रमहरू यस वर्षको बजेटमा समावेश गरिएको छ। भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायतका प्रचारप्रसार गर्ने कार्यक्रमहरू कार्यान्वयन गरिएको छ।

नेपाल पर्यटन बोर्डबाट सय वटा पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन विभागबाट सो गन्तव्यहरूमा पूर्वाधार निर्माणको कार्य भइरहेको छ। नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको छ।मन्त्री पाण्डेले पर्यटन क्षेत्रको दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्त्व र प्राथमिकता दिएको बताए।