ओलीबाट धोका पाएकालाई एक बनाउने कसरतमा प्रचण्ड,जनार्दन र बर्षमानको एकताले प्रचण्डको कसरत सफल होला त ?

काठमाडौं। नेकपा एमालेकबा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट धोका पाएकाहरु एकढिक्का हुँदै गएका छन्। त्यस्तै पार्टीमै अल्पमतको अवस्था देखेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बहुमत जुटाउने रणनीतिमा ओलीसँग धोका पाएकाहरूलाइ एक बनाउन लागि परेका छन्।

त्यसका लागि एकीकृत समाजवादी र जसपा लगायतका दलहरुसँग एकताको अनौपचारिक प्रक्रिया नै सुरु भइसकेको छ। पार्टीभित्रैबाट पेलानमा परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु तीन पार्टीहरुसँग एकता प्रक्रियाको कसरत सुरु गरिसकेका छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ र महेन्द्रराय यादव पक्षलाई पार्टीमा ल्याउने तयारी गरिरहेकै समय प्रचण्डले माधव नेपाललाई पनि पार्टी एकताको प्रस्ताव राखेको खुलेको छ। तर माधवले भने पार्टी एकता यही अवस्थामा गर्न नसकिने संकेत गरेको भएपनि प्रचण्डले ओलीलाइ ८४ मा देखाइदिन एक भएरै जानुपर्नेमा जोड दिएको खुलेको छ।

अनौपचारिक ढंगबाट कुराकानी भएको सम्बन्धित नेताहरुले नै स्वीकारे पनि ठोस आकार भने तयार भइसकेको छैन। आफ्ना नेता कार्यकर्ताहरु एमाले प्रवेश गरिरहेका समयमा प्रचण्डले जोड धेरै नै गरेपछि माधवले पनि पार्टी एकताका लागि केही सर्तहरू तयार गरेर मात्र पार्टी एकता नर्नुपर्ने सन्देश दिएको बुझिएको छ।

त्यसपछि प्रचण्ड अहिले झलनाथ खनालसँग पनि छलफलमा जुटेको बुझिएको छ। किन कि प्रचण्ड पनि अहिले पार्टीभित्रको दबाब साम्य पार्दै राष्ट्रिय राजनीतिमा सम्मानजनक हैसियत कायम राख्न चाहन्छन्।

अहिले पार्टी एकता गर्ने र भविश्यमा प्रधानमन्त्री बनाउने जिम्मा आफूले लिने आश्वासन प्रचण्डले माधवलाई दिएका छन्। तर एकीकृत समाजवादीका नेताहरु भने त्यति उत्साही भइसकेका छैनन्।

जनतामा जाने र सत्ताको चिन्ता नगर्ने बताएका प्रचण्डले कांग्रेस–एमाले समीकरण लामो समय नजाने र त्यसै रणनीति अनुसार अघि बढ्नुपर्ने प्रस्ताव पनि माधवलाई गरेका छन्।

२०६६ सालमा सांसद नै नभएका बेला पनि आफूले माधवलाई प्रधानमन्त्री बनाएको स्मरण गराएका प्रचण्डले सेन्टिमेन्टको राजनीति खेल्न खोज्दा एकीकृत समाजवादीको नजरमा पनि यो सरकारको आयु दशैंसम्म मात्र हुने भएको छ। जवाफमा माधवले पनि हतारमा पार्टी एकता नगर्न तर समाजवादी मार्चामार्फत यसको आधार तयार पार्नुपर्ने जवाफ दिएका छन्।

यता पार्टी छोड्नु गलत भएको भन्दै आत्मालोचना गर्दा पनि एमालेमा ठाउँ नपाएका वामदेव गौतमसमेत एकीकृत समाजवादीमा फर्किने तर्खरमा छन्। यसको अर्थ ओलीबाट धोका खाएकाहरुको मन मिल्न सक्ने सम्भावनालाई बलियो बनाउदै गएको भने नकार्न सकिँदैन।

यसबाहेक पार्टीको नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्न जनार्दन शर्मा र वर्षमान पुन एकैधारमा उभिएपछि विप्लवलाई पार्टीमा भित्र्याएर आफूलाई बलियो देखाउने बाटोमा प्रचण्ड छन्। यता प्रचण्डको उत्तराधिकारी बन्न विप्लव पनि प्रचण्डकै बाटो हिंड्ने निष्कर्षमा पुगिसकेका छन्।

पार्टी जोगाउनै हम्मेहम्मे परेका बेला उपेन्द्र यादवले पनि समाजवादी मोर्चामार्फत नै प्रचण्डसँग मिल्ने सम्भावना जीवितै राखेका छन्। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबाट चोइटिएका महेन्द्रराय पक्षसँग त एकता प्रक्रिया नै अघि बढिसकेको छ। तर, यी सबैले चाहँदैमात्रै पनि एकता प्रक्रिया त्यति सहज देखिँदैन।

एकता प्रक्रियामा देखिने बाधा २०३८ सालदेखि माओवादीको नेतृत्वमा रहेका प्रचण्डलाई नेता मान्न नसक्ने अवस्थामा पुगिरहेका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले माधव र विप्लवलाई सहजै स्वीकार्न सक्ने अवस्था भने छैन।

यसले जोड्ने नाममा अर्को फुट माओवादीले व्यहोर्नु पर्ने अवस्था हुनसक्छ। एकीकृत समाजवादीमा सबैभन्दा पहिले त प्रचण्डको अस्थिर चरित्रसँग माधव निकटकै नेताहरु विश्वस्त हुन सकिरहेका छैनन्।

अर्कोतर्फ एकता प्रक्रियामै गए पनि माओवादी बन्नुभन्दा सुल्टो बाटो एमालेमै फर्किनु हुने बुझाइमा धेरै नेताहरु छन्। यही असन्तुष्टिका बीच माओवादीसँगको एकता प्रक्रियाले रामकुमारी झाँक्री,कृष्ण श्रेष्ठ र प्रेम आले लगायत नेताहरुको एमाले फर्किने बाटो खुल्न सक्छ। पार्टीभित्रको द्वन्द्व माधव, प्रचण्ड र उपेन्द्रका मिल्दाजुल्दा भए पनि एक हुनका लागि धेरै समस्या देखिन्छन्।

यी दलहरु मिल्नुमा आन्तरिकसँगै बाह्य शक्तिको पनि ठूलो हात छ। अहिले प्रचण्डको फेभरमा रहेको भारत प्रचण्ड बलियो भएको देख्न चाहन्छ। चीनको कित्तामा रहेका उपेन्द्रलाई समेत भारतका विदेश सचिव विक्रम मिश्रीले भेट गर्नु र एकताको चर्चा चल्नुलाई चासोको साथ हेरिएको छ।

तर, एकीकृत भइसकेपछि पार्टीको सन्तुलन र नेता कार्यकर्ताहरुको व्यवस्थापन सकसपूर्ण बन्ने भएकाले पार्टी एकताको प्रक्रियाले मूर्तरुप लिनेमा शंका कायमै छ। यस्तो अवस्थामा तत्काल पार्टी एकता भइहाल्ने सम्भावना भने एकदमै न्यून रहेको देखिन्छ। प्रचण्डले चाहाने बित्तिकै पार्टी एकता भइहाल्ने अवस्था भने पार्टी भित्रकै दुइ उपमहासचिवको एकताले सजिलो भने देखिदैन।