सहकारी सञ्चालकहरुको अनेक नाटक,बचतकर्ताको रकम फिर्ता नगर्ने कोटिहोममा पुगेर लाखौं रुपैयाँ चढाउने
रुषा थापा
गत साउन १ गतेदेखि पशुपत्तिमा ‘बृहत कोटिहोम महायज्ञ’ शुरु भयो। कोटिहोममा पुगेर अधिकांश सहकारी संस्थाका सञ्चालकहरुले संस्थाको तर्फबाट लाखौं रुपैयाँ दानस्वरुप दिए। जान्या पनि कति है। बचतकर्ताको निक्षेप चाँहि फिर्ता नगर्ने अनि यस्तो कार्यक्रममा गएर यति रकम सहयोग गप्यौं भन्दै चर्चामा आउने। कतिसम्म नाटक,नौटंकी गरेको होला।
देशभरका सहकारी समस्याग्रस्त अवस्थामा पुगेका छन्। अधिकांश सहकारीका सञ्चालक,अध्यक्ष भागिसकेका छन्। सञ्चालनमा रहेका सहकारीले समेत बचतकर्ताको रकम फिर्ता गरेको छैन। सहकारीकै कारण बचतकर्ताहरुको बिचल्ली भएको छ। सहकारीले निक्षेप फिर्ता नदिँदा उपचार नपाएर समेत कतिपय बचतकर्ताले ज्यानै गुमाउनुपरेको छ।
आफुले रकम जम्मा गरेको सहकारी एकाएक बन्द भएपछि वा त्यो ठाउँमा सहकारी नै नभएपछि अहिले बचतकर्ताहरु सञ्चालक, अध्यक्ष र कर्मचारीको घर खोज्दै हिँडेका छन्। ३५ हजारबढी सहकारी संस्थाले करोडौं बचतकर्ताको खर्बौ रकम झवाम बनाइदिएको छ। उनीहरुलाई घर न घाटको स्थितिमा पुर्याइदिएको छ। अहिले कतिपय सहकारी सस्थाहरु देशै छोडेर भागिसके।
त्यस्तै, कतिपय जेल जीवन बिताइरहेका छन्। कतिपय सहकारी सञ्चालकहरु अहिले पनि कार्यालयमै भेटिन्छन्। तर, बचतकर्ताको निक्षेप फिर्ता माग्दा उनीहरु भन्छन्, ‘हामी क्यास दिन सक्दैनौं। घरजग्गा, गाडी वा सेयर लिनुस्। अनि एक लाख रुपैयाँ आना नपर्ने दुर्गम जिल्लाको जग्गालाई उनीहरु ५०–६० लाख तोक्छन्। ८०–९० लाख पर्ने घरजग्गालाई तीन करोड भन्छन्।
दुईदेखि पाँच लाखको सवारीसाधनलाई ४० लाख तोक्छन्। एक कित्ता सेयरकै पाँच हजार भन्छन्। सञ्चालकहरु बचतकर्तालाई भन्छन्,तपाईँहरु पैसा थपेर यो मूल्यमा घरजग्गा, गाडी वा सेयर लिनुस्। नभए हामी पैसा दिन सक्दैनौं। अनि यो सरासर ठगीधन्दा होइन र ? सरकार अहिले पनि सर्वसाधारणलाई सहकारीमा पैसा नराख्नुस् भनेर सूचित गराउँदैन।
यता, सहकारी बन्द भइसक्यो, सञ्चालक भागिसके तर त्यहाँका कर्मचारीहरुले अहिले पनि सीधासाधा बचतकर्तालाई उल्लु बनाएर पैसा उठाएर खाइरहेका छन् । सहकारी मात्र होइन, अहिले लघुवित्त र फाइनान्स पनि डुबेसके। बैंकमा समेत संकट देखिएको छ। बैंकमा कर्जा प्रवाह शून्य नै बनेको छ । बैंक, वित्तिय संस्थाले जनताको विश्वास गुमाइसकेका छन्।
बैंककै कर्मचारीले बचतकर्ताको खाताबाट रकम चोरी गरेको घटना दिनानु बाहिरिइरहेका हुन्छन्। यस्तो अवस्थामा सर्वसाधारणले बैंकमाथि कसरी विश्वास गर्ने ? कसरी बैंकमा आफ्नो पैसा सुरक्षित छ भनी ढुक्क भएर बस्ने ?
पछिल्लो समय मुलुककै अर्थतन्त्र शिथिल अवस्थामा पुगेको छ। बजारमा व्यापारव्यवसाय ठप्प छ। घरजग्गा र गाडीको कारोबार बढ्न सकेको छ। सेयरमा भने दलालीहरुले पुनः चलखेल शुरु गरी सर्वसाधारण फसाउन तथा डुबाउन लागिपरेका छन्। यस्तै, बैंक, वित्तिय संस्थाप्रति सर्वसाधारणकोविश्वास घट्दो छ।
अहिले जोकोही बैंक, वित्तिय संस्था ठग, चोर हुन् भनेर भनिरहेका हुन्छन्। बैंकमा पैसा पनि नराखौं र कर्जा पनि नलियौं भनेर व्यापक आवाज उठेको छ। सरकारले बालुवाटारस्थित ललिता निवास र बाँँसबारीस्थित छाला जुत्ता कारखानाको सयौं रोपनी सार्वजनिक सरकार सरकारकै नाममा ल्याएको छ। योसँगै यी जग्गामा लगानी गर्ने बैंकहरु नराम्ररी डुबेका छन्।
काठमाडौं महानगरपालिकाले लाजिम्पाटको उत्तर ढोकादेखि जय नेपाल हल, कमलादी, बागबजार, खसीबजार हुँदै थापाथलीमा निस्किने खोला तथा ढ्ुकुचामाथि बनेका वा छेउछाउमा रहेका घर तथा भवनहरुको लत्ताकट्टा गर्न सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको छ। केही दिनअघि मात्र महानगरले नदी किनार वा खोलाको दायाँबायाँ ४० मिटर छोडेर मात्र भवन निर्माण गर्न सूचना निकाल्यो।
सर्वोच्च अदालत र मन्त्रिपरिषद्को बैठकले समेत नदी किनार दायाँबायाँ ४० मिटर छोडेर मात्र भवन निर्माण गर्नुपर्ने फैसला तथा निर्णय गरिसकेको छ। २०४३ सालअघि सिंहदरबार पछाडिको अनामनगर, बिजुलीबजार, घट्टेकुलो र कालीस्थानको स्थान सरकारको थियो। यो जग्गामा घोडा पाल्ने योजना थियो। तर, ०४६ सालमा भएको राजनीतिक परिवर्तनसँगै कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए।
प्रधानमन्त्री भएसँगै उनले सिंहदरबार पछाडि बाटो खोलिदिए । बाटो खोल्नासाथ घोडा पाल्ने सरकारी योजना पनि समाप्त भयो । अनि व्यकितहरुले आफ्नो जग्गासहित सरकारी जग्गा समेत कर्मचारीको मिलेमतोमा आफ्नो नाममा दर्ता गरी घर बनाए । त्यसैले, यो जग्गा पनि सरकारले अतिक्रमण गर्नुपर्ने माग उठिरहेको छ । अर्कोतर्फ, अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राजधानीमै गए।
पछिल्लो समय विमानस्थलमै भएको विमान दुर्घटनाले अहिले त्यहाँ वरपर बस्ने सर्वसाधारण त्रसित भएका छन्। यसैले, सरकारले कि त विमानस्थल अन्य ठाउँमा सार्नुपर्ने होइन भने वरपरको बस्ती हटाउनुपर्ने माग पनि उठिरहेको छ।
विमानस्थल उड्ने नरेफाँट, जडीबुटी, लोकन्थली, पेप्सीकोला, काडाँघारी, मूलपानी, बौद्ध, जोरपाटी, नयाँबस्ती, गौरघाट, सिनामंगल, एयरपोर्ट, तीनकुने, गैरीगाउँ, कोटेश्वर शान्तिनगर, बालकुमारी, टिकाथलीको कि त बस्ती हटाउनुपर्छ नभए विमानस्थल सार्नुपर्छ। अब भोलि सरकारले यी ठाउँका घरजग्गा अतिक्रमण गरेमा बैंकमा सिधैं असर पर्नेछ।
किनकि, घरजग्गा बनाउन लगानी गर्ने त बैंक नै हो। बैंकले छिटो नाफा कमाउन र ठग्न मात्र सिक्यो। राज्यको नीतिनियमबारे बैंक, वित्तिय संस्थाले केही मतलब गरेनन्। यसले गर्दा पनि बैंकिङ्ग क्षेत्रमा समस्याा निम्तिएको हो। सर्वसाधारणले आफ्नो पैसा सुरक्षित हुन्छ र थोरै भएपनि ब्याज आउँछ भनेर आफुसँग भएको पैसा बैंक, वित्तिय संस्थामा राखे।
तर, जहाँ सुरक्षा हुने आशा गरिएको थियो, त्यहँीभन्दा धोका पाइयो। सहकारी बचत फिर्ता नगरी भाग्यो अनि बैंकमा राखेको पैसा कर्मचारीहरुले खाताबाटै गायब पारिदिए । अहिले बैंकका ऋणीहरुले समेत साँबाब्याज तिर्दैनन्। ऋणीले ऋण नतिरेपछि बैंकले धितो लिलामी प्रक्रिया अघि बढाउँछ । तर, अहिले बैंकले ऋणीसँग तीन करोड उठाउनु छ भने धितो बेच्दा आउँछ एक करोड।
लिलाम गरेको धितो पनि बिक्री हुन्न । यही चिन्ताले अहिले बैंक,वित्तिय संस्थाका सञ्चालक, अध्यक्षहरुलाई रातभर निन्दा लाग्दैन । यता, बैंक डुबेको थाहा पाएर राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समेत रातभर निदाउँदैनन्। मेडिकल व्यवसायी दुर्गा प्रसाइका कारण हामी डुब्यो भन्दै बैंकका सञ्चालक, अध्यक्षहरु दिनहुँ गर्भनर, अर्थमन्त्री र प्रधानमन्त्री कहाँ पुग्ने गरेका छन्।
उनीहरु प्रसाईलाई कारबाही गर्न माग गर्छन् । यता, सहकारी पीडित बचतकर्ताहरुले विगत तीन महिनादेखि रत्नपार्कमा अनसनरत छन् । केही महिनाअघि लघुवित्त तथा मीटरब्याज पीडितहरु संघीय संसदभित्रै छिरे । भित्र छिर्नासाथ उनीहरुको माग पूरा भयो । तर, सहकारी पीडितहरु न प्रधानमन्त्री कार्यालय घेरा सकछन् न त संसद भवनभित्र नै छिर्न सक्छन्।
उनीहरु रत्नपार्कको चिसो भुइँमा बसेर दिनरात काटिरहेका छन्। अनि कसले पूरा गर्छ उनीहरुको माग ? यहाँ सरकार अन्धो छ। सरकारमा बस्नेहरु पीडित मरेपनि देख्दैनन्। यसैले, आन्दोलनको बाढीपहिरो ल्याए मात्र उनीहरुलाई सरकारले देख्ने छ।
यहाँ त चर्चामा आउन मात्र अनसनमा बसेको देखिन्छ। यदि आँट छ भने प्रधानमन्त्री कार्यालय घेर्नुपर्यो। यसो गरेमा पीडितहरुलाई सरकारले देख्ने छ। नभए चिसो भुँईमै पीडितको ज्यान जान्छ अनि सरकार टुलुटुलु हेर्छ।