सेयरको नाममा सरकारद्धारा सर्वसाधारण डुबाइँदै,सांसदहरु रमिता हेर्दै

सर्वसाधारणले जुवातास खेल्यो भने सरकारले लगेर थुन्छ। जरिवाना पनि तिराउँछ। लिएको सापटी रकम तिर्न सकेन् भने ठगी मुद्दा चलाइन्छ । सापटी लिनेलाई कैद र जरिवाना गरिन्छ। तर, सरकारले नै सेयरका नाममा राजश्व लिएर खुलेआम रुपमा जुवा खेलाइरहेको छ।

वैदेशिक रोजगारीको नाममा जनता भेडाबाख्रा बेचेझैं रेमिट्यान्सका लागि विदेश बेचिरहेको छ। अन्य देशको सामान यहाँ बेच्नका लागि सरकारले नै जग्गा दलाल गरिरहेको छ । जग्गा खण्डीकरण गरेर लाखौंमा बेच्न दिइन्छ, अनि विदेशबाट सामान आयात गर्छ। यो दलाली गर्या होइन् र ?

सर्वसाधारणले छिरक्क केही गर्यो भने सरकारले कारबाही गर्छ । खुलेआम जुवा खेलाउने, दलाल गर्ने सरकारलाई चाँहि कसले कारबाही गर्ने ? जनता सुध्रिन त पहिले सरकार सुध्रिनुपर्यो नि । दुई जिब्रे कुरा गरेर हुन्छ ? पछिल्लो समय प्रायःजसो उद्योग घाटामा गएको छ।

बैंक तथा वित्तिय संस्था, डण्डी, सिमेण्ट उद्योग, हाइड्रोपावर, इन्स्योरेन्स कम्पनीलगायत जम्मै घाटामा छन् । यस्तोमा कसरी सेयरको मूल्य बढ्यो ? यो गम्भीर कुरा हो। एक सय रुपैयाँ कित्ताको सेयर ३२ सय पुगेपछि केक काटेर खाने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे ।

दलालहरुले आफैंले मूल्य बढाए । तीन हजार पुर्याइयो । तर, हिजो सेयरको मूल्य घट्यो । प्रधानमन्त्री भनेको गरिमामय पद हो । देशको प्रधानमन्त्री भएर दलालले बोल्ने शब्द बोल्न सुहाउँछ ? अस्ति सेयरको मूल्य बढ्यो, हिजो घट्यो । सर्वसाधारण त डुबे । तर, सरकारलाई के मतलब ?

सरकार नै जनता डुबाउन लागिपरेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री युवराज खतिवडाले सेयर जुवा हो भनेर सार्वजनिक रुपमै बोलिसकेका छन्। राज्यले कर लिएर जुवा खेलाउने थलो सेयर भएको उनीहरुले बताएका थिए । साथै, उनीहरुले सेयर कारोबार बन्द गर्न माग गरेका थिए।

सेयरको विषय सत्य बोलेका यी दुईको खोइरो खनियो । सेयर दलालीहरुले व्यापक विरोध गरे । सेयरमा लगानी नगर्नु भनेर पूर्वअर्थमन्त्रीद्धय डा प्रकाशशरण महत, वर्षमान पुन, सांसद अमरेशकुमार सिंहलगायतले सचेत गराइसकेका छन् । कृत्रिम रुपमा सेयरको मूल्य बढाइएको उनीहरुको जिकिर छ।

कम्पनी नाफामा नगईकन सेयरको मूल्य ह्वात्ह्वाती बढ्नुले ‘दालमा केही कालो’ भएको संकेत गर्छ । तर, अन्य सांसदले यसलाई अनदेखा गरिदिएका छन्। हाम्रो सरकार आउनेबित्तिकै सेयरको मूल्य बढ्यो भनेर एमालेका सांसदहरु गौरव गरिरहेका छन् । जति सक्छौं सर्वसाधारणलाई लुट भनेर सांसदहरुले सेयर दलालीहरुलाई छुट दिएका हुन् ।

बरु, धितोपत्र बोर्डले सर्वसाधारणलाई सतर्क गराएको छ । सरकार त करको लोभमा छ । यो करले कत्रो नोक्सानी व्यहोर्नुपर्ने हो ? सरकारले कल्पनासमेत गरेको छैन् । बजारमा व्यापक गाइँगुइँ छ, सेयरको दलाल गर्ने अधिकांश एमालेका कार्यकर्ता हुन् । मुलुकमा जति पनि बैंक छन्, तीमध्ये प्रायः एमालेप्रति नै आस्था राख्छन्।

सहकारी, अस्पताल, एनजिओ, म्यानपावर, कन्सल्टेन्सी खोल्ने प्रायः एमालेबाटै छन् । जग्गा प्लानिङ्ग गर्नेमा धेरै एमाले नै छन् । विदेशमा मान्छे बेच्नेदेखि राज्यको सम्पत्ति दोहन गर्नेमा एमालेको हात छ । नेतृत्वदेखि तलसम्म उस्तै छन् । पार्टीका अध्यक्ष ओली गिरीबन्धुको जग्गामा आँखा लगाउने, उपाध्यक्ष विष्णु पौडेल वालुवाटारको जग्गामा ।

कार्यकर्ता जहाँजहाँ सरकारी जग्गा छ, त्यहाँत्यहाँ अँखा लगाउने । ५० देखि ५५ जनाले सेयरमा हाबी छन् । आफैं मूल्य बढाउँछन्, आफैं घटाउँछन् । बीचमा बसेर उनीहरुले ६५ लाख सर्वसाधारणलाई डुबाएका छन् । एक सयको सेयर ३२ सयमा पुर्याउँछन्, बेच्छन् । फेरि मूल्य घटाउँछन्, किन्छन् ।

सेयर बजार दलालीको हातमा छ । उनीहरुले जसरी मनलाग्यो, त्यसरी चलाइरहेका छन् । तीन वर्षअगाडि सर्वसाधारणले लाखौं हालेर जग्गा किने । दलालीको बोलीमा पर्दा पुपुरोमा हात लगाउनुपरेको छ । अहिले जग्गाको कारोबार छैन्् । बैंकको किस्ता हाल्न सर्वसाधारणलाई महामुस्किल छ ।

आधा मूल्यमा जग्गा बेच्छुभन्दा पनि किन्ने छैनन् । त्यसैले बैंकलाई नै घरजग्गा छोडिरहेका छन् । सेयरमा लगानी गर्नेको हालत पनि त्यस्तै हुने देखिएको छ । बजारमा आएको क्षणिकको उछालले धेरैलाई सुकुम्बासी बनाउने निश्चित छ । सरकारलाई चासो नै छैन् । सेयरको मूल्य बढायौं भनेर देशको प्रधानमन्त्री र अर्थमन्त्री मख्ख परेका छन् ।

सांसदहरु मुखमा चुकुल लगाएर बसेका छन् । २०३२–३३ सालमा सुनको मूल्य तोलाको १८ सय थियो । अहिले डेढ लाख कटिसकेको छ । सरकारले सुनमा लगानी नगर है भनेर सचेत गराइदिनुपर्ने हो । तर, सरकारले लुट भनेर छोडिदिएको छ । माफियाले चलाएको सरकारमा सर्वसाधारण लुटिनु स्वाभाविकै हो ।

एमाले र काँगे्रसले गठबन्धन गरेपनि माओवादी त छ । ३२ जना सांसद छन् । तर, उनीहरु सदनमा निदाएर बस्छन् । जनताको आवाज कहिल्यै उठाउँदैनन् । कुनचाँहि ठेकेदारले कमिशन दिन्छन् भनेर कुरेर बस्छन् । बरु, चित्रबहादुर केसी ठिक छन् । एउटै व्यक्तिले कहिलेँकाही सदन हल्लाइदिन्छन् ।

सरकारको खोइरो खन्छन् । जनताको विषयमा आवाज उठाउन नसक्ने सांसदहरुले लोगो लगाउनुको कुनै औचित्य छैन् । बेकारमा राज्यको ढुकुटीलाई आर्थिक भार थपिएको छ । केही उपलब्धि छैन्, तलबभत्ता र सरकारी गाडीको नाममा करोडौं रुपैयाँ खर्च भइरहेको छ । दलालीले लुट्ने र सर्वसाधारण लुटिने क्रम जारी छ ।

अहिले जनताको शिर निहुँरिएको छ । झापाको गिरीबन्धु टिस्टेटको जग्गा हिनामिनाको आरोप लागेको व्यक्ति देशको प्रधानमन्त्री छन् । वालुवाटारको जग्गा हिनामिना गर्ने अर्थमन्त्री छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोप लागेको व्यक्ति परराष्ट्रमन्त्री बनेकी छिन् ।

योभन्दा लाजमर्दो कुरा के होला ? काण्डैकाण्डमा मुछिएको व्यक्ति सरकारमा छन् । अनि त्यस्तो सरकारबाट जनताले के अपेक्षा गर्ने ? यता, गलतलाई गलत भनिदिने हिम्मत हाम्रा सांसदसँग छैन् । दलालहरु सदनमा आउँछन्, सांसदहरु उभिन्छन् । सम्मान गर्छन् । सांसदहरुलाई के सही के गलत भन्ने त थाहा छैन् ।

सांसदहरुसंग केही क्षमता छैन्। नैतिकता छ भने उनीहरुले सांसद पदबाटै राजीनामा दिए हुन्छन्। जनताले हाम्रो आवाज उठाऊ भनेर पठाएका हुन्, तै नै गर्न सक्दैनन् भने उनीहरुलाई राख्नुको के औचित्य ? २०६४ सालमा काभ्रे १ बाट सूर्यमान दोङ निर्वाचित भए। उनले त्यतिबेला अर्थमन्त्री रामशरण महतको हातबाटै बजेटको सुटकेश खोसे।

उनी अहिले पनि सांसदमा छन्। तर, अहिले उनी गुपचुप छन्। के उनको बल घटेको हो ? सदनमा दलालहरुको कब्जामा छ यद्यपि उनी चुइक्क बोल्दैनन्। सांसदले देश र जनताका लागि के गरे ? के बोले ? यो कुरा जनताले सदैव सम्झिरहन्छन्। भूपूसांसद गोल्छे सार्कीले तत्कालीन सभामुख रामचन्द्र पौडेललाई जुत्ता हिर्काए।

त्यसले गर्दा उनी आज पनि चर्चामा आइरहन्छन्। तर, अहिलेका सांसदको त कामै छैन्। न बोल्न सक्छन् न गर्न। सदनमा सुत्नका लागि जनताले भोट दिएझैं भएको छ। सदन जनताको आवाज उठाउने थलो हो। गरिमामय सदनमा दलालहरुलाई छिर्न दिनुहुँदैन्। देश र जनतालाई बर्बाद बनाउने दलालीलाई सदनमा जान दिनु जनताको मुखमा थप्पड हान्नु हो।