रामपुर पशु विकास फार्मको विकास एवम् स्तरोन्नति अघि बढ्दै
प्रेम प्रसाद कडेल
चितवन। कृषि तथा वन विश्वविद्यालयको पशुपालन भेटेरिनरी तथा मत्स्य विज्ञान संकाय अन्तर्गतको पशु विकास फार्म रामपुरको वर्तमान अध्ययन तथा अनुसन्धानको अवस्था सुधारोन्मुख एवम् प्रगतिको बाटोमा अघि बढेको छ।
पशु विकास फार्ममा कार्यरत फिल्ड म्यान राजु सिलवालले मुर्रा जातको भैंसी तथा लुलु,हरियाणा,साइवाल,होलीस्टेन फ्रिसन जातको गाईहरू रहेको बताए। १६ वटा मुर्रा जातको भैंसी तथा पाडापाडी रहेको फार्ममा दैनिक ७० देखि ८० लिटर दुध उत्पादन रहेको बताए।
बंगुरको जातमा कालो बंगुर धराने, हुर्रा र च्वाचे जातको केही बंगुरहरु र घोडाहरू २ वटा रहेको साथै १०/१२ वटा बाख्रा, ७०/८० वटा भेडाहरु रहेको उनले बताए। कुखुराको लेयर्स र अन्य विभिन्न प्रजातिका समेत १५० थान कुखुरा रहेका र दैनिक ३ क्रेट अण्डा उत्पादन रहेको बताए।
पशुपालन भेटेरिनरी तथा मत्स्य विज्ञान संकायका डिन प्राध्यापक डा होम बहादुर बस्नेतले स्नातक तहको भेटेरिनरीमा ५० जना र मत्स्य विज्ञानमा २१ जना तथा स्नाकोत्तर तहमा ४०-५० जना भेटेरिनरी, १०-१५ जना एनिमल साइन्स र करिब १० जना विद्यार्थीले अध्ययन गरेका बताए।
त्यस्तै पि. एचडी. तहमा भेटेरिनरीमा ५ जना, एनिमल साइन्समा ४ जना र मत्स्य विज्ञानमा ३ जना शोधार्थीले अनुसन्धानात्मक अध्ययन गरिरहेको जानकारी गराए।उनका अनुसार मुर्रा जातको भैंसीले एक छाकमा ६/७ लिटरदेखि १०/१२ लिटरसम्म दुध उत्पादन दिने गर्दछ।
जुन नेपालका तराई र मधेसको क्षेत्रका ठाउँमा पालन गर्ने गरिन्छ।लुलु जातको गाइले एक छाकमा १ देखि ३ लिटरसम्म दुध उत्पादन दिने, श्रीगाईले छाकमा १.६७ लिटर दुध उत्पादन दिने गर्दछ।
जुन नेपालका मध्य पहाडी भेकमा पाइने गाईको प्रजाति हो। हरियाणा एवम् साइवाल जातको गाइले छाकमा ५/६ लिटर र होलिस्टेन फ्रिसन ( एच. एफ.) जातको गाइले दैनिक ५० लिटरसम्म दुध उत्पादन दिने गर्दछ।हाल कालिज र लोकल कुखुरा पालनको लागि फार्म निर्माणको काम भईरहेको र यसको ८० प्रतिशत काम सकिएको डिन प्राध्यापक डा होम बहादुर बस्नेतले जानकारी दिए।
मूलतः रामपुर पशु विकास फार्ममा उत्पादन लक्षित भन्दा पनि अध्ययन अनुसन्धानको पढाई हुनुको साथै देशको पशुपालन भेटेरिनरी तथा मत्स्य विज्ञान क्षेत्रमा आवश्यक जनशक्ति निर्माण गरिएको उनले बताए।
यो राज्यको मातृ अर्थतन्त्र निर्माणमा बलियो आधार स्तम्भ हुने विज्ञहरुको भनाई पनि रहेको छ। समग्रमा नेपाली समाजको एक मात्र कृषि तथा वन विश्वविद्यालयको पशु विकाश फार्ममा उत्पादन भइरहेको दक्ष जनशक्तिहरु देशभित्र र देशबाहिर समेत योगदानको तहमा पुगेको धरातलीय यथार्थ हो।
यसर्थ रामपुर पशु विकास फार्मको वर्तमानमा भविष्य उज्ज्वल रहेको डिन बस्नेतको निष्कर्षलाई यथार्थवादी मान्न सकिने अवस्था रहेको छ। प्राध्यापक डा.बस्नेतले हालसम्मकै उच्च स्तरको करिब २६ करोडको लागतमा सन् २०२४ मा आधुनिक भेटेरिनरी अस्पतालका साथै आधुनिक डिजीटल क्लास रुम सञ्चालनमा आउने निर्णय भएको जानकारी दिए।