नेपाल टेलिकमको ओरालो यात्रा एकै बर्ष डेढ अर्ब घाटा
काठमाडौं । नेपाल टेलिकमको नाफा ह्वात्तै घटेको छ। संगीता पहाडी निमित्त प्रबन्ध निर्देशक भएपछि टेलिकम धराशायी बन्दै गइरहँदा नाफा १६.४४ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण अनुसार टेलिकमले ६ अर्ब ६१ करोड खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको झण्डै ८ अर्बको तुलनामा डेढ अर्बले कम हो। टेलिकमको शेयर पनि घटेको छ।
टेलिकमको ठेक्कापट्टामा पनि पहाडीले अझै चलखेल गर्दै आएकी छिन्। उनले सेटिङमा ठेक्कापट्टा विवादास्पद कम्पनीहरुलाई दिदै आएकी छिन्। प्राविधिक छनोटमा योजनावद्ध तरिकाले एउटा कम्पनी मात्र पार्ने र ठेक्का दिलाउने गतिविधि चलिरहेको छ। उनले यो सबै विगतको कमिशनको खेलको निरन्तरता हो।
संगीताको पालामा विगतमा थाती रहेको ठेक्काहरु धमाधम कमिशनको खेलमा बाँडिएको छ। यो क्रम निरन्तर चलिरहेको छ। ठेक्कापट्टामा उनका श्रीमान् विश्वबन्धु पहाडीको संलग्नता छ।
विभिन्न ठेक्काको कमिशन उठाउने जिम्मा विश्वबन्धुकै हो स्रोतले बताएको छ। सेनाकोक फास्ट ट्रयाकबाट अकूत कमाएका विश्वबन्धु अहिले नेपाल टेलिकमको छायाँ प्रबन्ध निर्देशक छन्।
संगीताको कार्यकालमा बिलिङलगायतका ठेक्कामा सबैभन्दा ठूलो कमिशनको खेल भएको छ। त्यसका लागि उनले बालुवाटारसँग सेटिङ मिलाउँदै आएकी छिन्। प्रचण्ड प्रधानमन्त्री हुँदा जुन रणनीति बनाएकी थिइन् अहिले ओली प्रधानमन्त्री हुँदा पनि त्यही रणनीति अपनाएकी छिन्।
उनले बालुवाटारकी भित्रियासँग साँठगाँठ बनाउन मान्छे नै खटाएकी छिन्। तर,उनलाई अख्तियारले छानविनको दायरामा ल्याएपछि बालुवाटारको शक्ति पनि संगीताप्रति नकारात्मक भएको बुझिएको छ। संगिता पहाडी संलग्न भएको विभिन्न ठेक्का र बिलिङमा अख्तियारले छानविन गरी बयान लिएपछि बालुवाटारले पनि चासो लिएको हो।
यसैगरी एमालेको बिल्ला लागेका डिल्लीराम अधिकारी ११ औं तहमा बढुवा सिफारिश भए। डिल्लीरामसँगै मिलेर संगिताले ठेक्का पार्दै आएकी छिन्। डिल्लीराम पनि अख्तियारको छानविनमा छन्। श्रीमतीको नाममा घूस लिएको प्रमाण फेला परेपछि उनी समस्यामा परेका छन्।
गोकुल बाँस्कोटाले डिल्लीरामलाई महाप्रबन्धक बनाएर उनीमार्फत् टेलिकममा ठूलै चलखेल गरेका थिए। डिल्लीरामले पनि खुबै लाभ लिए र उनले पत्नी इन्दु ढकालको नाममा जापानको ओसन टेक्नोलोजी लिमिटेडले घुसबापत हरेक महिना २ हजार ९२४ डलर लिदै आए।
घुसको उक्त रकमको भौचर समेत फेला परेपछि अख्तियारले छानविन बढाएको हो। अधिकारी र ढकालसँग अख्तियारले पटक पटक बयान लिइसकेको छ।
टेलिकममा विगतमा दिलाइएका ठेक्का र कमिशनको खेलबारे डिल्लीराम खुबै जानकार छन् । उनै डिल्लीरामसँग संगिताको साँठगाँठ देखिएको छ। विगतमा संगिताले विकल पौडेलले एमडी बनाएका सुनिल पौडेलसँग पनि त्यस्तै साँठगाँठ बनाएर काम गरेकी थिइन् । उनी विकलको पालामा भएका अनियमितताको खेलमा पनि संलग्न भएको खुलेको छ। यसबारे पनि छानविन चलिरहेको छ।