सडक विस्तार गर्न मेयरले आफ्नै घरमा डोजर चलाए

काठमाडौं। लमही नगरपालिकाका मेयर जोगराज चौधरीले लमही–कोइलाबास सडक विस्तार गर्न आफ्नै घर भत्काएका छन्। बुधबार दिउँसो लमही बजारमा रहेको आफ्नो पुरानो घरमा डोजर चलाएर मेयर चौधरीले हुलाकी सडक विस्तार सुरु गरेका हुन्।

सडक फराकिलो बनाउने क्रममा सडक क्षेत्रमा परेपछि आफ्नै घर भत्काएर सडक विस्तार सुरु गरेको उनले बताए। भारत सरकारको ७६ करोड अनुदान सहयोगमा ३३.४६ किलोमिटर लामो लमही–कोइलाबास हुलाकी सडक विस्तार गरी कालोपत्र गरिएको थियो। त्यसक्रममा ३६ करोड बढी बजेट मुआब्जामा खर्च भएको छ।

हुलाकी सडक औपचारिक रुपमा नेपाल सरकारलाई २०७७ साल चैत १८ गते हस्तान्तरण भएको थियो। तर लमही बजार क्षेत्रमा भने सडक साँघुरो छ। त्यहीभएर लमही बजार क्षेत्रमा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो।